पार्टी एकता नगर्नेलाई धुलो चटाऔं : राजेन्द्र महतो

|

सप्तरी (मलेठ) :  सरकारले वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै मधेसकेन्द्रित साना दलहरु पार्टी एकताको पक्षमा उभिएका छन्।

आइतबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीद्वारा मलेठ गोलीकाण्ड भएको २१ औं दिन आइतबार आयोजित श्रद्धाञ्जली सभाको शुरुमै सांसद संख्याको आधारमा संसदमा ठूलो रहेको मधेसकेन्द्रित दलमध्ये संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको विषयमा प्रवेश नै नगरी आफ्नो मन्तव्य टुङ्ग्याएर ‘जरुरी कामले बाहिर जानु पर्नेछ’ भन्दै बाहिरिए। अन्तिम वक्ताको रुपमा रहेका पाको र अनुभवी मधेसी नेता तराई मधेस लोकतान्त्रिका पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि पार्टी एकताको विषयमा चर्चा नै गरेनन्।

आधा लडाइँ जितिन्छ : राजकिशोर

श्रद्धाञ्जली सभामा पाँचौं वक्ताको रुपमा रहेका मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष समेत रहेका पूर्व मन्त्री राजकिशोर यादवले सहिदका छोराछारीले ‘हाम्रो आफन्तको बलिदान कहिलेसम्म ? भन्दै प्रश्न गर्न थालेको भन्दै मधेसकेन्द्रित दलहरुको पार्टी एकताको प्रसङ्ग कोट्याए। ‘मोर्चाबाट मात्र हुँदैन, मधेसी जनता एउटै पार्टी, चुनाव चिन्ह र एउटै नेताको नेतृत्व चाहन्छन्’ उनले भने ‘त्यसका लागि अहिलेको समय उपयुक्त छ, एउटै शक्ति बनाएर अगाडि बढ्दा आधा लडाइँ त त्यसै जितिन्छ।’ उनले मधेसकेन्द्रित दलहरुको एकताले केन्द्रीय सत्ता समीकरण हल्लिने मात्र होइन, सिंहदरवारमा मधेसीहरुले झण्डा समेत गाड्न सक्ने भएकाले पार्टी एकता अहिलेको आवश्यकता रहेको औंल्याए।  

प्रहारको राजनीति गर्न एकता : शरदसिंह

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले अहिलेसम्म मधेसकेन्द्रित दलहरु फुटेको हुँदा रक्षात्मक, प्रतिक्रियात्मक आन्दोलनको रुपमा मात्र सीमित रहेकाले राज्य सत्तालाई एकीकृत रुपमा प्रहार गर्न पार्टी एकता नगरी नहुने बताए।

‘पार्टी एकताका लागि म निःशर्त आउन तयारु छु’ भण्डारीले थपे ‘हामी जुटेको भए पहिचान विरोधी, मधेसीलाई नेपाली नै नठान्ने केपी ओलीहरु पूर्व पश्चिम सडकको भित्र छिर्ने आँट नै गर्ने थिएनन्।’ अहिलेसम्मको कमी कमजोरीको समीक्षासहित आत्मालोना गरेर पार्टी एकतामार्फत् नक्कली राष्ट्रवादीहरुलाई सिध्याउने अहिलेको जस्तो उपयुक्त समय फेरि नआउने चर्चा गर्दै उनले पार्टी एकताका लागि आफूले जस्तोसुकै मूल्य चुकाउन समेत तयार बताए। 

एकता नगर्नेलाई धुलो चटाऔं : राजेन्द्र 

लामो समय मधेसी राजनीति गरेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस केन्द्रित दलमध्ये एकताको प्रक्रियामा नआउनेलाई धुलो चटाउनुपर्ने बताए। ‘गजेन्द्रनारायण सिंहले पार्टी बनाएकै थिए, किन धेरै पार्टी जन्मिए मधेसमा ?’ अध्यक्ष महतोले भने ‘मधेसी दलहरु फुटेको ढोल जस्ता भए जुन बज्दैन, ढोल बज्नका लागि एक ठाउँमा आउनु पर्छ।’

जुन पार्टी आएपनि ‘ठीक’ भन्ने मधेसी जनता पनि थोरबहुत दोषी रहेको औंल्याउँदै महतोले अब आफूहरुलाई नेपाली नठान्ने पार्टी र नेतारुलाई घर, गाउँ, क्षेत्र जिल्लाबाट राजनीतिक बहिष्कार गर्न थालियो भने मधेसमा स्वतः आफूहरु बलियो हुने जिकिर गर्दै भने ‘त्यसो गर्न मधेसी पार्टीहरु जुट्नुपर्छ।’

जनताले भने संसद छोड्छौं : महेन्द्र राय

तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पहिचान, सम्मान र मधेशको मुक्तिका लागि अलग अलग रहेका मधेशी पार्टीहरु जुट्नै पर्ने आवश्यकता औंल्याए। ‘मधेसका पार्टीहरु एउटै झण्डा मुनि आएकै दिन मधेसको मुक्ति हुन्छ’ यादवले भने ‘त्यसका लागि जनताले भन्छन् भने संसद् समेत छोड्न तयार छौं।’ त्यसका लागि सरकारमा मन्त्री खान, पार्टी अध्यक्ष बन्न विगतमा मधेस केन्द्रित दलहरुले विगतमा गरेको कमजोरीको पनि समीक्षा गरिनु पर्ने खाँचो रहेको यादवले उल्लेख गरे।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.