मकवानपुर : कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्ने वातावरण सहज बनाउन सञ्चालन गरिएको अटो-एम्बुलेन्सका चालक यतिबेला सामाजिक तिरस्कारको सिकार बनिरहेका छन्।
कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल ओहोरदोहोर गर्न सञ्चालन भएको अटो-एम्बुलेन्स चालकहरू समाजबाट अपहेलित बन्नुपरेको हो।
कोरोना संक्रमित अस्पतालसम्म पुग्न एम्बुलेन्स अभाव हुन थालेपछि मकवानपुरको प्रशासनले हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडामा अटो-एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। बिरामी बोक्न आफ्नो ज्यान जोखिममा राखेर अटो चलाएका चालकहरूमाथि समाजबाट अमानवीय व्यवहार हुने गरेको उनीहरू बताउँछन्।
हेटौंडा उपमहानगरपालिका–१२ का अटो-एम्बुलेन्स चालक प्रकाश अछामीले कोरोनासँग जुधिरहेका संक्रमितलाई अस्पतालसम्म साहारा दिन यो महामारीमा पनि अटो चलाउन शुरू गरेका थिए। कोरोनालाई पराजय गर्न लागिपरेका अरू हातलाई साथ दिन अटोलाई एम्बुलेन्स बनाएर सञ्चालन गरिरहेका अछामी अहिले आफैँ सहाराविहीन भएका छन्।
‘कोरोनाले छट्पटाइरहेका बिरामीलाई अस्पतालसम्म पुर्याउन पाए समाजमा मेरो पनि केही भूमिका हुन्छ होला भनेर यो महामारीमा पनि अटो चलाउन शुरू गरेँ, तर समाजले गाउँमा कोरोना ल्याइस् भन्दै धम्कीपूर्ण गालीगलौज गर्छन्। कुनैपनि सेवा सुविधा नलिइकन आफ्नो ज्यान जोखिममा राखेर काम गर्दा उल्टै सामाजिक तिरस्कार सहन परेको छ,’ उनले भने।
अछामीले छरछिमेकबाट मात्रै नभई परिवारबाटै पनि अछुत व्यवहार हुने गरेको बताए। दुई सातादेखि अटोबाटै एम्बुलेन्स सेवा दिन थालेका अछामी आफ्नै घरमा छुट्टिएर बसेका छन्।
हेटौंडा–१८ का अटो-एम्बुलेन्स चालक बुद्ध थिङलाई देख्नासाथ गाउँका बाटोमा उभिएकाहरू पनि दौडिँदै घरभित्र पस्ने गरेका छन्।
‘यसले त कोरोनाको बिरामी बोकेर आएको हो भन्दै बाटोमा उभिरहेकाहरू पनि मेरो अटो देख्नासाथ भागाभाग गर्छन्। यस्तो लाग्छ कि उनीहरूले मलाई हेर्दा र बोल्दा मात्रै पनि कोरोना सर्छ,’ थिङले भने।
उनले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहँदा पनि समाजका मान्छेमा मानवीयता नपलाएको भन्दै दुःख व्यक्त गरे। थिङलाई छरछिमेकका धेरैले कोरोनाको बिरामी बोकेको भन्दै अब उनको अटो कहिल्यै नचढ्ने समेत बताएका छन्।
‘कोरोनाको बिरामी बोक्ने गरेको अटोमा पनि अब कोही चढ्छ? हामी त कहिल्यै चढ्दैनौ भन्छन्। म पनि के कम भोली तपाईंहरूलाई कोरोना लाग्दा कसको अटोमा चढेर जानुहुन्छ त भनेर सोध्छु, अनि चुप लाग्छन्,’ उनले थपे।
उनको घरमा २२ महिनाको छोरा छ। छोरालाई पनि आफूबाट जोखिम हुने होकि भन्ने डरले उनी घरको छुट्टै कुनामा एक्लै बस्दै आएका छन्। एउटै घरमा बसेर पनि उनले आफ्नै छोरालाई नसमाएको दुई साता भइसक्यो।
ज्यान जोखिममा राखेर समाजको तिरस्कार सहँदै अटो चलाएपनि स्थानीय वडा कार्यालय र प्रशासनबाट कुनै किसिमको सहयोग नभएको थिङको गुनासो छ। प्रशासन र वडाले अटोलाई एम्बुलेन्सको रूपमा सञ्चालन गरेको जस्तो देखेपनि सञ्चालनमा आएको दिनदेखि कुनैपनि निकायबाट सहयोग नपाएको उनले बताए।
हेटौंडा–५ का गोविन्द तिमल्सिनाको पनि प्रकाश र बुद्धको जस्तै पीडा छ। एम्बुलेन्सको अभाव कम गर्दै कोरोना संक्रमितको अस्पतालसम्मको पहुँच सहज गर्न अटो चलाएका उनको परिवारै अहिले सामाजिक बहिष्कारमा परेको छ। तिमल्सिनालाई मात्रै होइन, परिवारका अरू सदस्यलाई देख्दा मात्रै पनि छरछिमेकबाट विभेदपूर्ण व्यवहार हुने गरेको उनले बताए।
‘मसँग त बोल्दैनन्, देख्दा पनि मुन्टो उता फर्काएर हिँड्छन्, सबै तर मेरो परिवारलाई तपाईंको घरमा कोरोना बोकेर आएको मान्छे छ भन्दै अछुत व्यवहार गर्ने गरिएको छ,’ तिमल्सिनाले भने। उनले जिल्ला प्रशासन र वडा कार्यालयले बेवास्ता गर्दा पनि समाजबाट यस्तो व्यवहार हुने गरेको बताए।
जिल्लामा कोरोना संक्रमित र यसबाट ज्यान गुमाउनेको संख्या बढेसँगै अस्पताल धाउनेहरू पनि बढेका छन्। जसले गर्दा कोरोना संक्रमितले अस्पताल ओहोरदोहोर गर्न एम्बुलेन्स नपाएको भन्दै गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले अटोलाई एम्बुलेन्सको रूपमा सञ्चालनमा ल्याएको थियो।
निषेधाज्ञामा अटो चलाउने अनुमति र एकसेट पीपीई मात्रै दिएर आफूहरूलाई अलपत्र छाडेको अटो चालकहरूको गुनासो छ।
वडा अध्यक्षहरूलाई पनि आफैँले फोन गर्दा समेत वास्ता नगरेको उनीहरूले आरोप लगाएका छन्। अटो-एम्बुलेन्स चालकले कोरोनाका बिरामी बोकेर अस्पतालसम्म ल्याएबापत नियमअनुसार भाडा लिँदै आएका छन्।
वडा र प्रशासनको समन्वयमा अटो-एम्बुलेन्सको रूपमा सञ्चालन गर्दा सुरक्षित बासस्थान र स्वास्थ्य सुरक्षाको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।