|
फाइल फोटो

सोलुखुम्बु : माथिल्लो सगरमाथाका तीन जिल्लामा तत्काल खाद्यन्न अभाव नहुने उद्योग वाणिज्य संघले जनाएको छ। सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जिल्लाका उद्योग वाणिज्य संघका अनुसार तीन महिनासम्म पुग्ने खाद्यन्न मौज्दात रहेको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि केही जिल्लाबाहेकमा निषेधाज्ञा जारी गरिएको छ। नागरिकको  जीवनरक्षाको लागि निषेधाज्ञा जारी गरिँदा कोरोनाको संक्रमणबाट बच्न सकिने भए पनि भोकमारीलगायतको समस्या सृजना हुने चिन्ता आम नागरिकमा छ।

उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र मास्केका अनुसार जिल्लामा तत्काल खाद्यन्न अभाव हुने छैन। ‘जिल्लामा निषेज्ञाधा जारी गरिएको भए पनि ढुवानी सहज भएको हुँदा समस्या छैन।‘ अध्यक्ष मास्केले भने, ‘जिल्ला प्रशासन कार्यालयको समन्वयमा ढुवानीका सवारी साधान निर्वाद रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गरेका छौँ, त्यसैले सबैजनालाई ढुक्क भएर बस्न आग्रह गर्छु।‘ ओखलढुंगामा दुई महिनालाई पुग्ने खाद्यन्न मौज्दात रहेको अध्यक्ष मास्केको भनाइ छ।

नेपाल सरकारलाई कोरोना भाइरसको सम्भावित जोखिम कम गर्दै नेपाली नागरिकको जीवनरक्षा गर्नुपर्ने बाध्यता छ। सोही बाध्यताका कारण नागरिकको जनजीवन पनि प्रभावित बन्ने गरेको छ। सबै जिल्लाले जारी गरेको निषेधाज्ञाको नियम एउटै नहुँदा खाद्यान्नलगायतको सामग्री ढुवानीमा केही असहज भएको व्यवसायीको भनाइ छ।

छिमेकी जिल्ला खोटाङमा भने १ महिनाको लागि खाद्यान्न मौज्दात रहेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष उपीन राईको भनाइ छ। कोरोना संक्रमण तिब्र हुने र खाद्यन्न ढुवानी असहज भएमा समस्या हुने उनको भनाइ छ।

यता, वैशाख २६ गते मध्यराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको सोलुखुम्बुमा पनि तत्काल खाद्यन्न संकट नहुने उद्योग वाणिज्य संघले जनाएको छ। उद्योग वाणिज्य संघ सोलुखुम्बुका सहसचिव महेश खालिङका अनुसार सहज रुपमा खाद्यन्न ढुवानी भएको हुँदा समस्या छैन। केही सामाग्रीमा कम्पनीबाट मूल्यवृद्धि भएर आए बाहेकको समस्या तत्कालका लागि नभएको उनको भनाइ छ।

देशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल १० हजार ३ सय ३२ मेट्रिकटन चामल मौज्दात रहेको जनाएको छ। ६ महिनाका लागि खाद्यान्न र ९ महिना पुग्ने नुन मौज्दात रहेकाले नआतिन आग्रह गरिएको छ। तर पनि ढुवानी असहज भएको भन्दै मृल्यवृद्धि गर्नेहरुको कमी नभएको अवस्थामा बजार अनुगमन भने आवश्यक रहेको स्थानीयवासी दोर्जी शेर्पाको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.