एमालेलाई समावेश गरी पूर्वराजपाकै नेतृत्वमा सरकार बनाउने चेतावनी

|

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालमा अहिले एकले अर्को समूहलाई स्पष्टीकरण सोध्ने दोहोरी नै चलेको छ।

महन्थ ठाकुर समूहले उपेन्द्र यादव समूहलाई स्पष्टीकरण सोधेको केही घण्टामा अर्का अध्यक्ष यादव समूहले चार नेतालाई स्पष्टीकरण सोधेको छ।अहिलेजसपाका संघीय सांसदहरु स्पष्ट रुपमा विभाजित भई पार्टीको कार्यकारिणी समितिसमेत विभाजित भएको अवस्था छ।

जसपाभित्रको विवादको असर प्रदेश २ मा पर्न थालेको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत उपेन्द्र यादव समूहका भएकाले केन्द्रको निर्देशनअनुसार पूर्वराजपाका केही मन्त्री हटाउने तयारी भएको बुझिएको छ। 

प्रदेश सरकारबाट आफ्ना पक्षका मन्त्री भएकालाई हटाइए राउत नेतृत्वको सरकार नै ढाल्ने पूर्वराजपा समूहले चेतावनी दिएको छ। 

पूर्वराजपाको तर्फबाट प्रदेश सभामा प्रमुख सचेतक रहेका परमेश्वर साहले थाहाखबरसँग कुरा गर्दै भने, ‘हामी मुख्यमन्त्रीको निर्णय पर्खेर बसेका छौं। अहिलेको मन्त्रिमण्डलमा कुनै किसिमको असर हुने निर्णय भए ,त्यसको परिणाम मुख्यमन्त्रीले बेहोर्नुपर्नेछ।’

यता मुख्यमन्त्री राउतले पनि केन्द्रको विवादले प्रदेश सरकारमा त्यसको प्रभाव नपर्ने बताए। मुख्यमन्त्री राउतले भने, ‘केन्द्रको विवादले प्रदेश सरकारमा अहिले कुनै असर पर्दैन, प्रदेशमा नयाँ गठबन्धन हुने, सरकारबाट हटाउने र थप्ने सम्भावना छैन।’

यद्यपि पूर्वराजपा र समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बने पनि प्रदेश २ को संसदीय दल र प्रदेश २ समितिको समायोजन भएको छैन। प्रदेश सभामा दुवै दलको तर्फबाट प्रमुख सचेतक लगायतले अन्य सेवा सुविधा उठाइरहेका छन्। 

जसपाको विधानअनुसार संसदीय दल समायोजनका लागि बनाइने विधानलाई प्रदेश कमिटीको कार्यकारिणी समितिले अनुमोदन गर्नुपर्ने हुन्छ। विधानमा यो बाध्यकारी प्रावधान राखिएकोले संसदीय दलको विधान अनुमोदनका लागि पहिले पार्टीको प्रदेश कमिटी समायोजन अनिवार्य रुपमा हुनुपर्ने जसपाका युवा नेता शेषनारायण यादवले बताए।

पूर्ण रुपले एकीकरण नहुँदै पुनः विभाजनको स्थितिमा पुगेको जसपाको पछिल्लो एक वर्ष अवधिमा औपचारिक रुपमा दुवै दलको संयुक्त संसदीय दलको बैठक समेत बस्न सकेको छैन।

दुवै दलको नेता अलगअलग छन्। पूर्वसमाजवादी पार्टीको संसदीय दलको नेता लालबाबु राउत मुख्यमन्त्री छन् र पूर्व राजपा संसदीय दलका नेता जितेन्द्र सोनल दोस्रो वरीयतामा भौतिक पूर्वाधार विकास मन्त्री छन्।

स्रोतका अनुसार प्रदेश सत्ता परिवर्तनका लागि जसपा अध्यक्ष उपेन्द्र यादवमाथि यति बेला दबाब बढ्न थालेको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रले मिलेर सरकार बनाउन यादवलाई दबाब दिन थालेका बुझिएको छ। 

यहाँ पूर्वसमाजवादी पार्टीका (सपा) ३०, कांग्रेसका १९ र माओवादीका ८ जना छन्। यो जोडेर सरकार बनाउने संख्या पुग्ने देखिन्छ। साथै पूर्वराजपाका तीन जना निर्वाचित र एक जना समानुपातिक सभासद पनि अहिले उपेन्द्र समूहतिर नै तानिएका छन्।

तर पूर्वराजपाका नेता परमेश्वर साहले आफ्नो पक्षका मन्त्रीहरुलाई सरकारबाट हटाइए पूर्वसपाभित्रै असन्तुष्ट सांसद र एमालेलाई समावेश गरी पूर्वराजपाकै नेतृत्वमा सरकार बनाउने चेतावनी दिएका छन्।

यसरी केन्द्र स्पष्ट रुपमा देखिएको कित्ताको स्थिति र काँग्रेस, माओवादी केन्द्रको दबाबमा मन्त्रिमण्डल फेरबदलको कुरा अध्यक्ष उपेन्द्र यादव पनि करिब करिब सकारात्मक देखिए पनि पूर्वराजपाका नेताहरुको धम्कीले मुख्यमन्त्री राउत झस्केका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.