|

लहान : सिरहाको लहान नगरपालिका ३ स्थित आँपको रुखमा खुट्टा भुईंमै छुने गरी झुण्डिएको अवस्थामा सोमबार बिहान भेटिएको युवकको हत्या भएको आशङ्का गरिएको छ।

खुट्टामा तीन चार ठाउँमा चक्कु प्रहार गरिएको घाउ, रगत बगेको र मृतकको खुट्टाले समेत भुइँ छोएको भेटिएकाले हत्या गरेर झुण्ड्याइको हुन सक्ने आशङ्कामा शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए।

मृतक सप्तरीको सुरुङ्गा नगरपालिका साविक मलहनमा १ का २० वर्षका श्रवणकुमार साहले लहान ३ स्थित लक्ष्मण ललिता कुशवाह माविबाट भर्खरै सकिएको माध्यमिक शिक्षा परीक्षा दिएका थिए। मृतक साह लहान अस्पताल चोकदेखि दक्षिण डेरा लिएर आफ्नो भतिजसहित बस्दै आएका थिए। डेरामा बसिरहेको अवस्थामा कसैले फोन गरेर बोलाएपछि अस्पताल चोकतिर निस्किएका साहको शव भोलिपल्ट सोमबार बिहान झुण्डिएको अवस्थामा भेटिएको थियो।

लहान ३ का दुर्गाप्रसाद महतोको आँपको बगैंचामा बिहान पत्कर टिप्न गएका केटाकेटीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै प्रहरीले घटनास्थल प्रकृति मुचुल्का उठाएर शव लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल ल्याएको थियो।

‘अस्पताल चोकमा स्थानीय युवासँगको झगडा, मोटरसाइकलमा राखेर बसपार्कमा पुर्‍याएको, साँझ मोवाइल अफ भएको र बिहान भुइँमा खुट्टाले छुने गरी शव झुण्डिएको अवस्थामा भेटिएको लगायतका कारणले हत्या भएको आहङ्कामा शव धरान पठाइएको हो’ प्रहरी निरीक्षक राउतले भने।    

यसैबीच, घटनाको अनुसन्धानको क्रममा लहान ३ स्थित नयाँ बसपार्क नजिकै रहेको सगरमाथा स्कूलका प्रिन्सिपल उमेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक राउतका अनुसार प्रिन्सिपल यादव घटनामा प्रत्यक्ष रुपले संलग्न नरहेपनि बसपार्कमा मृतक श्रवणकुमार साहलाई केही युवाहरुले कुटपिट गरिरहेका बेला प्रत्यक्षदर्शी रहेको पुष्टि भएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।

‘मृतक साहमाथि कुटपिट गरिरहेका बेला प्रिन्सिपल यादव प्रहरीलाई समेत खबर नगरी मुकदर्शक बनेर रमिता हेरिरहेकाले अपराधी पहिचानका लागि नियन्त्रणमा लिइएको हो’ प्रहरी निरीक्षक राउतले भने। प्रहरी निरीक्षक राउतले घटनाको तीव्र अनुसन्धान भइरहेकाले घटनामा संलग्न अपराधी चाँडै पक्राउ गरी सार्वजनिक गरिने जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.