|

बैतडी : जिल्ला अस्पताल बैतडीले  कोरोनाको पुनः परीक्षण गर्दा शुल्क लाग्ने जनाएको छ। कोरोना पुष्टि भएको १४ दिनसम्म आइसोलेसनमा बसेकाहरुले पिसिआर परीक्षण गराउन आवश्यक नरहेको जनाउँदै  कसैले स्वेच्छिक रुपमा पुनः परीक्षण गरेमा  एक हजार शुल्क लाग्ने भएको हो। स्वेच्छिक रुपमा पुनः परीक्षण गर्नचाहेमा सरकारी प्रयोगशालाहरुको लागि नेपाल सरकारले तोकेको न्यूनतम  एक हजारको शुल्क तिरेर मात्र परीक्षण गराउनुपर्ने बताइएको छ।

फलोअप केसका कारण नयाँ बिरामीको कोरोना परीक्षणमा समस्या भईरहेको र पिसिआर रिएजेन्ट समेत अनावश्यक खर्च भएकाले कोरोनाको पुनः परीक्षणमा शुल्क लगाइएको  अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए। कोरोना संक्रमण भएको १४ दिन सम्म लक्षण भएकाहरुले थप ३ दिन आइसोलेसनमा बस्नुपर्ने र त्यसपछि कोरोना परीक्षण आवश्यक नरहेको डा. जोशीको भनाइ छ।

उनले भने, ‘१४ दिनपछि लक्षण नभएमा कोरोना पुनः परीक्षण आवश्यक छैन। कोरोना पुष्टि भएको १४ दिनसम्म आइसोलेसनमा बस्ने र कुनै लक्षण नभएमा कोरोना निको भएको मान्नुपर्छ। यदि १४ दिनसम्म पनि लक्षण भएमा थप ३ दिन आइसोलेसनमा बस्नुपर्छ।’

पछिल्लो समय नयाँ बिरामीभन्दा पनि पुनः परिक्षण गर्ने बिरामीको संख्या धेरै हुन थालेकाको र यसले नयाँ बिरामीको पीसीआर गर्न समेत समस्या हुने गरेको अस्पतालले जनाएको छ। 

कोरोनाको लक्षण भएका तथा कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको भने निशुल्क रुपमा कोरोना परीक्षण हुने जिल्ला अस्पतालले जनाएको छ।

लक्षण नदेखिएका संक्रमितले १४ दिनपछि सामान्य व्यक्ति  सरह स्वास्थ्यका मापदण्ड पालना गरि नियमित कामकाजसमेत गर्न सक्ने तर लक्षण देखिएकाको हकमा भने यो लागू नहुने जनाइएको छ।

बैतडीमा हाल कोरोनाका ७ सय सक्रिय संक्रमित  रहेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.