|

स्याङ्जा : स्याङ्जामा शिलान्यास भएको ९ वर्षपछि शीतभण्डार निर्माणकार्य थालिएको छ।

१२ सय मेट्रिक टन क्षमता रहने 'ब्लक ए' र १३ सय मेट्रिक टन क्षमता रहने 'ब्लक बी' गरी २ वटा ब्लकअन्तर्गत 'ब्लक बी' को निर्माणकार्य ७० प्रतिशत सम्पन्न सकिएको छ। 

२०६९ सालमा तत्कालीन कृषिमन्त्री हरिबहादुर पराजुलीले १२ सय मेट्रिक टन क्षमताको 'ब्लक ए' शिलान्यास गरेका थिए। नेपाल प्रगती, श्री गीता जेभीले ९ करोड रुपैयाँमा ठेक्का लिएको शीतभण्डार निर्माणकार्य २०७२ सालको भूकम्पलाई कारण देखाउँदै रोकेको थियो। 

आर्थिक स्रोत अभाव र निर्माण व्यवसायीको ढिलासुस्ती को कारण 'ब्लक ए' नबन्ने भएपछि जिल्लाका सहकारी, जनप्रतिनिधि र सांसदको पहलमा 'ब्लक बी' निर्माण गरिएको जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले बताए। 

स्याङ्जा शीतभण्डार सहकारी संस्था लिमिटेडमार्फत ७ करोड १० लाख रुपैयाँ लागतमा पहिलो चरणमा 'ब्लक बी' को निर्माण गरीने भएको हो। निर्माणकार्य असार मसान्तभित्र सक्नेगरी धमाधम काम भैरहेको छ।

शीतभण्डार बनेपछि स्याङ्जाको सुन्तलाले मात्र होइन, खाने आलु र बीउ आलु लगायतका तरकारी फलफूलले राम्रो बजार पाउने स्याङ्जा शीतभण्डार सहकारी संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए। ‘जिल्लामा उत्पादन भएका कृषि उपज भण्डारण गरेपछि किसानहरूले तरकारी तथा फलफूलबाट बेमौसममा डेढदेखि २ गुणासम्म फाइदा लिन सक्नेछन्।’ 

शीतभण्डार अभावमा सस्तो मूल्यमा बाहिरी जिल्ला तथा भारतसम्म सुन्तला निर्यात गर्नुपरेको बाध्यता स्मरण गर्दै अग्रज सुन्तला व्यवसायी बोधराज अर्यालले भने, ‘कृषकले उत्पादन गरेको सुन्तलाको फाइदा सिधै कृषकले नै पाउँछन्। उपभोक्ताले पनि भारतबाट आएको सुन्तला उपभोग गर्नुपर्दैन।’

स्याङ्जामा प्रत्येक वर्ष  ४०-६० करोड रुपैयाँ मूल्य बराबरको सुन्तला जिल्ला तथा देशबाहिर निर्यात हुनेगरेको छ। यो शीतभण्डार सम्पन्न हुँदा जिल्लामा उत्पादन हुने सुन्तलाले दोब्बर मूल्य पाउनेमा यहाँका सुन्तला व्यवसायी विश्वस्त देखिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.