|

जनकपुरधाम : प्रदेश २ का एक सांसदले स्वास्थ्य चौकीको एम्बुलेन्स विगत एक वर्षदेखि व्यक्तिगत कार्यमा प्रयोग गर्दै आएको पाइएको छ।

जनता समाजवादी पार्टीकी प्रदेश सांसद डा रीना यादवले महोत्तरीको सम्सी गाउँपालिकाअन्तर्गत पोखरभिण्डा स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि व्यक्तिगत काममा प्रयोग गर्दै आएकी हुन्।

भारतीय राजदूताबासबाट एक वर्षअगाडि सहयोगमा प्राप्त एम्बुलेन्स प्रदेश सांसद यादवले स्वास्थ्य चौकीलाई हस्तान्तरण नगरी व्यक्तिगत काममा प्रयोग गरिरहेको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत मोहिबुल अन्सारीले बताए।

स्वास्थ्य चौकीको पत्र लिएर दूतावासबाट स्वास्थ्य चौकीका लागि प्रदेश सांसद यादवले बुझेको एम्बुलेन्स व्यक्तिगत काममा प्रयोग गर्दै आएको उनले बताए।

जिल्ला प्रशासन कार्यालय महोत्तरीको नियमित बैठकबाट कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि कोभिडका बिरामीलाई अस्पताल ल्याउन एम्बुलेन्स छुट्याउने निर्णय गरेपछि प्रदेश सांसदले व्यक्तिगत कार्यमा प्रयोग गर्दै आएको एम्बुलेन्स गाउँपालिकामा बुझाउन पत्राचार गरेको अन्सारीले बताए। एम्बुलेन्सलाई स्थायी नम्बर प्राप्त भइनसकेकोले अस्थायी नम्बरबाटै चलाइरहेको बताइएको छ।

                                                              सांसद यादवले व्यक्तिगत रूपमा प्रयोग गरेको स्वास्थ्य चौकीको एम्बुलेन्स

 

स्वास्थ्य चौकीको एम्बुलेन्स गाउँपालिकालाई बुझाउन मौखिक र लिखित रुपमा पटक पटक जानकारी गराए पनि प्रदेश सांसदले अटेर गर्दै आएको सम्सी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।

पटक-पटक माग्यौँ तर दिनुभएन

‘भारतीय दूतावासबाट स्वास्थ्य चौकीका लागि बुझेको एम्बुलेन्स पटक-पटक माग्दा पनि बुझाउनुभएन’, प्रमुख प्रसाशकीय अधिकृत अन्सारीले भने,‘स्वास्थ्य चौकीको लागि दूतावासबाट ल्याएको एम्बुलेन्स प्रदेश सांसदबाट दुरुपयोग भयो। एम्बुलेन्स गाउँपालिकामा उपलब्ध गराउन लिखित रुपमै पनि आग्रह गरेको छु।’

फोन उठाउनै छाडिन्

सांसद यादवले केही दिनमा स्वास्थ्य चौकीलाई एम्बुलेन्स बुझाउने बताए पनि सांसद यादवले अहिले फोनसमेत उठाउन छोडेको अन्सारीले बताए।

यता, एम्बुलेन्सबारे प्रतिक्रिया लिन पटक-पटक फोन गर्दा सांसद यादवको मोबाइल उठेन। सम्सी गाउँपालिकाले कोभिड अस्पताल सुरु गरे पनि एम्बुलेन्स नहुँदा समस्या भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.