|

जनकपुरधाम : प्रदेश २ सांसद डा. रिना यादवले निजी प्रयोगमा ल्याएकी गाउँपालिकाको एम्बुलेन्स फिर्ता गरेकी छन्।  महोत्तरी सम्सी गाउँपालिकाको एम्बुलेन्स उनले एक वर्षदेखि व्यक्तिगत रुपमा प्रयोग गर्दै आएकी थिइन्।

यसबारे थाहाखबरमा समाचार छापिएपछि लगत्तै उनले पालिकालाई एम्बुलेन्स फिर्ता गरेकी हुन्। सांसद यादवले भारत सरकारद्वारा उपलब्ध गराइएको ना२च २५८ नम्बरको एम्बुलेन्स गाउँपालिकाको कार्यालयमा आज साँझ बुझाएकी हुन्। 

भारतीय दूतावासबाट सम्सी गाउँपालिकाले अधिकार प्रत्यायोजन गरेर ल्याउनू भनी सांसद डा. यादवलाई गत वर्ष २०२० मई ६ मा चिठी दिएको आधारमा उनले त्यो एम्बुलेन्स बुझेर ल्याए पनि पालिकालाई जिम्मा लगाएकी थिइनन्। उक्त एम्बुलेन्स गाउँपालिकाले हस्तान्तरण गर्न पटक–पटक तोकेता गरे पनि सांसद यादवले बेवास्ता गर्दै आएकी थिइन्। 

कोरोना महामारीको दोश्रो चरणको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पालिकाले तयार गरेको कोरोना विशेष अस्पताल संचालन एम्बुलेन्सको खोजी भएको थियो।

सांसदले यादवले एम्बुलेन्स नबुझाएको वास्तविकता सार्वजनिक भएपछि थाहाखबरले यसबारे आजै समाचार प्रकाशन गरेको थियो। समाचार प्रकाशनको केही घण्टामै उनले एम्बुलेन्स जिम्मा लगाएकी हुन्। 

जिल्ला प्रशासन कार्यालय महोत्तरीको नियमित बैठकबाट कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि कोभिडका बिरामीलाई अस्पताल ल्याउन एम्बुलेन्स छुट्याउने निर्णय गरेपछि प्रदेश सांसदले व्यक्तिगत कार्यमा प्रयोग गर्दै आएको खबर खुलासा भएको प्रमुख प्रशासकीय अधिकृत महिबुल अन्सारीले बताए।

अधिकृत अन्सारीले त्यसयता उक्त एम्बुलेन्सका लागि गाउँपालिकाको तर्फबाट मौखिक र लिखित रुपमा पटक पटक जानकारी गराए पनि प्रदेश सांसदले अटेर गर्दै आएको बताए। उनले भने, ‘आज संचार माध्यमहरूमा यसबारे समाचार आएपछि यादवले पालिकालाई एम्बुलेन्स जिम्मा लगाउनुभयो।’

अधिकृत अन्सारीले थाहाखबर लगायतका संचार माध्यमहरूलाई धन्यवाद ज्ञापन गर्दै भने, ‘समाचार सम्प्रेषण भएपछि सांसद यादवलाई चासो लागेर एम्बुलेन्स पालिकालाई बुझाउनु भयो। यसका लागि सबै संचारकर्मी मित्रलाई धन्यवाद दिन चाहन्छु।’ महामारीको बेला एम्बुलेन्सले यस पालिकाका बिरामीलाई निकै सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.