|

जनकपुरधाम : प्रदेश २ मा नेकपा (माओवादी केन्द्र) बाट निष्कासित तीन जना सांसदहरूले आफूहरू पार्टीमै रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले खारेज गरिदिएपछि तीनजना सांसदहरू रामचन्द्र मण्डल, कुन्दन प्रसाद कुशवाहा र महम्मद समीर प्रधानमन्त्री ओली नेतृत्वको एमालेतर्फ लागेका थिए। अर्को पार्टीमा लागेपछि उनीहरू माओवादी केन्द्रबाट निष्कासनमा परेका थिए।

माओवादी केन्द्रको तर्फबाट रामचन्द्र मण्डल धनुषाको निर्वाचन क्षेत्र नं. १ (ख) र कुन्दनप्रसाद कुशावाहा रौतहट निर्वाचन क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएको थिए। महम्मद समीर बाराको प्रदेश २ बाट समानुपातिक बन्द सूचीमा प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए। उनीहरू तीनै जना अर्को पार्टीमा लागेको आरोपमा कारबाहीमा परेका हुन्।

मण्डल, कुशवाहा र समीरले आफूहरू माओवादी केन्द्रमै रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनीहरूले नेपालको संविधानको धारा १७८ बमोजिम योग्यता पूरा गरी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएको भन्दै संविधानको धारा १७७ बमोजिम निर्वाचित भएको मितिले ५ वर्षसम्म आफूहरू पद मै रहने संवैधानिक व्यवस्था कायम रहेको जिकिर गर्दै रिट दायर गरेका हुन्।

सर्वोच्चमा दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी हुने/नहुने प्रश्नको निरुपण गर्न उपयुक्त देखिएको भन्दै लिखित जवाफसँगै सर्वोच्च अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश जारी गरेको छ।

प्रदेश सभा सचिवालय प्रदेश २ जनकपुरधाम, नेकपा माओवादी केन्द्र, नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय प्रदेश २ र निर्वाचन आयोग समेतलाई नियमावली २०४७ को नियम ४९ को २ (ग) को प्रयोजनार्थ यही जेठ १९ गते छलफलको इजलासले बोलाइएको छ।

पार्टी एकीकरण सर्वोच्च अदालतको फागुन २३ गते को फैसला पछि एमाले र माओवादी केन्द्र पुरानै अवस्था फर्कियो। तर माओवादी केन्द्रका नेता समेत रहेका प्रदेश सभा सदस्य मण्डल, कुशवाहा, मण्डल र समीर एमाले तिर सक्रिय भई माओवादी केन्द्रमा फर्कन नमानेपछि कारवाहीमा परेका थिए। उनीहरूलाई माओवादी केन्द्रले पार्टीको साधारण सदस्यतासँगै प्रदेश सभा सदस्य पदबाट समेत बर्खास्त गरेको थियो।

यता, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले भने उल्लेखित तीनै जनाले आफू निर्वाचित भएको दल माओवादी केन्द्र छाडिसकेको र पार्टीले पटक-पटक ताकेता गर्दासमेत बेवास्ता गरेको बताएका छन्‌। त्यसैले, प्रदेश सभा सदस्य पदबाट बर्खास्त गरिएको र उनीहरूको रिटको कुनै अर्थ नहुने उनले दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.