|

पर्वत : बागलुङ  जिल्लाको बागलुङ नगरपालिका–१३ काली खोलाका ५१ वर्षीय दिलबहादुर रोका र उनकी श्रीमती उजेलीको सपना थियो कि दुई छोरीमुनि जन्मिएको छोरो १८ वर्षीय अभिषेकलाई राम्रो शिक्षा दिएर बुढेसकालको सहारा बनाऊँ। छोरा पनि त्यही बाटोमा थिए, अनुशासित र पढाइमा पनि लगनशील।

अभिषेकले मिहिनेत गर्नु नै पर्ने थियो किनकि सम्पत्तिको नाममा उनीहरूसँग सामान्य घर र दुई वटा खेतको गरा मात्रै छ। त्यसले कति दिन पो थेग्न सक्थ्यो र? पेट भर्नको लागि अधियाँमा कमाएको जमिन, गाउँमा गरिने निमेक र दैनिक मजदुरीबाहेकको विकल्प छैन। मजदुरी गरेरै भए पनि उनले अभिषेकलाई कक्षा ११ सम्म त पढाइरहेका थिए। परिवार हाँसी खुसी नै थियो।

तर, गत जेठ १३ गते घरभन्दा अलि पर रहेको रुखमा चढेर घाँस काट्ने क्रममा अभिषेक रूखबाट लडे। उनको उपचार बागलुङमा सम्भव भएन। उपचारको लागि पोखराको मेट्रोसिटी हस्पिटलमा लगेपछि थाहा भयो उनको मस्तिष्कमा गम्भीर चोट लागेको रहेछ, दाउराले कोपेको रहेछ भित्रैसम्म। त्यही दिनबाट परिवारको आँखा ओभानो छैन। किनकि चिकित्सकले अभिषेकलाई ठिक हुन्छ त भनेका छन्, तर उनलाई ठिक पार्न लाग्ने खर्च छैन।

मजदुरीको भरमा भोक मेटाउँदै आएको परिवारले लाखौँ रुपैयाँ खर्च गरेर सन्तानलाई कसरी बचाउन सक्ला?

‘भएको घर र दुईटा गरा बेचेर पनि उसलाई बचाउन खर्च नहुने भयो। अहिलेसम्म त जसोतसो सबैको सहयोग प्राण धानेका छौँ। अब के हुने हो केही निधो छैन।’ अभिषेकलाई लिएर अस्पतालमा बसेका उनका काका कृष्णबहादुर रोकाले बोली कपाउँदै भने, ‘सबैको सहयोगले नै ऊ रूखबाट खसेको ६ दिनसम्म प्राण धानिएको छ। अब के हुन्छ थाहा छैन। बचाउन पैसै चाहियो के रे हजुर।’

कृष्णका अनुसार अभिषेकको टाउकोको बायाँपट्टिको भागमा रहेको मस्तिष्कमा गहिरो चोट लागेको छ। सुरुमा एउटा शल्यक्रिया भएपछि स्वास्थ्यमा नगण्य सुधार भएको थियो तर फेरि चिकित्सकले मस्तिष्क सुन्निएको बताएका छन्। अब शल्यक्रिया सम्भव नभएका कारण औषधिकै भरमा घाउ निको पार्नुपर्ने अवस्था छ।

सहयोगको अपिल

अभिषेकका बुबा दिलबहादुरका अनुसार उनको उपचारमा हालसम्म करिब साढे पाँच लाख रुपैयाँ खर्च भएको छ। त्यो रकम केही ऋण धन गरिएको थियो भने केही शुभचिन्तकहरूले सहयोग गरेका थिए। अब भने सबैले गरेको सहयोगको रकमसमेत सकिएका कारण फेरि आर्थिक समस्या आएको उनको भनाइ छ।

‘लौ न बाबु कता कता समाचार लेखेसी सहयोग गर्छन् भन्ने पनि सुनेको थिएँ। मेरो छोराको पनि लेखिदिनुहोस् न। उसलाई बचाउन कोहीले दुई÷चार पैसो दिन्छन् कि।’ उनले भने, ‘हामी त खानु न खुट्नु भएका छौँ। न घरमा खाने अन्न हुन्छ, न छोरोलाई दबाई किन्ने पैसो छ।’

अभिषेककी दिदी एलिनाले आफ्नो भाइले मुखबाट श्वास फेर्न नसकेका कारण घाँटीबाट श्वास नली चिरेर श्वासप्रश्वास गराइरहेको जानकारी दिइन्। उनले आफ्नो भाइलाई बचाउन कोही सहयोग गर्न इच्छुक भएमा आफ्नी फुपूको नाममा ग्लोबल आइएमई बैङ्कमा रहेको खाता नं ६६०७०१००००० मा रकम जम्मा गरिदिन वा  ९८४७६२०२४० फोन गर्न अनुरोध गरिन्। सहयोग गर्न इच्छुकले थाहा खबरकर्मीलाई ९८०५१०९४४० मा पनि सम्पर्क गर्न सक्नुहुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.