|

लहान :   सरकारले आफूहरुको माग उपेक्षा गरेर निर्वाचन गराउन खोजेको भन्दै मधेसी मोर्चाले निर्वाचन कार्यालय घेराउसहित निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम बिथोल्ने गरी सशक्त आन्दोलन गर्ने चेतावनी दिइरहेका बेला त्यही निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरु भने मधेसी मूलका युवा युवतीहरु नै बढी देखिएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहामा मंगलबार साँझसम्म म्यादी प्रहरीमा भर्ना हुनका लागि दरखास्त हाल्न पुगेकामध्ये मंगलबार साँझसम्म १ हजार ४ सय ४८ पुरुष र ८२ जना महिलासहित १ हजार ५ सय ३० जनामध्ये बहुसंख्यक मधेसीहरु नै छन्।

राति १० बजेसम्म आवेदन गर्न सकिने

म्यादी प्रहरीमा भर्ना हुनका लागि बुधबार बिहान ११ बजेसम्म करिब अढाई सय जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डिएसपी) विश्वमणि पोखरेलले जनाकारी दिँदै बुधबार साँझसम्म १ हजार जनाले भर्न सक्ने बताए।

म्यादी प्रहरीमा भर्ना हु्न चाहनेको संख्या अत्यधिक बढेपछि जिल्ला प्रहरी कार्यालय सिरहामा चार वटा डेस्क स्थापना गरेर आवेदन बुझिरहेको र यो क्रम राति १० बजेसम्म जारी रहने डिएसपी पोखरेलले जानकारी दिए।

मंगलबार साँझसम्म पूर्वम्यादी प्रहरीको काम गरिसकेका पाँच महिलासहित १ सय २७ जना, पूर्वप्रहरी चार जना, सशस्त्र प्रहरी एक जना, नेपाली सेना एक जना र सेक्युरिटी गार्डमा काम गरिसकेका दुई जनाले स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीका लागि आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले नखुलाएको भए पनि आवेदन दिएका र आवेदन दिन लाइनमा बसेकाहरु बहुसंख्यक मधेसी मूलकै रहेका छन्।

दैनिक दोब्बरभन्दा बढी

म्यादी प्रहरीमा भर्नाका लागि चैत ११ गतेदेखि खुलाइएको आवेदन भर्न पहिलो दिन १० जनाले मात्र भरेका थिए भने दोस्रो दिन ४६, तेस्रो दिन २ सय ९४, चौथो दिन ४ सय ६५ र पाँचौं दिन मंगलबार आठ सय १ जनाले आवेदन दिएका थिए।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सिरहाका संयोजकसमेत रहेका संघीय समाजवादी फोरम नेपाल सिरहाका अध्यक्ष बादलप्रसाद यादवले बेरोजगारी र गरिबी झेलिरहेका मधेसी मूलका व्यक्तिहरुले म्यादी प्रहरीमा भर्ना हुन आवेदन हाल्नुलाई अन्यथा लिन नमिल्ने बताए।

‘राज्यले मधेसीहरुलाई ठगिरहेको कुरा बुझ्दा बुझ्दै पनि थोरै भए पनि कमाइ हुन्छ भनेर गएकाहरुलाई रोक्न त सकिँदैन नि’ अध्यक्ष यादवले भने, ‘शान्तिपूर्ण र वैधानिक आन्दोलन भएकाले कसैलाई दबाब दिन पनि त भएन।’

सप्तरीमा पनि अवस्था उस्तै 

स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हन चाहनेमा सप्तरीमा पनि मधेसी मूलकै बढी देखिएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी अधिकारीले मंगलबारसम्म १ हजार ६ सय जनाले आवेदन दिएको बताए। डिएसपी अधिकारीका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि २ हजार १ सय आवेदन फारम वितरण गरिएको छ।

मोर्चाका सप्तरी संयोजक दिनेशकुमार यादवले म्यादी प्रहरीमा भर्ना हुन चाहेका मधेसीहरुलाई ‘नभर्नुस्’ भनेर दबाब नदिएको जानकारी दिए। ‘माग सम्बोधन भएपछि ढिलो चाँडो चुनाव त हुन्छ’ संयोजक यादवले भने ‘त्यसैले मोर्चाले आधिकारिक रुपमा निर्णय गरेर त्यसको विषयमा गछौं।’

कस्ताले फर्म भर्न पाउँछन् म्यादीमा?

नैतिक पतन देखिने गरी फौजदारी अभियोगको कसुरदार नरहेको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक र मानसिक रुपले तन्दुरुस्त, साधारण लेखपढ गर्न जान्नेमध्ये १८ वर्ष पूरा गरेर ५४ वर्ष ननाघेका व्यक्तिहरुले म्यादी प्रहरीमा भर्ना हुन न्यूनतम योग्यता तोकिएको छ।

त्यसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सेवा निवृत्त, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सेवा प्रवेशमा शारीरिक परीक्षणमा सामेल भएका, विदेशी मित्र राष्ट्रहरुमा सुरक्षा निकायमा काम गरेका र विगतको चुनावहरुमा म्यादी प्रहरीको रुपमा काम गरिसकेकाहरुलाई प्राथमिकता दिइएको छ। म्यादी प्रहरीलाई नेपाल प्रहरीका जवानले पाउने तलब भत्तासहित तोकिएबमोजिम अन्य सुविधा पाउने भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.