|

ओखलढुंगा : ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरेमा कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितका बिरामी घरघरै भेटिएका छन्।

उच्च ज्वरो, वाकवाक लाग्ने र जीउ दुख्नेजस्ता समस्या निम्तिएका बिरामीहरू प्राय: घरमा भेटिएका हुन्‌। गाउँ तथा टोलटोलमा बिरामी भएपनि उपचार गर्न स्वास्थ्य संस्था र अस्पताल जान सकेका छैनन्।

उनीहरूमा कोरोना संक्रमण भएको आशंका गरिएपनि कन्ट्याक्ट ट्रेसिङ गर्दा भने एक जनामात्रै संक्रमित फेला परेको स्थानीय युवा कृष्ण भुजेलले बताए। उनका अनुसार धेरै समस्या भएका बिरामीलाई स्वास्थ्यकर्मी कुलबहादुर भुजेलको घरमै स्लाइन दिएर प्राथमिक तहको उपचार गराइएको छ। 

कोरोना लक्षणसँग मिल्दोजुल्दो समस्या देखिएपछि सरसहयोग गर्न पनि स्थानीय त्रसित भएका छन्। उपचार गर्न अस्पतालसम्म जान नसक्नेलाई वडाका तर्फबाट उपचार व्यवस्था गर्न र बृहत कोरोना जाँच गराउन स्थानीयको माग छ।

एक टोलमै २ जनाको अवस्था गम्भीर र अन्य १ दर्जनभन्दा बढी बिरामी रहेका छन्।  थप उपचार गर्नुपर्ने अवस्थाका बिरामी रहेपनि स्थानीय सरकार मूकदर्शक भएको भन्दै भदौरेवासी आक्रोशित भएका छन्‌।

प्राथमिक उपचारका लागि आफूले व्यवस्था मिलाएपनि अवस्था जटिल बन्दै गइरहेकाले थप समस्या निम्तिने जोखिम रहेको भुजेलले बताएका छन्‌। अस्पताल जान नसक्ने अवस्थाका बिरामीका लागि वडा र पालिकाले हेरचाह गर्नुपर्ने उनको माग छ।

जिल्लामा हिजो (शुक्रबा) एकैदिन १५९ कोरोना संक्रमित थपिएका छन् यो संगै ओखलढुंगामा कोरोना संक्रमितको संख्या ९१५ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.