भौतिक प्रगति हालसम्म ४३ प्रतिशत मात्रै, निर्माण अवधि थप्नैपर्ने स्थिति

|

सुर्खेत : कोरोना महामारी फैलन नदिन निषेधाज्ञा लगाइएका बेला पनि जोखिम मोलेरै भएपनि विकास निर्माणका कामहरू अघि बढाउन खोजिएको छ। तर, निर्माण सामग्री अभाव भइरहेको छ।

राष्ट्रिय गौरवमा सूचीकृत भेरी-बबई आयोजना यस्तै एक उदाहरण हो। जहाँ निर्माणकार्य त अघि बढाउन खोजिएको छ, तर निर्माण सामग्री अभाव भइरहेको छ। यो आयोजना सुर्खेतमा पर्छ।

‘रड (सरिया) अभाव भइसक्यो, सिमेन्ट पनि सकिन लागेको छ,’ आयोजनाका इञ्‍जिनियर एवम् सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले भने, ‘कोरोनाका कारण निर्माण कम्पनी नै बन्द हुँदा निर्माण सामग्री अभाव भएको हो।’

भेरी बबई आयोजनामा ३२–३३ एमएमका सरिया प्रयोग हुन्छन्। सरियाको गुणस्तर नापजाँचका लागि आफ्नै प्रयोगशाला छ। प्रयोगशालामा गुणस्तर प्रमाणित भएपछि मात्रै सरिया प्रयोगमा ल्याइन्छ। 

आयोजनाले गुणस्तरहीन सरियाहरू कम्पनीमै फिर्ता पठाइदिने गरेको छ। ‘आयोजनालाई आवश्यक पर्ने सरिया कम्पनीमै अर्डर दिनुपर्छ,’ तिवारीले भने, ‘अहिले निर्माण कम्पनी नै बन्द हुँदा सरिया अभाव भएको हो।’

सरिया अभाव भएपनि आयोजनाको काम नै रोकिएको छैन। ‘सरिया प्रयोग हुने काम त रोकिने नै भयो, तर अहिले आयोजनाको काम नै ठप्प पार्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘निषेधाज्ञा लम्बिँदै गयो भने भन्न सकिन्न।’

निषेधाज्ञाका कारण निर्माण सामग्री अभाव भएको खण्डमा आयोजना निर्माण अवधि तोकिएको समयभन्दा लम्बिन सक्नेछ। उसो त गत वर्ष पनि कोरोना महामारीका कारण आयोजनामा असर परेको छ। कोरोनाले गर्दा यो आयोजनाको निर्माण अवधि थप लम्बिने देखिएको हो।

४३ प्रतिशत काम सकियो

यो आयोजनामा हालसम्म ४३ प्रतिशत काम सकिएको छ। २०७९÷०८० मा यो आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

वि.सं. २०७१ सालदेखि निर्माण थालिएको यो आयोजनामा २०७४ कात्तिकदेखि शुरूङ निर्माणको काम थालिएको थियो। आयोजना सम्पन्न गर्न अबको दुई वर्षभित्र ५३ प्रतिशत काम सक्नुपर्नेछ। 

शुरूङ निर्माणको काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गरेर प्रशंसा बटुलेको आयोजनाको दोस्रो चरणको काम भने सुस्त छ। महत्वपूर्ण मानिएको विद्युत गृह निर्माणको काममा झनै ढिलाइ भइरहेको छ।

शिलान्यास भएको लामो समयपछि मात्र विद्युतगृह निर्माणको काम शुरू भएको छ। २०७६ मंसिर १६ गते तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आयोजनाको बाँध र विद्युत गृहको शिलान्यास गरेका थिए। 

त्यस्तै, भेरी नदीमा बाँधको कामसमेत अपेक्षित गतिमा हुन सकेको छैन। नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहित ६ ढोका राखेर बाँध निर्माण गर्नुपर्नेछ। पानीको बहाव बढी हुने भएका कारण वर्ष दिनमा चार महिन मात्रै बाँधको काम गर्न सकिन्छ।

दोस्रो चरणको बाँध र पावर हाउस (विद्युत गृह) निर्माण जिम्मा चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सन जेभीले लिएका छन्। अनुमानित रकमभन्दा कम लागतमा ठेक्का लिएपछि दोस्रो चरणको काम तोकिएकै समयमा सम्पन्न हुने आशंका छ। कूल आठ अर्ब रुपैयाँ लागत अनुमान गरिएको ठेक्का ग्वाङ्डोन/रमणले ६ अर्ब १६ करोड ५२ लाख १५ हजार ७७५ रुपैयाँमा लिएको हो।

सम्झौताअनुसार ठेकेदार कम्पनीले चार वर्षभित्र विद्युतगृह निर्माण सक्नुपर्नेछ। आयोजनाबाट चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्‍जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) बाहिरिएसँगै निर्माणको काम सुस्ताएको हो।

कोभेकले नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) बाट आयोजनाको १२.२ किलोमिटर सुरूङ खनेर चर्चा कमाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.