|

काठमाडौं : कर्णाली प्रदेशसभा बैठक आज बस्दैछ। सोमबारको बैठक प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेपछि स्थगित भएको थियो। 

बैठक दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि प्रदेशसभा बैठक बस्न नसकेको हो।   

प्रदेशसभाको बैठक सोमबार दिउसो २ बजे र बेलुका ५ बजे बसेको थियो। पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका ब्यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पाखेका थिए। दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने बताएका थिए। मंगलबार बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबीच तीन घण्टा वार्ता भएको थियो तर वार्ता सकरात्मक नभएको बताइएको छ। 

यसैबीच प्रदेश २ को प्रदेशसभा बैठक आज पनि बस्दैछ। मंगलबार विपक्षी दलको अवरुद्धपछि स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्ने सूचना जारी गरिएको छ।  विपक्षी दलका सांसदहरुले स्थानीय तहलाई प्रदेश सरकारले पठाएको शसर्त बजेटमा मनपरी गरेको आरोप लगाउँदै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्।

यसै गरी प्रदेश नम्बर एकमा आज बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुँदैछ। मध्यान्ह १२ बजे बस्ने प्रदेशसभा बैठकमा मंगलबार प्रस्तुत भएको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रमोद विकले जानकारी दिए। उनका अनुसार छलफल सकेसम्म आजै सक्ने तयारी छ। छलफलको अन्त्यमा प्रदेश अर्थमन्त्री टंक आङ्बुहाङले छलफलका क्रममा उठेका जिज्ञासाको सम्वोधन गर्नेछन्। मन्त्री आङ्बुहाङले हिजोको बैठकमा बजेटको बिनियोजन विधेयक आर्थिक वर्ष २०७८-७९ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि नीति तथा कार्यक्रम पेश गरिनेछ। 

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वाथ्य क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.