|

जनकपुरधाम : महोत्तरीका केही युवा र पत्रकारको संयुक्त प्रयास र स्थानीयस्तरबाट चन्दा संकलन गरेर एउटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयमा परिणत गर्न सफल भएका छन्।

ग्रामीण भेगमा पर्ने बर्दिबास नगरपालिका वडा नम्बर– ९ पशुपतिनगर बनरझुल्लास्थित राष्ट्रिय माध्यमिक विद्यालय पुग्दा अहिले जो कोही पनि प्रभावित हुने गर्दछन्।

आँट गरे के हुँदैन भन्ने प्रत्यक्ष उदाहरण बनेका जनसहयोगी युवा सञ्जाल बर्दिबासमा आबद्ध युवाले करिब सवा करोड खर्चेर विद्यालयमा बगैंचा, खेलमैदान, मञ्च, बालउद्यान निर्माण गरेका हुन्।

गत वर्ष कोरोना महामारीको बेला लकडाउन सुरु भएको चैत ११ देखि जेठ मसान्तसम्म सबै क्षेत्र ठप्प भएपछि बार्दिबासका यी युवा गाउँठाउँमा केही गराैं भनी जुटेका थिए। यही क्रममा पशुपतिनाथस्थित उक्त विद्यालयमा योजना बनाएर असारदेखि काम सुरु गरेका थिए। 

गत वर्ष असारदेखि नै युवाहरू विद्यालय सुधारमा काम गरिरहेका जनसहयोगी युवा सञ्जालका अध्यक्ष परमेश्वर महतोले बताए।

‘लकडाउनका बेला व्यवसाय पनि ठप्प थियो, यस्तो बेला कुनै रचनात्मक सामाजिक काम गराैं भनेर बालउद्यान निर्माणको काम थाल्याैं’, बर्दिवास चोकमा रहेका पञ्चधुरा होटल सञ्जालका संयोजक परमेश्वर महतोले भने, ‘पहिलो चरणमा सञ्जालमा आबद्ध साथी जम्मा भई काम थाल्यौँ, दिनदिनै सहयोग दिनेहरू हातहरू थपिँदै गए, यसले काममा हौसला बढाइरह्यो,​ बालउद्यान निर्माण कार्यको खाका इञ्जिनियर मनोजकुमार महतोले बनाइदिए। सोअनुसार काम गर्ने स्वीकृति विद्यालय प्रशासनबाट पाएपछि निर्माणमा जुट्यौं। पछि पछि विभिन्न ठाउँहरूमा सहयोग पाउँदै गयौं र अहिले कामको अन्तिम चरणमा आइपुगेका छौं।’

उनका अनुसार विद्यालयको ९५ प्रतिशत निर्माणको काम सकिएको छ। अब इन्जिनियर मनोज कुमार महतोले निर्माण गरेको योजनाअनुसार विद्यालयमा सौन्दर्यको काम भइरहेको छ।

यस कामका लागि नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव तथा युवा पत्रकार राजकरण महतोको पनि देन कम छैन। संजालका युवाहरूलाई पत्रकार महतोले बेला बेला तन, मन र धनले पनि सहयोग गर्दै आएका छन्।

पत्रकार महतोको आफ्नो गाउँसमेत रहेको पशुपतिनगरको विद्यालयमा बालउद्यानसहित अन्य भौतिक पूर्वाधार निर्माणको परिकल्पना बर्दिबासमा धर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको नमुना मुसहर बस्तीलाई देखेर आएको बताए। उनले युवा संजालका सदस्यहरूलाई होस्टेमा हैंसे दिलाउने काम गरे।

२०३० सालमा स्थापित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनगर वनरझुल्ला नमुना बन्दै गएपछि अहिले स्थानीयहरू निकै खुशी भएका छन्। विद्यालयको उक्त योजनालाई साकार पार्न पशुपतिनगरकै स्थानीय युवा संचारकर्मी अमृत कुमार महतोले पनि त्यतिकै मिहिनेत र श्रम दिएका छन्।

विद्यालयमा एक वर्षको अवधिमा सरकारी तथा स्थानीय स्तरबाट आर्थिक सहयोग संकलन गरेर सवा करोडको भौतिक पूर्वाधार विद्यालयमा निर्माण भएको हो।

मनकारी मनको सहयोग, जनता समाजवादी पार्टीका नेता लक्ष्मी महतो, सेभ द चिल्ड्रेन, बर्दिबास नगरपालिको आर्थिक सहयोग, पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संसदीय विकास कोषको रकमले विद्यालयमा भौतिक पूर्वाधार निर्माण भएको छ।

विद्यालयमा सो पूर्वाधार निर्माण गर्न संजालका युवायुवती आफैले पनि श्रमदान गर्नुको साथै सम्पूर्ण रेखदेख गरेका छन्। अहिले विद्यालयले मुहार फरेपछि गाउँलेहरू उत्साहित भएका छन् भने विद्यार्थीहरू हर्षित भएका छन्।

जम्मा करिब तीन बिघा क्षेत्रफलको विद्यालय परिसरमध्ये एक बिघा १० कठ्ठामा विद्यालय भवन, मैदान र बालउद्यान निर्माण गरिएको छ।

निर्माण भन्ने बित्तिकै विभिन्न निकायको बजेट पर्खने र मुख ताक्ने आम प्रवृत्ति बढेका बेला सञ्जाल आवद्ध युवाले आफ्नो ठाउँमा आफ्नै तत्परताले राम्रा काम गर्न सकिने एउटा उदाहरण दिन सफल भएका छन्।

सबैको अलिअलि मात्र साथ सहयोग भए काम भन्नेबित्तिकै कुनै निकायको बजेट नै चाहिन्छ भन्ने कुरा सामूहिक प्रयत्न र सकारात्मक सोचले हटाउन सकिने बालउद्यान निर्माणकार्यमा संलग्न युवा पत्रकार राजकरण महतोको ठम्याइ छ।

विद्यालय व्यवस्थान समितिको अध्यक्षमा रामजतन महतोले अब विद्यालयको भौतिक पूर्वाधारमा युवाहरूको योगदानले एउटा चामत्कारिक परिवर्तन आएको बताए। उनले लकडाउन पछि अब विद्यालयलाई आधुनिक ढंगले विशेष योजना बनाई शैक्षिक स्तरमा सुधार गर्ने कदम चाल्ने बताए।

उनले भने, ‘लकडाउनमै स्कुलले काँचुली फेरेको छ , अभिभावकको विश्वास बढेको छ–अब विद्यालय सुध्रिन्छ।’

केही दिनअघि मात्र धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ उक्त विद्यालय हेर्न आइपुगेका थिए। उनी विद्यालय पुगेर युवाहरूले गरेको कामको प्रशंसा गर्दै भने, ‘युवाहरू जुटेर विद्यालय रुपान्तरणका लागि काम गरिरहेको पाउँदा निकै खुशी लाग्यो। समाजका बालबालिकाहरूलाई शिक्षा दिने मन्दिर जस्तो पवित्र सामुदायिक विद्यालय रुपान्तरणमा जुट्नु हुने तथा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद दिन चाहन्छु।’

उनले विद्यालयमा खेलकुद तथा शैक्षिक सामग्रीको आवश्यकता रहेकोले देश–विदेशमा रहेका सबैसँग सहयोग गरिदिन अनुरोधसमेत गरे। भने, ‘स्कूल रुपान्तरणका लागि संकल्प लिनु भएका स्थानीय संचारकर्मी अमृत कुमार महतो, योजना बनाई काम गर्नु हुने सञ्जालका अध्यक्ष परमेश्वर महतो र इन्जिनियर मनोज महतोसहित सत्कर्ममा जुट्नुहुने विद्यालय परिवार सहित सम्पूर्ण मनकारी मनहरूलाई सफलताको शुभकामना दिन चाहन्छु।’

धुर्मुसले विद्यालयबाट फर्केपछि फेसबुकमा आफ्नो स्टाटस समेत लेखे, ‘पूर्व–पश्चिम राजमार्ग सरसफाइको क्रममा २०७२ सालमा प्यारो भाइ पत्रकार राजकरण महतोसँग भेट भयो। हाम्रो भेटले महोत्तरीको बर्दिबासमा एकिकृत नमुना मुसहर बस्ती निर्माण भयो। अहिले उहाँको सक्रियतामा जनसहयोगी युवा सञ्जाल बर्दिबास टिमले बर्दिबास–९ पशुपतिनगर स्थित  श्री राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा जनस्तरबाट निर्माण गरिरहेको ‘बालउद्यान तथा चिल्ड्रेन पार्क’ अवलोकन गर्ने अवसर प्राप्त भयो। युवाहरू जुटेर विद्यालय रुपान्तरणका लागि काम गरिरहेको पाउँदा निकै खुशी लाग्यो। समाजका बालबालिकाहरूलाई शिक्षा दिने मन्दिर जस्तो पवित्र सामुदायिक विद्यालय रुपान्तरणमा जुट्नुहुने तथा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद दिन चाहन्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.