|

लहान : सिरहाका मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनलाई लक्षित केन्द्रित गतिविधि गर्न थालेका छन्।

मधेस केन्द्रित दलहरुको अवरोधका वावजुद जनाधार रहेका मुख्य दलहरु स्थानीय नेता कार्यकर्तालाई परिचालन गरेर चुनावमा होमिन थालेका हुन्। मधेस केन्द्रित दलहरुको विरोधका कार्यक्रम प्रायः सदरमुकाम र बजार केन्द्रित मात्र रहेकाले गाउँमा चुनावी अभियान सञ्चालन गर्न समस्या नरहेको जिल्ला नेताहरु बताउँछन्। ‘गाउँमा त मुख्य राजनीतिक दलहरुकै पकड छ नि’ नेताहरु भन्छन् ‘स्थानीय नेता कार्यकर्ता परिचालन गरेर चुनावी अभियान सञ्चालन गर्न त्यति गाह्रो भएको छैन।’ 

पहिलो हुने दाउमा कांग्रेस

दोस्रो संविधानसभा निर्वाचनमा सिरहाको ६ निर्वाचन क्षेत्रमध्ये १, ३, ४ र ६ मा जितेको नेपाली कांग्रेसले ६ नगरपालिका र ११ गाउँपालिकामा चुनाव केन्द्रित अभियान थालिसकेको नेपाली कांग्रेस सिरहाका सभापति तथा सांसद रामचन्द्र यादवले जानकारी दिए।

‘हरेक नगरपालिका र गाउँपालिकामा पर्ने मतदान केन्द्रका बुथ इकाईका सभापति, क्षेत्रीय सभापति, गाउँ र नगर सभापतिहरुको सम्बन्धित ठाउँमै भेला गरेर चुनावको तयारीमा जुटेका छौं’ जिल्ला सभापति यादवले भने ‘जिल्ला कार्यसमितिका पदाधिकारी र क्षेत्रीय सभापतिहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा खटाइसकेका छौं।’

दोस्रो संविधानसभाको निर्वाचनमा चारवटा क्षेत्र जितेको कांग्रेस स्थानीय तहको निर्वाचनमा पनि पहिलो हुने रणनीतिसहित चुनाव केन्द्रित गतिविधिमा जुटेको छ। जिल्ला सभापति यादवले आफ्नै उपस्थितिमा सिरहाको १, २ ४ र ५ नम्बर क्षेत्रमा पर्ने नगर र गाउँपालिकामा भेला छलफल गरिएको बताए।

आन्तरिक तयारी गर्दै एमाले

दोस्रो संविधानसभाको निर्वाचनमा सिरहाको २ नम्बर क्षेत्रमा जितेको नेकपा एमाले विरुद्ध विशेषगरी मधेस केन्द्रित दलका नेता कार्यकर्ताहरु रुष्ट रहेकाले उसले आन्तरिक रुपमै सिरहाको ६ नगर र ११ गाउँपालिकामा पहिलो चरणको भेला, छलफल चलाइसकेको छ। जिल्ला अध्यक्ष प्रमोदकुमार यादवका अनुसार सिरहाको गोलबजार, सिरहा, मिर्चैया, लहान नगरपालिका तथा कर्जनहा र अर्नमा गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला गरी स्थानीय तहको चुनावको तयारीमा जुट्न स्थानीय नेता कार्यकर्ताहरुलाई खटाइएको छ। एमालेले चुनावी तयारीसँग सम्बन्धित गतिविधिहरु स्थानीय नेता कार्यकर्ताहरुको जिम्मेवारी अन्तर्गत चलाइरहेको जिल्ला अध्यक्ष यादवले बताए।

गाउँ छिर्दै माओवादी

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले जितेको जिल्ला भएकाले पनि हुन सक्छ, जिल्ला नेता कार्यकर्ताहरु पुरानो साख फर्काउने गरी गाउँ गाउँ पुग्न थालेका छन्। माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पूर्व जिल्ला इञ्चार्ज हरिनारायण चौधरीले सिरहाको प्रायः सबै नगरपालिका र गाउँपालिका स्तरीय अगुवा कार्यकर्ताहरुको भेला गरी स्थानीय निर्वाचन परिचालन समिति गठन भइसकेको जानकारी दिए।

चौधरीका अनुसार माओवादीले गोलबजार, धनगढीमाई, मिर्चैया, कल्याणपुर नगरपालिका स्तरीय भेलामार्फत् निर्वाचन परिचालन समिति गठन गरिएको छ भने विष्णुपुर, नरहा, लक्ष्मीपुर पतारी गाउँपालिकामा पनि निर्वाचन परिचालन समिति गठन गरी स्थानीय नेता कार्यकर्ताहरुलाई परिचालन गरिएको छ। ‘चैतको तेस्रो हप्तासम्म जिल्लाका सबै नगर र गाउँपालिकामा अगुवा कार्यकर्ताहरुको प्रशिक्षणात्मक भेला सिध्याउँछौं’ पूर्व इञ्चार्ज चौधरीले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.