|

काठमाडाै‌  :  साउदी अरेवियामा गैर कानुनी हैसियतमा रहेका नेपाली आप्रवासी कामदार स्वदेश फर्किन पाउने भएका छन्। विभिन्न समयमा साउदी अरेविया पुगेर गैर कानुनी रुपमा बसिरहेका कामदारहरुलाई साउदी अरेविया सरकारले आम माफीको व्यवस्था गरेपछि उनीहरु घर फर्किन पाउने भएका हुन् ।

साउदी सरकारले जारी गरेको आम माफीको व्यवस्थाबारे जानकारी दिन बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परराष्ट्र सल्लाहकार डा.ऋषिराज अधिकारीले साउदी अरेबियाको सरकारले चैत १६ गते (मार्च २९, २०१७)  देखि लागू हुने गरी ९० दिनभित्र गैर कानुनी हैसियतमा बसेका कामदारलाई स्वदेश फर्किन पाउने घोषणा गरेको जानकारी दिए।

आम माफीको लागि लामो प्रक्रिया लाग्ने भएकाले पीडितका परिवारसम्म यो सन्देश छिटो पुर्‍याउनुपर्ने अधिकारीले बताए। 'गैर कानुनी रुपमा बसेका बढी भन्दा बढी नेपाली कामदारले यो अवसरको सदुपयोग गर्नेछन्' उनले भने। 

प्रधानमन्त्रीका वैदेशिक रोजगार विज्ञ सुशील ढुंगानाले नेपालका लागि यो सुनौलो मौका भएको बताए। 'साउदी अरेविया सरकारको यो घोषणाले हामीलाई धेरै सहयोग हुनेछ' उनले भने। साउदी अरेवियाको यो घोषणाबाट एक देखि डेढ लाख नेपालीले लाभ लिन सक्ने अपेक्षा गरिएको ढुंगानाले जानकारी दिए। 

एनआरएन साउदीका अध्यक्ष धर्म केसीले साउदीमा पुरुष कामदार भन्दा महिला कामदार धेरै रहेको बताए। वैदेशिक रोजगार विभागको आँकडामा १३ हजार महिला साउदी गएको देखिएपनि ५० हजार बढी नेपाली महिला साउदी पुगेर त्यहाँ घरेलु कामदारको रुपमा काम गरिरहेको केसीले दावी गरे।

सरकारी कर्मचारी रहेको दूतावासकै अगाडि कमिसनखोरी मौलाइरहेको आरोप लगाउँदै केसीले नेपाल सरकारले लैजान खोजेको घुम्ती शिविर छिटोभन्दा छिटो लैजान र दूतावास र त्यहाँ काम गर्ने कर्मचारीकै पनि अनुगमन गर्न सुझाव दिए ।

नेपाली कामदारहरु विभिन्न आरोप र अभियोगमा पक्राउ पर्दै जाँदा साउदीका जेल भरिएको बताउँदै केसीले म्यानपावरको दादागिरीमाथि सरकार मौन बसिरहेको आरोप लगाए। एकातिर कामदारलाई फ्री भिसा, फ्री टिकटको लोभ देखाउने, म्यानपावरलाई १० हजारको मात्र रसिद काट्न लगाउने र अर्को तिर कामदारबाट म्यानपावरले लाखौं रकम असुल्दा पनि मौन बस्ने गर्नाले सरकारको नीतिले कामदारहरु झनै मर्कामा परेको उनको गुनासो थियो।

कस्तो छ आममाफीको प्रक्रिया?

भिसा, साउदीमा मिल्ने स्थानीय परिचयपत्र र पासपोर्ट नभएका विदेशी कामदारलाई मात्र साउदी अरेबिया सरकारले आम माफी दिन थालेको हो। साउदी सरकारले अपराध भनी किटान गरेको हकमा भने आम माफी नदिने सारदी अरव सरकारले स्पष्ट पारेको छ।

गैर कानुनी रुपमा लुकेर बसेका कमदारहरुले त्यहाँ रहेको दूतावास मार्फत, प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा फोन गरेर र इमेल गरेर अथवा साउदी अरेविया सरकारलाई सम्पर्क गरेर आम माफीको लागि पहल गर्न सक्नेछन्। उनीहरुले त्यहाँ कम्पनीसँग सम्झौता भएबमोजिमको तलव रकम सोही कम्पनीवाट अथवा नेपालमा रहेको म्यानपावर मार्फत असुल गर्नेगरी व्यवस्था गरिने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.