|

काठमाडौं : साढे दुई दशकअघि नेपाली युवा पुस्तामाझ भिन्न स्वादमा पप संगीत प्रस्तुत गर्दै आएको चर्चित सांगीतिक व्याण्ड नेपथ्यले आउने वर्ष रजत उत्सव मनाउँदै छ।

पोखराबाट काठमाडौं आएर बसेका केही तन्नेरीले सुरु गरेको यस व्याण्डले छोटै समयमा निकै लोकप्रियता कमाउन सफल भएको छ। रजत उत्सवको 'थिम' ‘सेलिब्रेटिङ ट्वेन्टी फाइभ इयर्स अफ नेपथ्य’ रहेको र यो वर्षभरि नेपथ्यले गर्ने सबै कामलाई यसै थिमअन्तर्गत राखेर सम्पन्न गरिने नेपथ्यले जानकारी दएको छ।

नेपथ्यको जन्म मिति कुन दिनलाई मान्ने भन्ने विषयमा विभिन्न तर्कहरू आएका छन्। रजत वर्ष घोषणा गर्नुअघि व्याण्डले यसबारेमा व्यापक छलफल पनि गरेको थियो। पुल्चोकमा भाडा लिएर बसेका दीपक राणा र अमृत गुरुङको कोठामा भेला हुनेहरूबाटै आजको अग्रणी नेपाली सांगीतिक व्याण्ड 'नेपथ्य' बनेको यथार्थ स्वीकार गर्दै अन्ततः ब्याण्डले आफ्नो पहिलो एल्बम ‘नेपथ्य’  रिलिज भएको दिनलाई नै आधिकारिक जन्म मिति मान्ने निधो गरेको छ।

उक्त एल्बम ननिस्केको भए टोली गठन हुनु वा गीत बन्नुले कुनै अर्थ नराख्ने मान्यतामा यस्तो निर्णय लिइएको नेपथ्यले जनाएको छ। यसबाट सन् १९९३ अप्रिल १ तारिखका दिन नै नेपथ्य संस्थागत भएको कुरा स्थापित हुन पुगेको छ।

उक्त एल्बमको पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’ लाई नेपथ्यको पहिलो गीतको मान्यता दिइएको छ। सन् २०१८ अप्रिलको पहिलो दिन नेपथ्यको २५ औं वर्ष पूरा हुनेछ। २०१८ अप्रिल १ देखि नेपथ्यको रजत वर्ष प्रवेशको उत्सव मनाउन सुरु गर्ने निर्णय व्याण्डले गरेको छ।

यो सिंगो एक वर्ष नेपथ्यप्रेमीहरूका निम्ति ‘सिल्भर जुब्ली’ को रूपमा रहने नेपथ्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो वर्षभरि नेपथ्यले घोषित थिममा हरेक महिना कुनै न कुनै कार्यक्रम गर्नेछ। नयाँ गीतहरू मात्र नभई व्याण्डका नयाँ-पुराना गीतहरूका म्यूजिक भिडियो पनि यसै अवसरमा हरेक महिना सार्वजनिक हुनेछन्।

आफ्नो रजत वर्षका अवसर पारेर नेपथ्यले नेपाली संगीतका क्षेत्रमा योगदान दिने हस्तीहरूप्रति पनि आफूलाई समर्पित गर्ने निर्णय पनि गरेको छ। ‘सामाजिक क्षेत्रमा पनि हामीले विभिन्न सहयोग तथा कार्यहरू मार्फत् सहभागीता जनाउँदै आएका छौँ', नेपथ्यका संस्थापक एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘यो महत्त्वपूर्ण वर्षचाहिँ हामीले नेपाली संगीतकै श्रीवृद्धिमा संलग्न हुने अठोटका साथ यो वर्षभरि पलेँटी शृंखलामा जोडिने भएका छौँ। हाम्रो व्याण्डका साथीहरू पलेँटीको प्रारम्भिक दिनहरूमा संलग्न भएकै हुन्। अब चाहिँ हामी त्यो शृंखलालाई निरन्तरता प्रदान गर्न पनि सहयोगी हुने निधोमा पुगेका छौँ।’

नेपथ्यले आफ्नो रजत महोत्सव मनाउने निधो गरेकै बेला संयोगले उत्सवको सुरुवात नेपथ्यको थलो पोखरामा पहिलो कन्सर्टबाट हुने भएको छ। आगामी चैत २६ गते (अप्रिल ८ तारिख) का दिन पोखरास्थित रंगशालामा नेपथ्य प्रस्तुत हुँदै छ।

‘नेपथ्य जुन भूमिबाट आएको हो, त्यसै भूमिमा उसको यस्तो महत्त्वपूर्ण आयोजना जुरेको छ’, गायक अमृत भन्छन्, ‘यो सुखद् संयोग हो।’ रजत वर्षकै अवसरमा नेपथ्यको २५ वर्ष लामो यात्राका कथाव्यथा समेटेको चिनारी पुस्तक पनि प्रकाशन गर्ने योजना रहेको सो व्याण्डलाई व्यवस्थापन गर्दै आएको नेपालयले जनाएको छ।

‘नेपथ्यको जीवनी अमृत गुरुङले लेखिरहेका छन्’, नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘केही समयदेखि यसमै काम गर्दै आएका अमृतको पुस्तकलाई यसै वर्ष सार्वजनिक गर्ने योजना पनि हामीले राखेका छौँ।’ नेपथ्यको दशौं एल्बम तयारी अवस्थामा रहेको र यो एल्बम पनि यसै वर्ष आउने पनि श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.