|

पाल्पा : पाल्पास्थित सिद्धार्थ राजमार्गसहित सबै मुख्य सडक अवरुद्ध भएका छन्। चार दिनदेखि परेको अविरल वर्षासँगै झरेका पहिरोले राजमार्ग र सडक अवरुद्ध भएका हुन्। 

अधिकांश सडक मंगलबारदेखि नै अवरुद्ध छन्। निरन्तर वर्षा भइरहेकाले सडक सञ्चालन गर्न कठिन भइरहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। जिल्लाबाट बाहिर जाने सबै सडक अवरुद्ध छन्। पहिरो पन्छाउने कार्य अहिले पनि जारी छ। पहिरोले राजमार्ग तथा सडक अवरुद्ध भएका ठाउँमा सम्बन्धित ठाउँका प्रहरी परिचालन गरेको त्वातीले बताए।

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८ गौडेभीरमा तलबाट सडक नै पहिराले बगाएको छ। खोलाको बहाबले करिब १०० मिटर राजमार्ग कटान गरेको घटनास्थल पुगेका प्रभास प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक भरत थापा क्षेत्रीले बताए। उनका अनुसार अब राजमार्गको नयाँ ट्रयाक नै खोल्नु पर्ने अवस्था छ। मंगलबार दिउँसो साढे तीन बजेदेखि राजमार्ग अवरुद्ध भएको हो। अहिले पनि भीषण वर्षा भइरहेको छ। 

‘पहिरोे पन्छाउन र नयाँ ट्रयाक बनाउन स्कभेटर चाहिन्छ,’ उनले भने, ‘मेरो नेतृत्वमा सुरक्षाकर्मीको टोली यही छौं, स्काभेटर ल्याएर पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको छ।’ 

राजमार्ग सञ्चालन गर्न कति समय लाग्ने हो यकिन भने नभएको उनले बताए। अहिलेसम्म सुञ्चालन गर्ने कुनै सुरसार भएको छैन। बिरामी बोकेका एम्बुलेन्सलगायत कैयौं सवारी साधन र यात्रु राजमार्गमै अलपत्र परिरहेका छन्। मानिस पैदलमार्फत पहिरो पार गर्ने अवस्था समेत नरहेको क्षेत्रीले बताए। उनका अनुसार करिब ३०० मिटर माथिबाट ढुंगासहितको पहिरो झरिरहेको छ।

यता सिद्धार्थ राजमार्गकै रम्भा गाउँपालिका–३ स्थित सेरा र सीता पहाडमा समेत पहिराले राजमार्ग बन्द छ। सेरामा माथिबाट लेदोसहितको माटो आउनेक्रम रोकिएको छैन। सीता पहाडमा एक पटक पहिरो पन्छाएको हो। फेरि पनि झर्ने खतरा रहेको राम्दी प्रहरी चौकीका हवल्दार रामहादुर केसीले बताए। उनका अनुसार केही समय अघिदेखि यहाँ एकतर्फी सवारी सञ्चालन भएका छन्।

यस्तै, तानसेन–गुल्मी सडकखण्डअन्तर्गत रिब्दीकोट गाउँपालिका–३ मालमुलमा पहिराले सडक अवरुद्ध भएको छ। गएराति देखिनै सडक अवरुद्ध भएको हार्थोक प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णु रेग्मीले बताए। उनका अनुसार माथिबाट पहाड नै खसेकाले सडक सञ्चालन गर्न कठिन भइरहेको छ। अहिले जेसिबीले पहिरो पन्छाउने काम भइरहेको उनले बताए। सडक अवरुद्ध हुँदा बिरामी बोकेका एम्बुलेन्ससहित कैयौं सवारी साधनर यात्रु बीच बाटोमै अलपत्र परेका छन्। अविरल वर्षा भइरहेकाले पहिरो पन्छाउन समय लाग्ने उनले बताए।

यता आर्यभञ्ज्याङ–रामपुर सडकखण्ड पनि अवरुद्ध छ। रम्भा गाउँपालिका–४ हुमिन बजार नजिकै पहिराले सडक अवरुद्ध भएको ताहुँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भोला कुँवरले बताए। उनका अनुसार अहिले पहिरो पन्छाउने कार्य भइरहेको छ। यो सडक तीन दिनदेखि अवरूद्ध भएको उनले बताए। यस सडकखण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो गएको छ। रामपुर नगरपालिकाअन्तर्गत जबगादीक्षेत्रमा पनि पहिराले सडक अवरुद्ध भएको छ।

चार दिनदेखि पाल्पामा अविरल वर्षा भइरहेको छ। ठाउँ ठाउँमा पहिरो गएको छ। ग्रामीण भेगका प्रायः कच्ची सडक पहिरो र खोलाले अवरुद्ध भएका छन्। मानवीय क्षत्री समेत भएको छ। मंगलबार माथिबाट झरेको पहिराले घर पुरिंदा रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानस्थित मन्छिपका १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको छ। यहाँ केही घरसमेत पहिराको जोखिममा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.