|

गोरखा : लगातार तीन दिनदेखि परेको वर्षाका कारण आएको बाढीपहिरोले गोरखामा १७ घरपरिवार विस्थापित भइसकेको छन्।

जिल्ला प्रहरी कार्यालय गोरखामा हालसम्म प्राप्त जानकारीअनुसार गोरखाका विभिन्न स्थानीय तहका घरपरिवार विस्थापित भएका हुन्।

प्रहरीका अनुसार हालसम्म धार्चे गाउँपालिकाका १० घर, चुमनुब्री गाउँपालिकाका ४ घर, बारपाक सुलिकोट गाउँपालिकाका २ घर र भिमसेन थापा गाउँपालिकाका १ घरपरिवार विस्थापित भइसकेका छन्।

चुमनुब्री गाउँपालिका ३ सल्लेरीका विस्थापित चार घरपरिवारका सदस्यहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिसकेको गोरखा प्रहरी प्रवक्ता डिएसपी प्रकाश दाहालले जानकारी दिए।

‘त्यहाँका चार घरका १८ जनालाई स्थानीय आमा समूहको भवनमा राखिएको छ’, उनले भने।

बाढीले बगाएर एकको मृत्यु

गोरखामा बाढीले बगाएर बेपत्ता भएका बर्दियाको राजापुर नगरपालिका ७ का ३८ वर्षका गोविन्द चौधरीको शव फेला परेको छ। बुधबार बिहान चौधरीको शव  आरुघाटस्थित  मान्द्रेथोकको खोलामा ढुङ्गाको चेपुवामा फेला परेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान करिब साढे आठ बजे आरुघाट गाउँपालिका २ स्थित ठोटनेरी खोला तर्ने क्रममा चौधरीलाई बाढीले बगाएको थियो। उनी केही समयदेखि गोरखाको आरुघाटमा मजदुर काम गर्नका लागि आएका थिए।

सडकखण्ड अवरुद्ध

लगातार परेको वर्षाका कारण गोरखाको दुई सडकखण्ड अबरुद्ध भएका छन्।

मझुवादेखि मनकामना जाने सडक र बाह्रकिलोदेखि बारपाक जाने सडक पहिरोका कारण अवरुद्ध भएको गोरखा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मझुवादेखि मनकामना सडक खण्ड अन्तरगत शहिद लखन गाउँपालिका वडा नं ३ को नयाँपुलमा मंगलबार बेलुकी करिब ५ बजे खसेको पहिरोका कारण १० मिटर सडक अवरुद्ध भएको छ। त्यहाँको सडक तत्काल सन्चालमा ल्याउनका लागि नयाँ ट्रयाक खोल्नुपर्ने देखिएको डिएसपी प्रकाश दाहालले बताए।

बाह्रकिलोदेखि बारपाक सडक अन्तरगत बारपाक सुलिकोट गाउँपालिका ४ झोलुङेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सो ठाउँमा करीब ९० मिटर सडक बगाएकोले नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था देखिएको डीएसपी दाहालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.