प्राचीन समयमा कुरूप देखिएर महिला हिंसा रोक्न ट्याटु खोपिन्थ्यो

|

जनकपुरधाम : अहिलेको आधुनिक युगमा युवा-युवतीमाझ गोदना अर्थात ट्याटु लोकप्रिय भएको देखिन्छ।

मध्यकालमा महिलाहरूप्रति बढ्दै गएको हिंसाबाट बच्न सौन्दर्य बढाउने खालका नभई कुरूप बनाउने शृंगारका रूपमा प्रचलित गोदनाको अचेल सौन्दर्यताको लागि प्रयोग गर्दै व्यावसायिक माग बढेको पाइन्छ।

अचेल ग्रामीण क्षेत्रमा भन्दा पनि शहरी क्षेत्रका युवायुवतीसमेत यसलाई ट्याटु भन्दै शरीरको विभिन्न अंगमा बनाउन तम्सेको देखिन्छ।

 गोदनामा छालामा छिद्र जस्तो पारेर नीर वा कोइला हालेको पानीमा डुबाइएको सियोले खोपेर शरीरमा शृंगारका निमित्त विभिन्न चित्र, नाम र बुट्टा बनाउने गरिन्छ।

गोदनाको प्रसंगमा मिथिलामा अनेक अवधारणाहरू पाइन्छ। कामुक राजाबाट बच्नका लागि गोदनाको सुरुवात भएको समेत बताइन्छ।

इतिहासकारहरूका अनुसार तत्कालीन राजाहरूबाट आफ्ना छोरी, बुहारीलाई बचाउनको लागि यस परम्पराको सुरुवात गरिएको हो। शरीरमा गोदना जानीजानी कुरूप बनाउनकै लागि बनाउने गरिन्थ्यो रे, जसले गर्दा ती राजाहरूबाट त्यस स्त्रीमाथि आफ्नो कुदृष्टि नबनाओस्।

खासगरी कथित तल्लो जातका सुन्दर महिला तथा युवतीहरूलाई कथित उपल्लो जातका जमिन्दार वा ठूलाबडाहरूले यौनहिंसा गर्ने गरेपछि सुन्दर महिला तथा युवतीहरूलाई कुरुप बनाउन यसको चलन चलाइएको बताइन्छ।

मिथिलामा गोदनाको परम्परा

गोदना मिथिला जस्तो निर्धन क्षेत्रमा नारीको लागि सस्तो र सर्वसुलभ शृंगारको साधनको रूपमा रहेको पाइन्छ। गोदना बनाउने बेलामा निकै पीडा हुने गर्दछ।

यसबाट बच्नको लागि विभिन्न आकर्षक लोकगीतहरू पनि गाउने चलन छ। मिथिलामा गोदनाका क्रममा शृंगारिक गीत यसरी गाइन्छ–

गोरी कहाँ गोदौला तोहुँ गोदना

बहियाँ गोदौलो, छयियो गोदौलो

पियाके पलङग पर रोदना

गोरी कहाँ गोदौला तोहँ गोदना।।

अर्थात् प्रिय कहाँ गोदना बनायौं, यता प्रेमीलाई कष्ट भएको छ।

गोदनाको बेला सृजना पीडालाई न्यून गर्ने मुख्य गीतको ध्येय हुने भएकाले यस्ता गीतले गोदनाको असह्य पीडालाई प्रेमीको मीठो सम्झनामा लीन गर्न गरेको यो गीतले स्पष्ट गर्दछ –

जान, वइसि रे गेलइ चन्दन बिरिछिया रे जान

घरसँ बाहर भेली सुन्दरीपुतहुवा रे जान

जान, हमहुँ सासु गोदना गोदवए रे जान

बाँहिया गोदनके पुतहुँ सोनेके कङ्गनमा रे जान

जान, छतिया गोदनके तोहरो ललनमा रे जान।।

गोदना स्मृतिका लागि पनि गरिने परम्परा रहेको छ। आफनो प्रिय व्यक्तिको रूपमा गोदना गर्ने परम्परा पनि देखिन्छ। त्यस्तै, धार्मिक व्यक्तिहरूले समेत आफ्ना पूजनीय देवताहरू राम, कृष्णा, हनुमान, दुर्गाका आकार तथा भक्तिपद गोदनाद्वारा अंगमा अंकित  गराएको पाइन्छ।

गोदना अंगमा गरिने भएकाले यसलाई अंग लेखन पनि भनिन्छ। हुन त यसको प्रारम्भका सन्दर्भमा निश्चित तथ्य अहिलेसम्म फेला नपरे पनि यो एउटा कला भएकाले कलाहरूको विकाससँगै यसको विकास भएको र कालान्तरमा यसलाई केही समूहद्वारा व्यावसायिक रूपमा अङ्गीकार गरेको अनुमान गरिन्छ।

आधुनिक सुविधा सम्पन्न युगमा यो कष्टकर परम्पराबाट कतिपय समुदाय विमुख भएको पनि पाइन्छ। तथापि आदिवासी क्षेत्रमा अहिले पनि जीवित देखिन्छ।

कुनै पनि सामाजिक जीवनको संरचनामा केही मौलिक तहको महत्वपूर्ण हात हुन्छ। जसले सम्पूर्ण जीवनशैलीलाई एउटा निश्चित धारतिर डोर्‍याइरहेको यथार्थलाई पनि गोदनाको अवधारणाबाट बुझन सकिने कुरा यस गीतले पस्ट गर्दछ –

गोर देहमे गोदना

कारी देहमे गहना’

अर्थात् गोरो जिउमा गोदना र कालो जिउमा गहनाले मानवद्वारा निर्मित मानवीय स्वभावको दिग्दर्शनको बोध गराउँछ।

यसको अतिरिक्त मिथिलामा गोदनाको पृष्ठभुमिमा एउटा अर्को भनाइ पनि रहेको छ। डोम जातिका युवतीहरूलाई मुगल सम्राटहरू (मुश्लीम) तथा अन्य शोषक सामान्तहरूको शिकार हुनुपर्दथ्यो। तिनीहरूबाट बच्नको लागि डोमहरूले सुँगुर पालन गर्ने र गोदना बनाउने सुरुवात गरेको हो। सुँगुर पालेको कारण मुश्लिमहरूले घृणा गर्ने र गोदनाको कारण कुरूप देखिने हुँदा तिनीहरूप्रति आकर्षण नहुने भएको र पछि गएर गोदनाको सुरुवात शृंगारको साधनको रूपमा हुन थालेको हो।

त्यही लोक शृंगार गोदना आज–भोलि शोख र सौन्दर्य बढाउने माध्यमका रूपमा स्वीकार गरिएको देखिन्छ।

गोदना प्रसंगमा मिथिलामा एउटा यस्तो अवधारणा पनि छ कि यो एउटा पवित्र गहना हो ‘जुन मृत्युपश्चात् सबै आभूषण खोले पनि मृत्युसँगै शरीरमा रहिरह्ने गोदना मात्र हो, यो गोदना मानिसको शरीरसँगै जान्छ।’

संस्कृतविद् लालबाबु झाका अनुसार जसको शरीरमा गोदना हुन्छ त्यो स्त्री पतिको अत्यन्त प्रिय हुन्छ र स्त्रीले पतिबाट अधिक प्रेम पाउँछिन् भन्ने अवधारणासमेत रहेको छ। झाले स्त्रीहरूले मिथिलामा प्राचीन कालदेखि नै यसलाई स्थायी शृंगारका रूपमा स्वीकार गरेको कारण एउटा पेशा नै गोदना खोप्ने-घोच्नेहरूको हुन पुगेको बताउँछन्। 

मिथिलाञ्चलमा आदिवासी जनजाति समुदायहरूमा गोदना ज्यादै लोकप्रिय रहेको छ। विशेष रूपले थारू, दनुवार एवं अन्य स्त्रीगणमा यो प्रथा अधिक देखिन्छ। गोदनाका सन्दर्भमा आदिवासी जातिमा ‘जसको अंगमा जति गोदना हुन्छ , त्यो स्त्री उति नै साहसी र निर्भिक हुन्छ’ भन्ने धारणा रहेको छ।

अधिक कष्ट भए पनि चाहना घटेको छैन

यसका साथै गोदना सौन्दर्य वृद्धि र ऐश्वर्य वृद्धिसमेत गर्दछ भन्ने अवधारणाका कारण कुमारीले पनि गोदनालाई शृंगारका रूपमा स्वीकार गरेको वयोवृद्ध शिक्षाविद् रमापति चौधरी भन्छन्, ‘उनले गोदना आदिम कालमा एउटा शृंगार प्रशाधन भएकाले गोदनाका क्रममा अधिक कष्ट भए पनि यसका आकर्षणबाट टाढा नहुने चाहनामा कमी नआएको हो।’

हुन त आधुनिकताको चपेटामा लोकजीवन परे पनि गोदना शृंगारका रूपमा अहिले विश्वव्यापी रुपमा सौन्दर्यको प्रतीक बन्न पुगेको देखिन्छ।

कतिपय क्षेत्रमा यो परिवर्तित रूपमा देखिन्छ। यो लोककला हो, हाल विश्वव्यापी भएर व्यावसायिक रूपमा धारण गर्न आफ्नो प्रवाहमान स्वरूपको परिचय दिइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.