|

काठमाडौं : सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार कारोबार रकम र सूचक दुवैमा गिरावट आएको छ।

नेप्से १६ अंकको गिरावटसहित २८४३ विन्दुमा झरेको छ। २० अर्ब नजिक पुगेको कारोबार रकम पनि बिहीबार ७ अर्ब रुपैयाँमा सीमित भएको छ।

आजको कारोबार रकम पछिल्लो डेढ महिनाको अवधिमा सबैभन्दा कम हो। यसअघि गत वैशाख अन्तिम सातातिर दैनिक कारोबार रकम चारदेखि ६ अर्ब रुपैयाँमा सीमित भएको थियो। त्यसपछि दैनिक २० अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम दिनदिनै ओरालो लाग्दै सात अर्ब रुपैयाँ सीमित भएको हो।

मंगलबार एकैदिन करिब ८० अंकले बजार उकालो लागेको थियो। तर बुधबार र बिहीबार गरी झन्डै ९० अंकले बजार ओरालो लागेको छ। बिहीबार २१९ कम्पनीको एक करोड २४ लाख कित्ता सेयर सात अर्ब तीन करोड रुपैयाँमा किनबेच भएका छन्।

२७ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी नौ कम्पनीको मूल्य स्थिर रहँदा बाँकी कम्पनीको घटेको छ। बिहीबार माथिल्लो तामाकोशीको सेयर मूल्य १० प्रतिशतले बढेपनि अन्य कम्पनीको सेयर मूल्य २÷३ प्रतिशतभन्दा धेरै बढ्न सकेन।

त्यस्तै, न्याग्दी ग्रुप, नेपाल इन्स्योरेन्सको सेयर मूल्य भने अधिकतम ५/५ प्रतिशतसम्म घटेको छ। होटल तथा पर्यटन र जलविद्युत समूह हरियो भएपनि बाँकी सबै उपसमूह रातो भएका छन्। जीवन र निर्जीवन बीमा समूह सर्वाधिक १५० अंक हाराहारी घटेका छन्।

नेपाल पुनर्बिमा कम्पनीको बिहिबार पनि सर्वाधिक ३७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल इन्स्योरेन्सको ३५ करोड, माथिल्लो तामाकोशीको २८ करोड ९२ लाख, नेशनल हाइड्रोपावरको २२ करोड ८० लाख र एचआइडिसिएलको १९ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.