कपिलवस्तु : जिल्लामा गैर कानुनी रुपमा एक दर्जन बढी अस्थायी प्रकृतिका इँटा भट्टा सञ्चालनमा रहेका छन्। कानुनी रुपमा यस्ता इँटा भट्टा सञ्चालनमा बन्देज गरिएको भए पनि अटेरी गरेर यस्ता १० वटा उद्योग सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ।
कार्यालय प्रमुख मनोज सैनीले यस्ता भट्टाहरुलाई बन्द गर्न पटक पटक निर्देशन दिए पनि सञ्चालकले अटेर गर्ने गरेको गुनासो गरे। ‘हामीले २ बर्ष देखि नै अस्थायी भट्टा बन्द गराउन धेरै प्रयास गर्यौं तर अझै १० वटा भट्टाले टेरेका छैनन्’ उनले भने।
आफूहरुले ती भट्टा सञ्चालकहरुलाई पटक पटक कार्यालयमा हाजिर हुन दिएको निर्देशनलाई पनि अटेर गर्ने गरिएको कार्यालय प्रमुख सैनीले बताए। ‘हामीले बन्द गर्न निर्देशन दिन्छौं, तर राजनीतिक दलको आडमा सञ्चालकले हामीलाई टेरेका छैनन्’ उनले भने।
महाराजगंज नगरपालिकामा यस्ता इँटाभट्टाहरु बढी रहेका छन्। महाराजगंजमा लक्ष्मी इँटा भट्टा, शक्ति इँटा भट्टा, मनकामना, र पुष्पा इँटा भट्टा गैरकानुनी रुपमा सञ्चालन भएका छन्। त्यस्तै यसअघिको बासखोर गाविसमा रहेको जयमातादी, रहमान र बिनय, परसोहियामा रहेको ओम, थुन्हीयामा रहेको न्यु ज्योति, र तिर्तिखीमा जे एण्ड वाई इँटा भट्टा पनि गैरकानुनी रहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ।
घरेलु तथा साना उद्योग विकास समितिले यस्ता उद्योग १० वटामात्रै रहेको बताएपनि इँटा व्यवसायी संघका अनुसार यसरी अवैध रुपमा सञ्चालन हुने इँटा भट्टा अझै बढी छ। अस्थाय प्रकृतिका चिम्निमा काँचा दाउरा र टायरले इँटा पोल्ने गरिएकाले वातावरणमा धेरै प्रभाव पारेको भन्दै रोक लगाइएको हो।
अस्थायी चिम्नीका भट्टाले अत्यधिक धुवाँ फाल्ने गरेकोले मानवीय स्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्यकर्मीको भनाइ छ। इँटा व्यवसायी संघ कपिलवस्तुका जिल्ला अध्यक्ष अल्ताफ हुसेनले घरेलु कार्यालयले नै लचकता देखाएकाले उद्योगीहरुले अटेर गरेको आरोप लगाए। ‘७ वर्ष अघि लागू भएको नियम अझैसम्म पूर्ण रुपमा कार्यान्वयनमा नआउनु दुःखद कुरा हो, ती भट्टाहरुलाई घरेलुले चाँडै बन्द गराउनुपर्छ’ उनले भने। नियमको अटेर गर्न केही भट्टाहरुले गर्दा आफूहरुको समेत बदनामी भएको हुसेनले गुनासो गरे। ‘अस्थायी भट्टा बन्द गराउने जिम्मेवारी घरेलुको हो, उसैले कडाई गर्नुपर्छ’ उनले भने।
महाराजगञ्ज गाउँ जाने बाटो छेउमा रहेको टिनको चिम्नी जडित लक्ष्मी इँटा उद्योगका संचालक संजय अग्रहरिले अझै जिल्लामा थुप्रै टिनका चिम्नी भएको भट्टा संचालनमा रहेको दाबी गरेका छन्। महाराजगञ्ज बजारको वरिपरि ४ वटा टिनका चिम्नी जडित भट्टा गैरकानुनी रुपमा सञ्चालित छन्। अहिलेसम्म घरेलु तथा अन्य कुनै पनि निकायले त्यस्ता उद्योगलाई बन्द गराउन पहल नगरेको अग्रहरि बताउँछन्। यता मायादेवी गाउपालिका–६, टोल मदरहवामा रहेको ए वान इटा उद्योगका संचालक सदानन्द कुर्मीले अन्य इँटा भट्टा कानुनी दायरामा आएमा आफूले पनि भट्टा बन्द गर्ने बताउँछन्।
उद्योग मन्त्रालयले आर्थिक बर्ष २०६७/६८ देखि नै फलामे बदामी चिम्नी जडित भट्टा प्रतिबन्ध लगाएको थियो। मन्त्रालयले वन तथा वातावरणमा प्रभाव पारेको भन्दै अस्थायी प्रकृतिमा भट्टालाई विस्थापित गरी सिमेन्टको फिक्स चिम्नी जडित भट्टा सञ्चालन गर्नुपर्ने नियम बनाएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले सरकारले रोक लगाएको त्यस्ता भट्टाहरु तत्कालै बन्द गर्नुपर्ने बताए।
उनले नियमको उल्लंघन गरी चलाइएका भट्टालाई अनुगमन गरी कारबाही प्रक्रिया समेत अघि बढाइने बताए। घरेलु तथा साना उद्योग विकास समिति, प्रहरी तथा प्रशासनको संयुक्त टोली चाँडै अनुगमन गरी भट्टा बन्द गराउने जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।