|

सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ। नगरपालिकाको भूगोल, पहिचान, जातजाति, भाषाभाषी, खानपान, रहनसहन, मौसम, पर्यटन, प्राकृतिक सम्पदा, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारसहितका विषय समावेश गरी पाठ्यक्रम तयार गरेको नगरपालिकाले जनाएको छ।

कक्षा ५ का लागि तयार पारेको पाठ्यक्रम  शुक्रबार पाठ्यक्रम निर्माण समितिका संयोजक एवं सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धव कुमार शर्माले नगर प्रमुख नाम्गेल जाङबु शेर्पालाई हस्तान्तरण गरे।

नगरपालिकामा सम्पन्न कार्यक्रममा बोल्दै संयोजक शर्माले साझा पाठ्यक्रम तयार भएको दाबी गरे। नेपाल सरकारको शैक्षिक नीतिअनुसार अन्य स्थानीय तहहरुले सिमित समुदायका भाषाभाषीमा आधारित स्थानीय पाठ्यक्रम तयार गरे पनि सबै क्षेत्रलाई समेट्ने गरी पाठ्यक्रम तयार गर्ने सोलुदुधकुण्ड पहिलो भएको शर्माको भनाइ छ।

यस्तै, नगर प्रमुख शेर्पाले सबै समुदाय, भाषा, जातजाति, भेषभूषालाई प्रतिनिधित्व हुने गरी विज्ञ व्‍यक्तिहरुको संलग्नतामा पाठ्यम तयार भएकाले बालबालिकाले स्थानीय ज्ञान सीप सिक्ने विश्वास व्यक्त गरे। तयार गरिएको पाठ्क्रम नगर शिक्षा समितिको बैठक बसेर अनुमोदन गरी यही शैक्षिक सत्रबाट लागू गरिने नगरपालिकाका शिक्षा अधिकृत गोपालराज भुजेलले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा शिक्षकहरुलाई अध्ययन गर्न दिइनेछ भने त्यसपश्चात्् पठ्यपुस्तक छपाइ गरी विद्यालयहरूमा पठाइनेछ।

हस्तान्तरण कार्यक्रममा नगरपालिकाकी उपमेयर कल्पना राई, प्रमुख प्रशासकीय अधिकृत लालबाबु कवारी, नगर प्रवक्ता शारदामाया तामाङ, विभिन्न वडाका वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यलगायत व्‍यक्तिहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.