|

सुर्खेत :  हालको प्रदेश अस्पताल २०३० सालमा जिल्ला अस्पतालको रुपमा स्थापना भएको थियो। त्यस समयमा अस्पतालको अवस्था निकै नाजुक थियो। भरपर्दो पूर्वाधार, विशेषज्ञ डाक्टर पनि थिएनन्।

त्यो समयमा अस्पतालमा प्राथमिक उपचारबाट मात्रै बिरामीहरूको उपचार हुने गरेको थियो।

तर, राजनीतिक घटनाक्रमसँगै वीरेन्द्रनगर तत्कालीन क्षेत्रीय सदरमुकामपछि अस्पतालको पनि स्तरोन्नति हुँदै गयो। सुर्खेतका छिमेकी जिल्लाहरू दैलेख, सल्यान र जाजरकोटका बिरामीहरूको लागि पायक पर्ने अस्पताल भएपछि २०६२ साल फागुन ७ गते क्षेत्रीय अस्पतालको रूपमा स्तरोन्नति भएको हो। त्यो समयमा ५० शैयाबाट सुरु गरिएको क्षेत्रीय अस्पतालले बिरामीहरूको उपचारमा भने सहजता दिने सकेन। अस्पतालको अवस्था बलियो थिएन।

विशेषज्ञ चिकित्सकको अभावमा क्षेत्रीय अस्पतालबाट नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा बिरामीहरू रिफर गर्नुपर्ने बाध्यता कायम रह्यो। आइसियु, एनआइसियु, भेन्टिलेटर जस्ता अत्याधुनिक उपकरणको अभाव हटेन। पूर्वाधार र जनशक्ति अभावबाट गुज्रिँदै अस्पतालले सेवा दिनुपर्ने अवस्था कायमै थियो। मुलुक संघीय संरचनामा गएपछि २०७५ साल कात्तिक १३ गते अस्पताल प्रदेश सरकार मातहतमा आयो। प्रदेश सरकार मातहतमा आएपछि भने अस्पतालको ठूलो फड्को मारेको छ।

प्रदेश सरकारको जवाफदेही र चिकित्सकहरूको अथक प्रयासपछि अहिले अस्पतालको अवस्था फेरिएको छ। अहिले आइसियु, एनआइसियु, भेन्टिलेटर, जटिल प्रकृतिका शल्यक्रिया, डाइलाइसिस, पत्थरीको उपचार, अत्याधुनिक एक्सरे जस्ता सेवाहरू अस्पतालबाट सम्भव भएका छन्।

‘प्रदेश सरकार मातहतमा आएपछि अस्पतालको स्वरूप नै फेरिएको छ’ अस्पतालका निर्देशक डाक्टर डम्बर खड्का भन्छन्, ‘अब कर्णालीका कोही पनि बिरामीलाई बाहिर पठाउनुपर्ने अवस्थाको अन्त्य गर्दैछौँ।’ अस्पतालमा प्रदेश सरकारले लगानी बढाएपछि भौतिक संरचना, अत्याधुनिक उपकरण र जनशक्ति थपिएको खड्काले बताए। ‘विशेषज्ञ सेवाकै लागि प्रदेश सरकारले वार्षीक साढे दुई करोड रकम दिँदै आएको छ’, उनले भने, ‘विशेष सेवाको बजेटबाट डाक्टरदेखि सुरक्षागार्डसम्मका जनशक्ति थपेका छौँ।’

क्यान्सरको उपचार कर्णालीमै

 अस्पतालका सूचना अधिकारी डाक्टर विकास केसीले आगामी दिनमा क्यान्सर जस्तो गम्भीर रोगको उपचार गर्नेगरी पूर्वाधार थप गर्ने तयारी भइरहेको बताए। ‘छिट्टै एमआरआई सेवा पनि थप गर्ने अस्पतालको योजना छ’, केसीले भने, ‘एमआरआई मेसिन आयो भने क्यान्सरको समेत उपचार गर्छौँ।’

अस्पतालमा हाल नाक, कान, घाँटीको अप्रेसन, टाउकोमा रगत जमेको, मासु पलाएको, मेरुदण्ड, ठूलठूला घाउको अप्रेसन, टेलिमेडिसियन, फिस्टुला, दुरबिनबाट पित्त थैलीको अप्रेशन जस्ता अत्याधुनिक सेवाहरू दिँदै आएको छ।

 हाल तीन सय शैय्‍याको रूपमा सञ्चालित अस्पताललाई आगामी दिनमै पाँचसय शैय्‍याको बनाउने लक्ष्य लिइएको छ। अस्पतालमै प्रदेश सरकारले शिक्षण अस्पतालका रुपमा स्तरोन्नति गर्ने योजना बनाएको छ।

५० लाखको स्वास्थ्य सामग्री सहयोग   

अस्पतालको नयाँ भवनमा थप विस्तार गर्न योजना रहेको अस्पतालले जनाएको छ। यसैबीच कांग्रेस महामन्त्री एवं पूर्व-गृहमन्त्री पूर्णबहादुर खड्काको पहलमा जिल्लामा रहेका अस्पताल तथा विभिन्न स्वास्थ्य चौकीहरूलाई ५० लाखबराबरको स्वास्थ्य सामग्रीहरू सहयोग गरेका छन्।

प्रदेश अस्पताल, आयुर्वेद अस्पताल, मेहलकुना अस्पताल, मैनतडा आयुर्वेद अस्पतालसहित जिल्लाका ४७ वटा स्वास्थ्य चौकी, तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा नगरपालिका र चार वटा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन्।

कर्णालीका अस्पताललाई आठ करोडको स्वास्थ्य सामग्री सहयोग

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजनाद्वारा कर्णालीमा आठ करोड बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ।

कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा रहेको आरटी पिसिआर प्रयोगशाला, रुकुम पश्चिममा रहेको प्रयोगशाला, दैलेख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ल्याबलाई बायोसेफ्टी क्याबिनेट तथा ल्यामिनार फ्लो हस्तान्तरण गरेको हो।

स्वास्थ्यको लागि सक्षम प्रणालीअन्तर्गत हालसम्म कर्णाली प्रदेशअन्तर्गत १० वटै जिल्लामा फ्रिज, सेन्ट्रीफुग मेसिन, अक्सिजन सिलिण्डर, पावर व्याकअप इकाई, अटोमटिक आरएनए इक्स्ट्राक्सन मेसिन, भर्टेक्स मेसिन, पिपिई सामग्रीहरू समेत सहयोग गरिएको छ।

परियोजनाका दीप नारायण सापकोटाले चालु आर्थिक वर्षमा परियोजनाले कोभिड इमरजेन्सी रेस्पोन्समार्फत ल्याब्रोटरी सहयोग गरेको बताए। उनले प्रयोगशालामा कार्यरत कर्मचारीहरू कोभिड संक्रमणबाट बचाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा राखेको बताए। साथै, स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच बढाउने र स्वास्थ्य प्रणाली सुधार गर्ने मुख्य उद्‍देश्य संस्थाको रहेको सापकोटाले बताए।

आठ करोड १५ लाख १९ हजार ८३२ रुपैयाबराबरका स्वास्थ्य सामग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले परियोजनाको सहयोग अत्यन्तै राम्रो रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.