|

काठमाडौं :  नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बिहान ११ बजे बस्दैछ। 

एमाले एकताका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका दोस्रो तथा युवा पुस्ताका नेताहरुले पार्टी एकताका लागि प्रयास गर्दै आएका छन्।  एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले आफूहरुले अझै पनि पार्टी एकताको पक्षमा जोड गरिरहेको बताएका छन्।  

आज बस्ने दशौं महाधिवेशन आयोजक कमिटीको बैठकको सन्दर्भमा पार्टीको आगामी कदमबारे  टुंगो लगाउन सकिने भनाइ नेम्वाङको छ। उनले विगतदेखि नै पार्टी एकता नभएसम्म दुवै पक्षबीचमा निरन्तर छलफल र संवाद जारी रहने बताएका छन्। 

यस्तै निवर्तमान मन्त्री एवम् एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टी एकताका लागि हर तहको प्रयास जारी रहने बताए। पार्टीमा शतप्रतिशत नेता, कार्यकर्ता समेट्ने लक्ष्य रहेको तर शतप्रतिशत नसमेटिए पनि अधिकतम् नेताहरु समेट्दै पाटी अघि बढ्ने तामाङले बताए। 

पार्टीको आगामी बैठक र कदमहरुबारे दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले नै तय गर्ने उनको भनाइ छ। नेपाल पक्षले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र आफ्नै पार्टीको बहुमतको सरकारलाई हराउने जस्ता पार्टीको विधान विपरीतका कामहरु प्रदेश सरकारहरुमा समेत फ्लोर क्रस गराउनेसम्मका कामहरु हुँदा समेत पार्टी अध्यक्ष ओलीले हदैसम्मको लचकता अपनाएर पार्टी एकता जोगाउन खोजेको तामाङले बताए। पार्टी अध्यक्षबाट पार्टीकै विधान विपरित नभएको भन्दै उनले भने, 'पार्टीको कारबाहीमा पर्नुभएको ११ जना नेताहरु बाहेक पार्टी र पार्टीको बैठकमा २ सय ५६ जना लाई बोलाइएको छ।'  

यस्तै मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीलाई २०७५ जेठ २ गते फर्काउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठकसमेत बोलाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीको भनाइ छ।

माधव नेपाल समूहले माओवादी केन्द्रसँगको एकतापूर्वको अवस्थामा फर्काउनुपर्ने अडान राखेको थियो। सर्वोच्च अदालतले पनि महाधिवेशन आयोजक कमिटीको वैधानिकतामा प्रश्न उठाएपछि पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय भएको हो।

हदैसम्म लचकता अपनाएर नेकपा एमालेलाई एकताबद्ध बनाउने प्रयासमा रहेको पार्टी अध्यक्ष ओली पक्षका नेताहरुले बताउँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.