|

काठमाडाैं : बंगलादेशमा आज देखि १४ दिन कडा लकडाउन जारी गरिएको छ। कोरोना महामारीले आक्रान्त बंगलादेशले थप कडाइसहित लकडाउन गरेपछि आप्रवासी मजदुरहरूका लागि थप समस्या उत्पन्न भएको छ।

लकडाउनबाट जोगिन श्रमिकहरू राजधानी ढाका छोडिरहेका छन्। ति कामदारले मोटरसाइकल, अटो रिक्सा, ट्रक र एम्बुलेन्सको सहारामा राजधानी छोडेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

कामदारहरूले लकडाउनको क्रममा आफूहरूले रोजगार गुमाएकाले खानादेखि बस्नसम्म समस्या भएर राजधानी छोड्न लागेको बताएका छन्। 'हामी थप समस्या भोग्न सक्ने अवस्थामा छैनौं। त्यसैले गाउँ फर्किदै छौं', एक कामदारले भने।

बंगलादेशमा सार्वजनिक यातायात सेवाहरू २३ जुनदेखि रोकिएको छ। यस्तो अवस्थामा ढाका छाड्न मजदुरहरूको भीड छ। उनीहरूले डुंगाको सहारा लिएका छन्। उनीहरूको सेवामा २४ घण्टा डुंगा संचालनमा छन्। जसको क्षमता भन्दा मानिसहरूलाई सवार गरिरहेका छन्।

मुन्शीगंज बन्दरगाहमा तैनाथ सब इन्स्पेक्टर मोहम्मद रजा भन्छन्, ' हामी क्षमता भन्दा बढी सवारी गरेको चाहदैनौं, तर कामदारहरूले हाम्रो कुरा सुन्न चाहदैँनन्। उनीहरू जसरी पनि राजधानी छोड्न चाहन्छन्।'

सरकारद्वारा सञ्चालित बंगलादेश इनल्याण्ड वाटर ट्रान्सपोर्ट कर्पोरेशनका एक अधिकारीले यो हप्तामा ५ लाख भन्दा बढीले राजधानी छोडेको बताए। लामो समयदेखिको लकडाउनले शहरमा खाध्यान्न संकट पैदा भएको छ।

मजदुरहरूको पलायनको अवस्था देखेर बंगलादेशले १५ दिन भारतसँगको सिमाना पनि बन्द गरेको छ। सरकारले कामदारहरू रोजगारीको खोजीमा भारत जाँदा थप समस्या बन्न सक्ने आंकलन बंगलादेश सरकारको रहेको छ।

पछिल्लो समय बंगलादेशमा डेल्टा भेरियन्टका कारण कोरोनाका घटना बढेका छन्।  बंगलादेशमा पछिल्लो २४ घण्टामा ८ हजार ३६४ संक्रमित देखिएका छन्।

जुन १५ महिनाको अवधिमा सबैभन्दा बढी हो।  बंगलादेशमा ८ मार्च २०२० मा कोरोनाको पहिलो केस देखिएको थियो। हालसम्म बंगलादेशमा ८ लाख ९६ हजार ७७० संक्रमित भएका छन् भने १४ हजार २७६ ले ज्यान गुमाएका छन्। ८ लाख ७ हजार ६७३ मुक्त भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.