|

सिन्धुपाल्चोक : बाह्रविसे नगरपालिका—८ मानेश्वाँरामा रहेको गोल्मा भिमसेन मन्दिर जिर्णोद्वार सुरु गरिएको छ। करिब ७५ लाखको लागतमा जिर्णोद्वार सुरु भएको हो।

वि.सं. १९११ सालसम्मको दस्तावेज भएको मन्दिर पुरातत्व विभाग र पर्यटन मन्त्रलायको सहयोगमा जिणोद्वार सुरु भएको हो। पुरातत्व विभागबाट प्राप्त ६९ लाख रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ। यस्तै, पर्यटन मन्त्रालयबाट विनियोजित चार लाख रुपैयाँले मन्दिर संरक्षणको लागि पर्खाल लगाउने काम पनि सम्पन्न भएको गोल्मा भिमसेन मन्दिर संरक्षण समिति अध्यक्ष गौरीशंकर नेपालले बताए।

वि.सं. १८१५ मा नै काब्रो भन्ने रुखको फेदमा गोल्मा भिमसेन, बासुकी नाग र सेतीदेवीको पूजा गर्न थालिएको स्थानीयवासीको भनाइ छ। त्यस समयमा तत्कालीन तालुकेले मन्दिरको संरक्षणका लागि ३० रोपनी खेत समेत दिएर गुठी बनाइएको छ। त्यसपछि लगातार पूजाआजा हुँदै आएको स्थानीयहरु बताउँछन्। 

वि.सं. १९११ सालमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा दुगुनागढीबाट चिनियाँ फौजसँग लडाइँ गर्न जाँदा उक्त मन्दिरमा भाकल गरेको र लडाइँ जितेर फर्केपछि मन्दिरमा नियमित पूजाआजा गर्न लगाई ३० रोपनी थप खेतको व्यवस्था गरिदिएको दस्तावेज भेटिन्छ। 

मन्दिर जिर्णोद्वारसहित करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको स्थानलाई बहुपयोगी रुपमा पूर्वाधार विकास गर्ने योजना समेत समितिको छ। त्यहाँ भवन निर्माण गरी अपाङ्गमैत्री तालिम केन्द्र, बालबाटिका, वृद्धवृद्धा आरामस्थल र प्राकृतिक विपत्तिमा परेकाहरुलाई अस्थायी आवासको रुपमा समेत विकास गर्ने लक्ष्य उनीहरुको छ। आवश्यक आर्थिक व्यवस्था भइ सोचेअनुरुपको पूर्वाधार निर्माण हुन सकेमा अपाङ्गता भएका आफूजस्ता व्यक्तिहरुलाई धेरै खुसी लाग्ने स्थानीय गोविन्द नेपालले बताउँछन्।

मन्दिर निर्माणका लागि केही जमिन समितिका अध्यक्ष नेपालले दान समेत दिएका छन्। नियमित पूजा भइरहेको मन्दिरमा गुठीको जग्गा कमाउनेले पछिल्लो समय अन्न नदिएकाले संकटमा पर्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.