|

हेटौंडा : बुधबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले हेटौंडालाई काठमाडौसँग जोड्ने सबै सडकखण्ड अवरूद्ध भएको छ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देव दासका अनुसार पहिरोले कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–फाखेल, भीमफेदी–सिस्नेरी–दक्षिणकाली र भैसे–पालुङ–नौबिसे  सडकखण्ड अवरूद्ध बनेको छ।  

भीमफेदी गाउँपालिका–८ कोगटेमा गएको पहिरोले बाटो भासिँदा शुक्रबार रातिदेखि कान्ति लोकपथ अवरूद्ध बनेको छ। यस्तै, त्रिभुवन राजपथको हेटौंडा–भैंसे सडकखण्डअन्तर्गत भीमफेदी–१ बाघझोराको खोलाको बहाव बढ्दा बाटो अवरूद्ध बनेको दासले जानकारी दिए। बाघझोराको खोलामा लेदोसहितको ठूलो बाढी आएकाले बाटो अवरूद्ध भएको उनको भनाइ छ। त्यस्तैगरी भीमफेदी–९ अघोर, थाहा नगरपालिका– ६ खानीगाउँ, थाहा–१२ गैरीगाउँमा पहिरो जाँदा भैंसे–पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध बनेको छ।

भीमफेदी–६ साउनेखोल्सीमा बुधबारदेखि खसेको पहिरो पन्छाउन नसक्दा बाटो अवरूद्ध बनेको छ। निमित्त प्रहरी प्रवक्ता दासको अनुसार इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मीखोला र इन्द्रसरोबर– २ कुलेखानीमा पहिरो जाँदा भैंसे–भिमफेदी–फाखेल र सिस्नेरी सडक खण्ड पनि अवरूद्ध बनेको छ।

प्रहरी निरीक्षक दासका अनुसार चितवन–मुग्लिन हुँदै काठमाडौं जाने सडकखण्ड पनि अवरूद्ध भएकाले हेटौंडाबाट काठमाडौं जाने सबै सडक अवरुद्ध भएको छ। लगातारको वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको छ। पहिरो पन्छाएपनि बाघझोराको पानीको बहाब नघटेसम्म सडकसञ्जाल सञ्चालनमा आउन नसक्ने दासले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.