|

काठमाडौ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस  (कोभिड १९)ले व्यवसायका सबै क्षेत्र ठप्प छन्। सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै अन्य क्षेत्रमा चहलपहल बढ्दै गएको छ। अर्थतन्त्रको मुख्य मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्र भने अझैं पनि चलायमान हुन सकेको छैन। 

सरकारी तथ्यांक अनुसार पर्यटन क्षेत्रमा आबद्ध रहेका ८० प्रतिशत मजदुर कोरोनाका कारण बेरोजगार भएका छन् भने ६० प्रतिशत व्यवसायी पलायन हुने अबस्थामा पुगेका छन्। सरकारले चैत २०७६ देखि मुलुकभर लकडाउन गरेको थियो। त्यसयता देशभरका उद्योग,कलकारखाना, लगायतका ब्यवसाय बन्द भए। 

साथै आन्तरिक तथा बाह्य यातायात तथा उडान सबै पूर्णरुपमा ठप्प भए। आन्तरिक तथा बाह्य उडान सञ्चालन हुन पाएनन्। मानिसको आगमन र आवतजावतले संचालन हुने पर्यटन क्षेत्र  पूर्णरुपमा ठप्प भयो। जसका कारण पर्यटन क्षेत्र तत्काल उठ्न सक्ने अबस्था छैन। 

कतिपय व्यवसायी पर्यटन क्षेत्रलाई कसरी उठाउने भन्ने चिन्तामा छन् भने कतिपय पर्यटन क्षेत्रबाट पलायन नै भइसकेका छन्। नेपाल पर्यटन बोर्डका प्रवक्ता मणि लामिछानेका अनुसार ६० प्रतिशत व्यवसायी पर्यटन क्षेत्रबाट पलायन भइसकेका छन्। 

८० प्रतिशले गुमाए रोजगारी 

पर्यटन क्षेत्रलाई मुख्य पेसा बनाएर काम गर्दै आएका ८० प्रतिशत मजदुर यतिबेला बेरोजगार बनेका छन्। पर्यटन बोर्डका अनुसार क्षेत्र होटल, रेष्टुराँ, विमान सेवा, ट्राभल एण्ड टुर तथा ट्रेकिङ लगायतमा काम गर्नेहरु पर्यटन क्षेत्र ठप्प भएसँगै रोजगारी गुमाएका हुन्।

कोभिड अगाडि २ लाख ८३ हजारले यस क्षेत्रमा रोजगारी पाएका थिए। कोरोनाले ती मजदुरको रोजगारी खोसेको प्रवक्ता लामिछानेले बताए। उनी भन्छन्, ‘२० प्रतिशतले आधा तलब लिएर बसेका छन्, त्यो पनि समयमै तलब पाउने अबस्था छैन।’  

यसै बीचमा ४ सय ७३ वटा साना ठुला होटल बन्द भए। जसले गर्दा होटल व्यवसायको आम्दानी पूर्णरुपमा ठप्प भयो। पर्यटन विभागका अनुसार ३ हजार ७ सय ४३ ट्राभल एजेन्सी, २ हजार ७ सय ९७ ट्रेकिङ एजेन्सी, ४ हजार २ सय ४१ टुर अपरेटर र १७ हजार ६ सय २६ ट्रेकिङ गाइड लगायत पूर्णरुपमा ठप्प भए। त्यस्तै ६० प्रतिशत व्यवसायीले व्यवसाय नै छोडेको बोर्डको तथ्यांक छ। 

मासिक १० अर्ब क्षति 

कोरोनाका कारण मुलुकको अर्थतन्त्रको महत्वपूर्ण अंग मानिएको पर्यटन क्षेत्रले अर्बाै क्षति भएको छ। पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार पर्यटनसँग सम्बन्धित क्षेत्र होटल, रेष्टुराँ, विमान सेवा, ट्राभल एण्ड टुर तथा ट्रेकिङ लगायतका क्षेत्रबाट मासिक १० अर्ब घाटा भएको छ।

कोरोनाको पहिलो लहरको सुरुदेखि हालसम्म १४ महिना पुरा भइसकेको छ। १४ महिनामा कुल १ खर्ब ४० अर्ब पर्यटन क्षेत्रले क्षति बेहोरेको छ। त्यस्तै, पाँच तारे होटलले मात्रै मासिक ३ अर्ब हाराहारीमा घाटा बेहोरेका छन्।  

पर्यटकको संख्यामा कमि 

लामो समय बन्द रहेको आन्तरिक तथा बाह्य उडानका कारण पर्यटकको संख्यामा कमि आएको छ। नेपाल पर्यटन बोर्डका प्रवक्ता लामिछानेका अनुसार गत जनवरीमा ८ हजार ८ सय ७४, फेब्रअरीमा ९ हजार १ सय ४६,मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५० तथा मे मा १ हजार ४ सय ६८ जना पर्यटक नेपाल भित्रिएका थिए। मार्च र अप्रिलमा केही मात्रामा पर्यटक आगमन बढेको देखिन्छ। 

थलियो पर्यटन वर्ष
सरकारले २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने पूर्णतयारी गरेको थियो। पर्यटन वर्षका लागि सरकारले आन्तरिक तथा बाह्य तयारी पनि गरिरहेको थियो। २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। तर,कोरोनाको संक्रमणका कारण सरकारको योजना योजनामै सिमित बन्यो। 

कसरी गर्न सकिन्छ पुनर्जीवन ?

दोस्रो चरणको कोरोना भाइरस नसकिएको र तेस्रो चरणको भाइरस आइसकेको छ। यसले गर्दा चाँडै पर्यटन क्षेत्रमा सुधार गर्न सकिने अबस्था देखिदैन। १४ महिनादेखि ठप्प रहेको पर्यटन व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने चुनौतीको विषय बनेको छ। यतिबेला विदेशी पर्यटन नेपाल भित्र्याउने सम्भावना छैन। त्यसैले आन्तरिक पर्यटन प्रबर्द्धनमा जोड दिइरहेको पर्यटन बोर्डले जनाएको छ।

बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धन उद्देश्यले निजामती कर्मचारीलाई १० दिनको भ्रमण विदा दिन सरकार समक्ष सिफारिस गरेकाे थियो। सरकारले पनि आगामी आर्थिक वर्षदेखि उक्त विदा लागू गर्ने भएको छ। करिब ५ लाख सरकारी कर्मचारीले खर्च गर्दा पर्यटन क्षेत्रलाई टेवा पुर्याउने  बोर्डको भनाइ छ। 

रोजगारी गुमाएका मजदुरहरुका लागि युएनडिपीसँग समन्वय गरेर पर्यटन क्षेत्रका प्रभावित मजदुरका लागि छोटो अवधिको रोजगारी उपलब्ध गराउने तयारी गरिहेको छ। १६ सय मजदुरलाई ४० दिनको रोजगारी दिइने भएको छ। पर्यटनको हिसाबले मुख्यमुख्य क्षेत्र स्थानीय तहको समन्वयमा रोजगारी दिइने भएको छ। 

   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.