|

पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गर्ने निर्णय गलत रहेको बताएका छन्। 

उनले वर्तमान राष्ट्रपति जो बाइडेनले लिएको अफगान नीतिको पनि आलोचना गरेका छन्। अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता बोलाएपछिको परिणाम अविश्वसनीय रुपमा खराब निस्कने उनले दाबी गरेका हुन्।

बुशको टिप्पणी यस्तो बेलामा आएको छ, जतिखेर कट्टरपन्थी तालिबान अफगानिस्तानको राजधानी काबुलतर्फ अघि बढ्दैछ। स्थिति यस्तै रहे तालिबानले चाँदै अमेरिका समर्थित अफगानिस्तान सरकार विस्थापन गरिदिने उनले चिन्ता गरेका छन्। 

विदेशी सैनिक फिर्ता हुने घोषणा भएसँगै यतिखेर अफगानिस्तानमा तालिबान लगातार काबुलतर्फ अघि बढिरहेको छ। देशका कयौं जिल्ला तालिबानले कब्जामा लिइसकेको छ। छिमेकी देशको सीमामा रहेका चौकीहरू पनि तालिबानको कब्जामा छ। अफगान सरकार निरन्तर कमजोर भइरहेको बीबीसीमा उल्लेख छ। 

जर्ज डब्ल्यू बुशले जर्मनीको एक सञ्चारमाध्यमसँग भनेका छन्, 'अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता बोलाएर अमेरिकाले गल्ती गरेको मलाई लाग्छ। सैनिक बोलाएपछि अफगानिस्तानको अवस्था अविश्वसनीय रुपले खराब हुनेवाला छ।' 

बुश प्रशासनले सन् २००१ मा अफगानिस्तानविरुद्ध सैन्य अभियान शुरु गरेको थियो। सो अभियान मुख्यतः तालिबानको तानाशाहीविरुद्ध केन्द्रित थियो। 
अहिले अमेरिकी सैनिक अफगानिस्तानबाट फर्कन थालेको छ र त्यहाँ पुनः तालिबान जुर्मुराएको छ। 

बुशले मिडियासँगको कुराकानीमा अफगानिस्तानमा रहेका दोभाषेहरू र तिनका परिवारको निकै चिन्ता गरेका छन्, जसले २१ वर्षसम्म अमेरिका र नेटो सैनिकलाई प्रत्यक्ष सहयोग गरेका थिए। 

उनले भनेका छन्, 'यस्तो लाग्छ कि अमेरिकाले यतिखेर उनीहरूलाई त्यहाँ मर्नकै लागि छाडिदिएको छ। अबउप्रान्त उनीहरूलाई निर्दयी र नृशंस मानिसहरूबाट खतरा हुनेछ। उनीहरूबारे सम्झँदा मलाई निकै पीडा भैरहेको छ।'

बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले पनि तालिबानमा लगातार बिग्रँदै गरेको सुरक्षास्थितिप्रति चिन्ता व्यक्त गरेका छन्। किनकी, तालिबानले ८५ प्रतिशत भूभाग कब्जामा लिएको दाबी गरेको छ। 

मिडिया रिपोर्टहरूमा उल्लेख भएअनुसार तालिबानले गत एक साताभित्रै अफगानिस्तानको करिब १० प्रतिशत हिस्सा आफ्नो नियन्त्रणमा लिइसकेको छ। त्यहाँका ४०७ जिल्लामध्ये १९५ जिल्ला अहिले पूर्णतः तालिबानको कब्जामा छ। थप १२९ जिल्ला कब्जा गर्नेतर्फ तालिबान जुर्मुराइरहेको छ।

यस्तो स्थिति निम्तिँदा पनि अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुने गतिमा कुनै परिवर्तन देखिएको छैन। अमेरिकी प्रशासनका अनुसार सोमबार पनि अमेरिकी सैनिकको एक ठूलो जत्था अफगानिस्तानबाट फर्किएको छ।

अमेरिकाले यसअघि नै अगष्ट ३१ सम्ममा अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लैजाने जनाएको थियो। अघिल्लो बिहीबार सेप्टेम्बर ११ को हमलाको स्मरण दिवसका दिन पनि अमेरिकी राष्ट्रपति बाइडेनले अफगान सैन्य अभियान पूर्णतः समाप्त गर्ने बताएका थिए। 

यसअघि एक भाषणमा बाइडेनले तालिबानले पूरै अफगानिस्तान कब्जा गर्ने र सरकार चलाउने सम्भावना निकै कम भएको दाबी गरेका थिए। ७५ हजार तालिबान लडाकुले तीन लाख अफगान सेनालाई हराउन नसक्ने उनले तर्क गरेका थिए। 

बाइडेनले भनेका थिए, 'अफगानिस्तानको रक्षा गर्ने जिम्मेवारी अफगान प्रशासन र त्यहाँको सुरक्षा बलको हो। सवाल यो हो कि उनीहरूले यस्तो हिम्मत गर्न सक्छन् कि सक्दैनन्। अफगानिस्तानको भविष्य अब के हुन्छ भन्नेबारे अफगानिस्तानका नागरिकले नै राम्ररी निर्णय लिन सक्छन्।' 

पूर्व राष्ट्रपति बुशले अफगानिस्तान अभियान क्रममा अमेरिकालाई सहयोग गरेका दोभाषेलाई सुरक्षा प्रदान गर्न बाइडेन प्रशासन चुकेको र अब उनीहरूलाई विशेष प्रवेशाज्ञा कार्यक्रम ल्याउनुपर्ने बताएका छन्।

बाइडेनले भने अमेरिकालाई सहयोग गरेका दोभाषेमध्ये आधाजतिले मात्रै देश छाड्न चाहेको दाबी गरेका छन्। तर, ती अफगानी नागरिकलाई अस्थायी रुपमा कहाँ स्थानान्तरण गरिने भन्ने टुङगो लागेको छैन।

अप्रिलमा अफगानिस्तान अमेरिकी सैन्य अभियान समाप्त गर्ने घोषणा गर्दैगर्दा बाइडेनले यसबारे पूर्व राष्ट्रपतिहरू बाराक ओबामा र जर्ज डब्ल्यू बुशसँग कुराकानी गरेको बताएका थिए। 

त्यतिखेर पूर्व राष्ट्रपति ओबामाले बाइडेनको निर्णय सही भएको ठहर गरेका थिए। निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ती गर्न निर्णय एक सकारात्मक कदम भएको दाबी गरेका थिए। 

तर, बुशले भने यसबारे कुनै आलोचनात्मक टिप्पणी गरेका थिएनन्। जानकारहरूका अनुसार सत्ता छाडेपछि आफ्ना उत्तराधिकारीको कामप्रति टिप्पणी नगर्ने कदमलाई उनले पालना गरेका थिए। 

केहीअघि उनले अमेरिकी न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा बुशले तालिबानको पुनःउदयपछि अफगान महिला र किशोरीहरूले सबैभन्दा धेरै दुःख पाउने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.