|

म्याग्दी : कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधनहरु सञ्चालन गर्ने अनुमति स्थानीय प्रशासनल दिएको छ। तर, बाढी र पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन हुन सकेका छैनन्।

पहिरोले बेनी–जोमसोम सडकसहित म्याग्दीका भित्री सडकहरु अवरुद्ध भएका छन्। असारको सुरुवातसँगै परेको अविरल वर्षाका कारण झरेको पहिरोले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडकहरु अवरुद्ध भएका हुन्।

साउन १ गतेदेखि नै जिल्लाभित्र चल्ने सार्वजनिक यातायात खुला गरिए पनि जिल्लाका कुनै पनि ग्रामीण सडकमा बस चल्न सक्ने अवस्था नरहेको यातायात व्यवसायीहरुले बताएका छन्। म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष सुमन श्रेष्ठले आन्तरिक सार्वजनिक यातायातका साधनहरु खुला गरिए पनि बाढी र पहिरोका कारण अवरुद्ध भएकाले यातायातका साधनहरु सञ्चालन हुन नसकेका बताए। 

‘सार्वजनिक यातायात त खुला भयो तर सडक खुला गर्न सकिएन्। दिउँसो बनायो, राति पानी परेपछि पहिरो गएर सडक अवरुद्ध हुन्छ,’ श्रेष्ठले भने, ‘जिल्लाका प्रायः सबै ग्रामीण सडकहरु पहिरोले अवरुद्ध छन्। सार्वजनिक यातायातका साधनहरु सञ्चालन गर्न सकिएको छैन।’

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध हुँदा समस्या भएको छ। हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा माथिबाट पहिरो र तलबाट नदी कटानले गर्दा विभिन्न नौ ठाउँमा अवरुद्ध भएको छ। पश्चिम म्याग्दी र बाग्लुङका १४ वटा गाउँलाई जोड्ने बेनी–दरबाङ सडकको समस्या पनि बेनी–जोमसोम सडकको जस्तै रहेको यातायात व्यवसायीहरुले बताएका छन्। यहाँ सडक माथिबाट ढुंगासहितको पहिरो आउने र म्याग्दी नदीको कटानका कारण सडक भासिने गरेको छ।

बेनी–बरंजा, बेनी–पुलाचौर र बेनी–झीँ यी तीनवटा सडकबाहेक म्याग्दीका १७ वटा ग्रामीण सडक अवरुद्ध छन्। ६ किलोमिटर दूरीको बेनी–पुलाचौर सडक, ८ किलोमिटर दूरीको बेनी–बरंजा सडक र सात किलोमिटर दूरीको बेनी–झीँ सडकमा पनि साना यातायातका साधन मात्र सञ्चालन भएको अध्यक्ष श्रेष्ठका जानकारी दिए। पहिरोका कारण सडक साघुरिएकाले ठूला सवारी साधन सञ्चालन हुन नसेकेका उनको भनाइ छ।

सडक अवरुद्ध भएपछि टाढा–टाढा पुग्ने यात्रु बीच बाटोमा अलपत्र परेका छन्। पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ। वर्षा निरन्तर भइरहेका कारण रामाजर्गका सडक सञ्चालन हुन केही समय लाग्ने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.