|

काठमाडौं :  गैरआवासीय नेपाली संघ, स्पेनको आगामी कार्यकालको लागि यही जुलाई २६ तारिखमा हुने निर्वाचनमा युरोपका पत्रकार दीपेन्द्र गजुरेलले युवा संयोजकमा आफ्नो उम्मेदवारी दिएका छन्। 

उनी हाल पत्रकार महासंघ यूरोपका उपाध्यक्षसमेत रहेका छन्। समाजलाई गोलबद्ध गराउँदै खबरदारीसहित परिवर्तनको आशा बोकेका गजुरेलको पुर्ख्यौली थलो नुवाकोट हो भने काठमाडौं गोठाटारका स्थायी बासिन्दा हुन्। 

विगत ६ वर्षदेखि स्पेनमा बसोबास गर्दै आइरहेका गजुरेलले नेपालमा हुँदा एभिन्यूज टिभी, हिमालय टिभी, न्यूज २४ टिभी, माउन्टेन टिभी, आर्थिक अभियान राष्ट्रिय दैनिक, नेपाल समाचारपत्र दैनिक लगायत विभिन्न एफएम रेडियो तथा स्थानीय पत्रिकाहरूमा पत्रकारिता गर्दथे। 

६ वर्षे अवधिमा पनि उनले स्पेनमा रहेका नेपालीहरूको समस्या र अधिकारका लागि खबरदारी गर्दै निरन्तर कलम चलाइरहेका छन्। विदेशी भूमीमा पनि उनले नेपालीबीच एकता र अधिकारका लागि सक्रिय रूपमा काम गरिरहेका छन्।

यसपटक भने सामाजिक संस्थामा भएको चरम राजनीति, दलगत स्वार्थपूर्तिका कामहरूविरुद्ध एनआरएनए स्पेनलाई गोलबद्ध गरी समाजलाई एकताको सन्देश दिन नै आफूले उम्मेदवारी दिएको गजुरेलले बताएका छन्। 

उनले नेपालमा रहँदा पनि विभिन्न समाजिक संघ संस्थामा रहि निःस्वार्थ भावनाले सहयोग गर्दै सामाजिक उत्तरदायित्व बहन गरेका थिए। समाजलाई खबरदारी गर्न लामो समय पत्रकारिता पेशामा कलम चलाउँदै आएका उनले स्पेनका विभिन्न सामाजिक संघसंस्थामा रहेर पनि सामाजिक काममा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्।

उनले एनआरएनएलाई आर्थिक रूपमा बलियो, दिगो र पारदर्शी बनाउन आफुले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। एनआरएन समुदायकेन्द्रित कार्यक्रम नभएकोले यसले युवा पुस्ता तथा बालबालिकालाई आकर्षित गर्न नसकेको भन्दै उनले आफूले सिङ्गो टीमसँग मिलेर स्पेनमा बसोबास गर्दै आइरहेका नयाँ नेपाली पुस्ताका लागि काम गर्ने जनाएका छन्।

गजुरेलले आगामी जुलाई २६ तारिखमा अनलाइन माध्यमबाट हुने एनआरएनए स्पेनको निर्वाचनमा युवा संयोजक खुला पदमा आफूलाई मतदान गरी आफूले अघि सारेका योजनाहरू पूरा गर्ने बाटो खोलिदिन पनि आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.