'माउसुलीले झैँ पुच्छर फाल्नुपर्ने भयो'

|

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज बसेको आफूपक्षीय केन्द्रीय कमिटीको बैठकमा इतर पक्ष विरुद्ध निकै कठोर अभिव्यक्ति दिएका छन्‌।

​कांग्रेस, आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) देखि सर्वोच्च अदालतमाथि नै ओलीले कटाक्ष गरेका हुन्‌।

​आफूहरूलाई प्रतिगामी भएको हल्ला गर्दै प्रतिगमन भएको तर्क ओलीले गरेका छन्‌। उनले भनेका छन्‌, 'प्रतिगमनको हल्ला गर्दै गरिएको प्रतिगमन हो अदालतको फैसला। समयमै पलाएको एजेरू उखेल्न नसक्नु हाम्रो कमजोरी हो।'

माधवकुमार नेपाल वर्ग विरोधी

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ​कम्युनिष्ट विचार र जनताका उन्नति विरोधीसँग साँठगाँठ गरेको आरोप ओलीले लगाएका छन्‌।

'हरियो घाँसे मैदानजस्तो अदालतको आडमा लुकेर माधव नेपाल र प्रचण्ड हरेउ बनेर लागे,' ओलीले भनेका छन्‌, 'माधव नेपालले गरेको गद्दारी गिनिज बुकमै लेखिनेछ। अनि, अदालतको फैसला पनि संसारमै नयाँ रेकर्ड रहनेछ।'

'पुच्छर फाल्ने माउसुली बन्नुपर्ने भयो'

पार्टीभित्रको असन्तुष्ट पक्ष र विपक्षी दलहरूका कारण सर्वोच्चको फैसलाबाटै सत्ताच्यूत भएका ओलीले अब आफूहरू पुच्छर फाल्ने माउसुलीजस्तो बन्नपनि तयार हुनुपर्ने बताएका छन्‌।

​'माउसुलीले कहिलेकाहीँ पुच्छर फालदिन्छ। त्यो कारण उ आत्तिँदैन। किन कि पुच्छर तुरुन्तै पलाउँछ। अहिले पनि पुच्छर फाल्न परेपनि तयार हुनुपर्ने बेला आएको छ,' ओलीले भनेका छन्‌, 'अन्य विरोधी गोमन साँप जसरी फणा फिँजाएर आएका थिए, देखियो र राजपाको साथ लिएर कम्युनिष्ट सरकार बचाएँ।'

बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टीभित्रको इतर पक्षप्रति निकै कटाक्ष गरेका ओलीले आफूसँग अझैपनि आग्रह नभएको तर्क गरे। भने, 'म सँग अझै आग्रह छैन। म एकताको मोही अझै मथ्दैछु। सकभर उता लागेका सबैलाई आफ्नो राजनीतिक जीवन बचाउन, आन्दोलन बचाउन अनुरोध गर्दछु।'

पार्टी एकतामा आउने अन्तिम क्षण भएको भन्दै ओलीले एकतामा आउन, नत्र भोलि (बिहीबार) पुष्पलाल स्मृति दिवसको कार्यक्रम सकिएपछि ३ बजे फेरि बैठक बसेर उचित निर्णय लिने चेतावनी पनि दिएका छन्‌।

ओलीले देउवा र प्रचण्डलाई एमाले विभाजन गर्न अध्यादेश या राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउने असम्भव सपना नदेख्न सचेत गराउन चाहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.