|

सल्यान : सल्यानका छत्रेश्वरी गाउँपालिका–४ बस्ने युवाले सामूहिक बंगुरपालन सुरु गरेका छन्। विदेश गएका र विदेश जान पासर्पोट तयार बनाएका पाँच युवाले गत वैशाखबाट व्यावसायिक बंगुरपालन सुरु गरेका हुन्।

वैदेशिक रोजगारका लागि मलेशिया पुगेका लोकमान नेपाली, चित्रभाङ्ग नेपाली, नन्दलाल नेपाली र विदेश जान भनी पासर्पोट बनाई बसेका गणेश नेपाली र यमलाल नेपालीले सामूहिक बंगुरपालन सुरु गरेका हुन्।

गाउँघरका सबै साथीभाई विदेश जाँदा आफू पनि विदेश जाने सोचका साथ पासर्पोट बनाए पनि पासर्पोट बाकसमा थन्काएर बंगुरपालनमा लागेको गणेश नेपाली बताए। उनले भने, ‘वैदेशिक रोजगारीका लागि सबै विदेश गएपछि आफू पनि विदेश जाने सोचका साथ पासर्पोट बनाए तर विदेश गएका साथीहरूले विदेश नआउन आग्रह गरेपछि विदेश गएर फर्किएका साथीहरूसँग मिलेर बंगुरपालन थालेका छौं।’

घरपरिवारको खर्च धान्न विदेश गएको भए पनि विदेश सोचे भन्दा निकै फरक रहेको लोकमान नेपालीले बताए। उनले भने, ‘जागिरका लागि मलेशिया पुगियो, तर सोचेअनुसारको आम्दानी र काम पाइन। घरमा फर्केर केही गनुपर्छ भन्ने सोच आयो र बंगुरपालन सञ्चालन गरेका हौं।’

लेकबेसी कृषि तथा बंगुर फर्म नै दर्ता गरेर व्यवसाय सुरु गरेका युवाहरूसँग अहिले साना ठूला गरी ७० वटा बंगुर रहेका छन्।

आफ्नै गाउँघरमा व्यवसाय गर्न पहिलेदेखि मन भए पनि आर्थिक अभावले विदेसिनु परेको लोकमानले बताए। मलेशिया बस्दा आफूले स्वदेशको महत्व बुझेको बताए। सिप र परिश्रम गर्न सके विदेश जानु पर्दैन उनले बताए। प्राय युवा रोजगारीका लागि विदेश जाने गरेको बताउँदै लोकमानले भने विदेशमा गर्ने परिश्रम र लगानी स्वदेशमा गर्न सकियो भने नेपालमै पनि राम्रो आम्दानी गर्न सकिन्छ।

अब गाउँघरमै व्यवसायलाई बढाउँदै लैजाने सोच बनाएको अर्का युवा नन्दलाल नेपालीले बताए। बंगुरपालनले विदेशी भूमि बिर्साएको उनको भनाइ छ।  बंगुरलाई बढाएर दुई सय पुर्‍याउने सोचका  साथ काम गरी रहेको उनको भनाई छ। उनले भने ‘एकै थलोमा धेरै व्यवसाय गरेर आम्दानी गर्ने योजना छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.