काठमाडौं : यतिखेर सामाजिक सञ्जालका विभिन्न पेजहरूमा एउटा तस्बिरकाे निकै चर्चा भइरहेकाे छ। काेठाभित्र सेतो बोर्ड छ। बाेर्डमा एक जनाले केही लेखिरहेका छन्। त्यहाँ लेखिएका कुराहरू काठबाट बनेको स्ट्यान्डमा राखिएकाे एउटा क्यामेराले खिचिरहेको छ। बस्ने मुढामाथि ल्यापटप र कुर्सीमाथि किताब छ। याे दृश्य त्यही तस्बिरमा झल्किन्छ।
तस्बिरमा देखिने व्यक्त्री हुन् शिक्षक शिशिर कँडेल। कँडेल यसैगरी भर्चुअल माध्यमबाट पोखरास्थित ग्लोबल कलिजिएट स्कुलका विद्यार्थीलाई पढाउछन्। उनले कक्षा-९ १० र ११ मा विज्ञान विषय पढाउछन्।
नेपालमा दोस्रो लहरको कोभिड-१९ संक्रमण फैलिएपछि वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो। हालसम्म निषेधाज्ञा जारी छ। स्कुल बन्द छन्। भौतिक उपस्थितिमा पढाउने वातावरण नमिलेपछि सरकारले वैकल्पिक माध्यमबाट पढाउन भनेको छ।
विद्यार्थीलाई पढाउँदै कडेल
तर पनि कतिपय निजी होस या सामुदायिक स्कुलमा वैकल्पिक माध्यामबाट पढाइ भएको छैन। उनी भन्छन,‘हामी शिक्षक हौँ,जसरी भए पनि पढाउने हाम्रो कर्तव्य हो, जति नै दुख किन नहोस, हाम्रा विद्यार्थी यो समयमा पनि केही ज्ञान सिकुन् भन्ने मेरो इच्छा हो।’ उनको घर बर्दिया हो। उनी अहिले भने पोखरा महानगरपालिका वडा-३० मा बस्दै आएका छन्।
उनी २०५६ सालबाट नै पोखरामा बस्दै आएका छन्। एमएसी गरेका ४० वर्षका उनले शिक्षक पेशा अंगालेकाे २० वर्ष पुगेकाे छ। तर नेपालमा कोभिड देखिएपछि भने आफ्नाे पेशा चुनौतीपूर्ण बनेकाे उनले सुनाए।
‘कोरोनाले स्कुल बन्द छन,’उनले भने,‘शिक्षक पेशा लिएपछि जतिसुकै गाह्रो भएपनि पढाउनु नै पर्याे।’ उनका अनुसार स्कुलले क्यामेरा दिएको छ। लेख्नलाई बोर्ड दिएको छ।
शिक्षक शिशिर कँडेल
त्यही बोर्डमा लेख्छन्। अनि ती लेखेका वस्तुहरू क्यामेरामा कैद भई ल्यापटपमा फिट हुन्छ र गुगल मिडको लाइभमार्फत विद्यार्थी पढ्ने गर्छन। ‘घर छैन,डेरा लिएर बसेको छु,त्यसैले भित्तामा बोर्ड ठोक्न पाइदैन,बोर्ड भुईँमै राख्नुपर्छ,आफु पनि बसेरै लेखेर तीन घण्टा सम्म पढाउँछु,’कँडेलले सुनाए।
अनियमित बिजुली अवरुद्धले समस्या
कोभिड-१९ सँगै पछिल्लो समय देशभर विद्युत आपूर्ति अनियमित बनेकाे छ। यो समस्याबाट पोखरा पनि पछुतो छैन। शिक्षक कँडेल भन्छन,‘मेहनत गरी यसरी पढाइरहेका हुन्छौँ,त्यहीबेला झ्याप्प बत्ति जान्छ,अनि पढाइ नै प्रभावित हुन्छ।’ कहिले विद्यार्थी चाखका साथ पढाएको न सुनिदिँदा दुख लाग्ने गरेको पनि उनी बताउँछन्।
उनले भने,‘विद्यार्थीलाई पढाइरहेको हुन्छु, कोही विद्यार्थी कहिले हल्ला गर्छ त कहिले सुन्दैन, त्यसबेला धेरै दुःख लाग्छ।’ सरकारले शिक्षकका लागि ल्यापटप, नेट जस्ता आवश्यक सामग्रीहरूको व्यवस्थापन गरे पढाउन धेरै सहज हुने उनी सुनाउँछन्। भर्चुअल माध्यमबाटको पढाइ ५० प्रतिशत मात्र प्रभावकारी हुने पनि उनको भनाई छ।
‘यो महामारीमा त्यसै विद्यार्थीलाई राख्नु हुँदैन, त्यसैले जे जसरी सकिन्छ सिकाई नरोकौँ,’अन्तमा उनी शिक्षकहरूलाई थप सुझाव दिन्छन्। यस्तै माध्यमबाट सोही स्कुलमा पढाइरहेका छन् अर्का शिक्षक वेद शर्मा।
उनी कक्षा-९ १० र ११ का विद्यार्थीलाई गणित विषय पढाउँछन्। यो महामारीमा कोही विद्यार्थी पढ्नबाट बञ्चित नहोऊन् भनी प्रविधिको माध्यमबाट पढाएको उनी सुनाउँछन्।
‘पहिले स्कुलकै प्रधानाध्यापकले अनलाइन शिक्षा केही होइन भन्थे। शिक्षकहरू भने विदेशमा पढिरहेका विधि माध्यम हेर्थे। यस्तो माध्यामबाट राम्रो पढाइ हुन्छ भनेपछि प्रिन्सिपलले करिब ५० वटा क्यामेरा किनिदिनु भयो,’उनले भने,‘स्कुलमा झन्डै ५५ जना शिक्षक छौं। म अहिले राइडिङ ट्याबलेट माध्यमबाट पढाउँछु, हाम्रो यस्तो सिकाई देखेपछि अहिले अभिभावकहरू हाम्रो प्रशंसा गरिरहेका छन्।’
विद्यार्थी पनि भर्चुअल माध्यमबाट पढ्न अभ्यस्त भइसकेकाे शर्माले सुनाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।