|

सर्लाही : सर्लाहीको पश्चिम मध्यक्षेत्रमा पर्ने बरहथवा नगरपालिका र रौतहटको गढीमाई नगरपालिकाको जोड्ने बागमती नदीमा पक्की पुल बनेपछि डुंगामा चढेर नदी तर्नुपर्ने बाध्यता हटेको छ। संघीय सरकारको २९ करोड रुपैयाँ लागतमा साढे ७०० मिटर लामो पक्की पुल बनेपछि दुवै जिल्लाका वासिन्दालाई खोला वारपार गर्न सहज भएको हो।

बरहथवा–१५ पिप्राभित्ता र गढीमाई–१ समनपुर जोड्ने गरी निर्माण गरिएको पक्की पुलबाट नदीको आसपासमा खेती गर्न वारपार गर्नुपर्ने किसानसँगै साइकल, मोटरसाइकल र सर्वसाधारण ओहोरदोहोर गरिरहेका छन्। ठूलो क्षेत्रफलमा फिँजिएर नदी बगेको स्थानमा पक्की पुल बनेपछि दुवै जिल्लाका किसानलाई खोला वारपार गरी खेतबारीमा काम गर्न जान सहज भएको बरहथवा–२ का महेश बरालले बताए।

‘पुल नबन्दा वर्षायाम १५ मिनेटको बाटो तीन घण्टा लागाएर तय गर्नु पर्थ्यो,’ बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लखेन्द्र महतोले भने‚ ‘अन्य समयमा नदी वारपार गर्न डुंगाले प्रतिब्यक्ति ५० र मोटरसाइकल को १०० रुपैयाँ तिर्नु पर्थ्यो, अहिले पुल बनेपछि सजिलो भएको छ।’

पुल नहुँदा यसअघि आवातजावत गर्न असुरक्षित हुनुका साथै लुटपाट र अप्रिय घटना भएको महतोले बताए। अहिले पुल बनेसँगै मानिसको आवागमन बढेपछि ढुक्कसँग हिड्डुल गर्न पाएको उनको भनाइ छ।

पुल निर्माणको जिम्मा पाएका एलाइट जेभी कन्ट्रक्सन काठमाडौंका प्रतिनिधि अजय पौडेलले आगामी असोज महिनाभित्र सम्पूर्णकाम सम्पन्न गरी हस्तान्तरण गरिने बताए। दुई वर्षअघिनै निर्माण सम्पन्न हुनुपर्नेमा २०७६ सालमा आएको बाढीले पुलको ४० मिटर भाग बगाएको र कोभिडलगायत कारणले निर्माण सम्पन्न हुन ढिलो भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.