|

 कञ्चनपुर : महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण प्रकृया अघि बढाइएको छ।

तेस्रो लहरको कोरोना महामारी नियन्त्रण गर्न अस्पतालले चालु आर्थिक वर्ष २०७८/७९ मा बालबालिकालाई लक्षित गरी ९० लाख रुपैयाँ लागतमा ५० शय्यायुक्त अस्पताल भवन निर्माण गर्न लागेको हो।

भवन निर्माण गर्न निर्माणा सेवा कम्पनीसँग ठेक्का सम्झौता कार्य भैसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिएका छन्‌। 

उनका अनुसार बालबालिकालाई लक्षित गरी बनाइन लागिएको अस्पताल निर्माणकार्य असोज महिनाभित्रै सकिनेगरी समयसीमा निर्धारण गरिएको छ।  निर्माण हुने अस्पतालमा कोभिड संक्रमणमा परेका बालबालिकाको उपचार हुनेछ। 

उपचार निम्ति चिकित्सक, स्वास्थ्यकर्मी, औषधी, आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था मिलाइनेछ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले बाल चिकित्सा अस्पताललाई सुविधा सम्पन्न बनाउन विशेष प्राथमिकता दिएको छ।

बाल चिकित्सा कोभिड अस्पतालको आइतबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले शिलान्यास गरेका छन्‌।

​महाकाली अस्पतालमा यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ५० शय्याको आइसोलेसन भवन निर्माण गरेको थियो। अस्पतालमा बिरामीको चापका आधारमा एक सय शय्या थप गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.