|

विराटनगर :  तातो घाम। तालु पिल्सिने गर्मी। केही वर्ष अघिसम्म चहलपहल हुने मोरङको पथरी शनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविर यतिबेला चकमन्न छ।

पूर्वी नेपालका झापाको दमक नगरपालिकाको बेलडाँगी र मोरङको पथरी–शनिश्चरे शिविरमा रहेका भुटानी शरणार्थीहरूलाई अमेरिका, अस्ट्रेलिया र विभिन्न युरोपेली देशहरूमा पुनःस्थापना गरेपछि शिविर सुनसान भएको हो। 

परदेशिएका आफन्तहरूको सम्झनामा बाँचिरहेका बहादुर राई घर स्याहारसम्भार गर्दै गर्दा भेटिए। बाँसको टाटीले बारेको घर, बर्खामा पानी चुहिएला भन्ने डर। सँगै सुख–दुःख भोगेका आफ्नाहरू परदेशिएपछि एक्लिएको उनको परिवार त्यहीँ बस्दै आइरहेका छन्।

आफन्त अमेरिका जाने बेला जमिनको रेखदेख गर्नु भन्दै जिम्मा लगाएर हिँडेका रहेछन्। दैनिक ज्याला मजदुरी गरेर घर व्यवहार चलाइरहेका बहादुरलाई आजभोलि दाजुभाइ अमेरिका पुगेपछि आर्थिक भरथेग राम्रै भएको छ।

सबै आफन्त परदेशिए, उनीहरूकै सम्झनामा बस्नुपरेको छ। आफ्नो त उमेरले पनि डाँडा काट्यो। नेपाल सरकारले पहल गरे आफ्नै देश फर्किने इच्छा छ। तर के गर्नु! इच्छाएको सबै कुरा पुरा नहुने रहेछ।

उमेर ढल्कँदै गर्दा बहादुरलाई अचेल छाडि जाने आफन्त र आफू जन्मेको ठाउँको असाध्यै याद आउन थालेको छ। नेपाल सरकारले पहल गरिदिए अमेरिकाभन्दा पनि आफ्नै जन्मभूमि (भुटान) फर्कने इच्छा रहेको उनी सुनाउँछन्। ७० औँ वसन्त पार गरेका उनी भन्छन्, ‘अन्तिम सास आफू हुर्केको माटोमै त्याग्ने इच्छा छ।’

पाको उमेर। भाषाको समस्या। आफ्नै पुर्खाको देशमा पराइको व्यवहार खेपेका उनी अर्काको देशमा पलायन भए पहिचान गुम्ने डरले अमेरिका जाने इच्छा मरेको सुनाउँछन्।

‘सबै आफन्त परदेशिए, उनीहरूकै सम्झनामा बस्नुपरेको छ,’ पिँढीमा लामो सुस्केरा हाल्दै उनले सुनाए, ‘आफ्नो त उमेरले पनि डाँडा काट्यो। नेपाल सरकारले पहल गरे आफ्नै देश फर्किने इच्छा छ। तर के गर्नु! इच्छाएको सबै कुरा पुरा नहुने रहेछ।’

दशकौँपहिले आफू जन्मेको देशबाट लखेटिएर पुर्खाको देश खोज्दै आएका उनलाई बेलाबखत आफू जन्मे/हुर्केको देशमा छोडिआएको आफ्नाहरूको असाध्यै याद आउँछ।

पुर्खा जन्मेको ठाउँ नै थाहा छैन

आफू सानो छँदा बाउबाजेले कुरा गरेअनुसार नेपालमा दाजुभाइ छन् भन्ने सुनेको बाहेक आफ्ना पुर्खाको देश कस्तो छ भन्ने उनलाई थाहा नै थिएन।

उनी र उनको परिवारले ६० वर्ष भुटानको माटोमा जोडिएको प्रगाढ सम्बन्ध एक्कासी टुट्ला भन्ने कल्पना समेत गरेका थिएनन्। सर्वस्व त्यागेर हुर्कंदै गरेको छोराछोरी काखमा च्यापेर हिँड्नु पर्दाको त्यो दिन उनलाई सपना झैँ लाग्छ।

बाउबाजेले दुःख गरेर जोडेको सम्पत्ति छाडेर लगाएको लुगामा मात्रै हिँडेको तीतो विगत सम्झँदा अझै मन कुँडिएर आउने उनले सुनाए।

‘बाउबाजेले जग्गा जमिन थुप्रै जोडेका थिए केही कमी थिएन, तर केही नभएकोजस्तो आफ्नै देशबाट लखेटिनुपर्छ भन्ने हामीलाई के थाहा थियो र?’ उनी विगत सुनाउँछन्, ‘आफूले लगाएको एकसरो लुगाकै भरमा लालाबाला च्यापेर हिड्यौँ, त्यो सम्झँदा अझै मन कुँडिन्छ।’  

पुर्ख्यौली घर ओखलढुङ्गा हो भन्ने उनलाई उनको बुवाले बताएका थिए। तर कुन ठाउँ हो भन्ने अझै पत्तो लगाउन नसकेको उनी बताउँछन्। ‘कहिलेकाँही दाजुभाइ खोज्दै जाऊँ जस्तो लाग्छ। तर कहाँ जानु?’ उनी भन्छन्, ‘गाँउ पनि थाहा छैन, दाजुभाइ को हुन भन्ने पनि थाहा छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.