|
फाइल फोटो

काठमाडौं : कोरोना संक्रमण बढेसँगै फ्लू (भाइरल ज्वरो) बिरामी पनि बढ्न थालेका छन्। 

पछिल्लो एक हप्ता यता स्वास्थ्य सस्थामा फ्लूका बिरामीको संख्या बढ्दै गएको पाइएकाे छ। पछिल्लो एक हप्तादेखि कोरोना जस्तै लक्षण देखिने फ्लूका बिरामी धेरै उपचारमा आउने गरेकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सङ्क्रामक रोग विशेषज्ञ शेरबहादुर पुनले बताए।

‘उपचारमा आउने बिरामीकाे संख्याले फ्लूका बिरामी बढेकाे देखिन्छ' उनले भने,'अघिल्लो हप्ता ८० जना सम्म बिरामी आएका थिए, उनीहरुको लक्षण हर्दा पुरै कोरोनाको जस्तो थियो तर पिसिआर परीक्षण गर्दा नेगेटिभ आयो। यस्ता बिरामीकाे संख्या बढ्दै गएको छ।‘

हाल काठमाडौंमा मात्रै नभएर उपत्यका बाहिर चितवनलगायत स्थानमाहरुमा पनि फ्लूका बिरामी बढ्न थालेको पुनले बताए। गएको हप्ता कोरोना जस्तै लक्षण लिएर अस्पतालमा आएका तर परीक्षण गर्दा कोरोना नभइ फ्लूका बिरामी भएको पुष्टि भएको पुनले बताए। 

‘उपचारमा आउने उपत्यका बाहिरको बिरामीहरुको संख्या हेर्दा उपत्यकामा मात्रै हैन बाहिर पनि फ्लूका बिरामी बढ्दै गएको संकेत देखिएको छ।‘ पुनले भने।

यस्तै कोरोनासँग मिल्ने लक्षण देखिएर गाह्रो भए पछि अस्पताल आउने अधिकांशमा कोरोना नेगेटिभ देखिने बिरामी बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले बताए।

उस्तै लक्षण हुँदा जटिलता थपिन सक्छ

मौसमी फ्लूको समस्या विशेषगरी वर्षको दुई पटक देखापर्छ। फागुन, चैत र साउन, भदौ महिना फ्लूको मौसम भएको भए पनि गत बर्ष भन्दा यस पटक फ्लू कडा लक्षणसहित बढ्दै गएको छ।

श्वासप्रश्वासको माध्यमबाट सर्ने फ्लूको सबै लक्षण कोरोना संक्रमणको लक्षणसँग मिल्दोजुल्दो हुने भएकाले कतिपयले कोरोना भइसक्दा पनि भाइरल ज्वरो मात्रै होला भनेर परीक्षण नगर्दा त्यसले जटिलता निम्त्याउन सक्ने पुनले बताए। 

कोरोना र फ्लू एकै पटक फैलँदा जोखिम हुन सक्ने भन्दै पुनले भने,‘फ्लू र कोरोनाको लक्षण लगभग उस्तै हुन्छ, यसको फरक परीक्षणबाट मात्रै थाहा हुन्छ। कोरोना भइसक्दा पनि भाइरल ज्वरो मात्रै होला भनेर परीक्षण नगरी बस्दा जटिलता थपिने जोखिम धेरै हुन्छ।‘

नेपालमा कोरोनाको सुरुवाती चरणमा धेरै फ्लू देखिएको थियो,सिन्धुपाल्चोको एकै गाउँमा त्यस बेला सबैलाई फ्लू भेटिएको थियो।

कसरी छुट्याउने फ्लू र कोरोना संक्रमण?

कोरोना र फ्लूको लक्षण सबै उस्तै हुने हुँदा परीक्षण बिना यसलाई छुट्याउन गाह्रो हुने भए पनि श्वास फेर्न गाह्रो भएमा, अक्सिजन कम भएमा कोभिड परीक्षण गराइहाल्नु पर्ने चिकित्सककाे सुझाव छ।

सामान्य मात्र ज्वरो आएमा, सामान्य घाँटी दुखेमा भने घरमै आराम गर्न सकिन्छ। कोरोना संक्रमण हुँदा स्वाद र गन्ध थाहा नपाउने हुँदा यस्तो लक्षण देखिनासाथ कोभिड परीक्षण गराउनु पर्छ। कोरोनाबाट र अरु खालका सङ्क्रामक रोगबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डको पालना भने अनिवार्य गर्नुपर्ने डा पुनले बताए।

यसरी बच्न सकिन्छ फ्लूबाट

मौसमी फ्लूको संक्रमण भएपछि आरामको आवश्यकता पर्ने हुन्छ। जसले गर्दा घरमानै बसेर आराम गर्ने, तातो झोलिलो पदार्थ खाने, एक सातासम्म पनि मौसमी फ्लू ठिक नभए अस्पताल जानुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.