|

काठमाडौं :  तालिबानले अफगानिस्तानका प्रमुख सहर धमाधम आफ्नो नियन्त्रणमा लिँदै थिए। राजधानी काबुल पनि कब्जा गरेसँगै विदेशीहरूलाई देश छाड्न उर्दी जारी गर्‍यो। विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई उडान चार्टर गरी उद्धार गरिरहेका थिए। नेपालले भने आफ्ना नागरिक फर्काउन ढिलाइ गरिरहेको थियो। 

सुनसरीका प्रकाश राई ७ वर्षदेखि काबुलस्थित अमेरिकी नियोगमा सुरक्षागार्ड थिए। फेसबुक अनि ट्वीटरलगायत विभिन्न सामाजिक सञ्जालमा काबुल युद्धभूमि नै बन्ने त्रास फैलिरहेको थियो। तैपनि नेपालले त्यहाँ कार्यरत नेपालीलाई स्वदेश फर्काउने निर्णय लिन सकेको थिएन। 

सरकारले उद्धारमा चासो नदेखाउँदा उनीहरूले स्वदेश फर्कने आशा नै मारिसकेका थिए। प्रकाशले भने, ‘सरकारले उद्धारमा ढिलाइ गर्दा घर फर्कने आशा नै मरिसकेको थियो।’ अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेसँगै मंगलबार बिहान उनी काठमाडौं आइपुगेका हुन्। उनले भने, ‘अमेरिकी सरकारले उद्धार गरी स्वदेश फर्काइदियो जन्मभूमि टेक्न पाउँदा एकदमै खुसी छु।’

'अफगानिस्तानमा फेरि तालिबानको कब्जा भएपछि अब के होला भन्ने त्रास थियो,' प्रकाशले भने, ‘त्यहाँ जति त्रास थियो, सामाजिक सञ्जाल हेर्दा त्योभन्दा बढी डराउने अवस्था थियो।’ अमेरिकी सरकारको सहयोगमा आफू घर आइपुगे पनि अझै धेरै नेपाली त्यहाँ रहेकाले सरकारले जतिसक्दो छिटो उद्धार गर्नुपर्ने उनको भनाइ छ।  

कतारको राजधानी दोहाबाट आइतबार नेपाल आएका १ सय २७ जनामध्ये धरानका भीममणि राई पनि थिए। तालिबानले अफगानिस्तानका अन्य सहर कब्जा गरी काबुल पनि नियन्त्रणमा लिएसँगै उनमा डर बढ्दै गएको थियो। 'घरबाट बारम्बार फोन आइरहेको थियो। त्यहाँको अवस्था हेर्दा कुन शब्द अन्तिम हुने, कतिबेला अन्तिम सास फेरिन्छ भन्ने डर थियो,' उनले भने, ‘कतिबेला मर्ने पाले आउँछ भनेर कुर्नुको विकल्प नहुँदा कति छटपटी हुन्छ–आफैं सोच्नुस्।’ 

तयारी अवस्थामा बस्नु,आदेश आउनासाथ काबुल छाड्नु पर्छ भनेर उनीहरूलाई भनियो। त्यसैअनुसार उनीहरू आइतबार अफगानिस्तान छाड्न तयार भए। ड्युटीमा लगाएको कपडा फ्याँकेर आएको मणिले बताए। 'बम हमलामा आँखैअघि धेरैको ज्यान गएको थियो। तालिबानले अफगानिस्तान कब्जा गरेपछि धेरै डर लागेको थियो। स्वदेश कसरी फर्कने ठूलो चिन्ता थियो, नेपाली भूमिमा टेक्न पाउँदा साह्रै खुसी छु,’ उनले भने।

त्यही टोलीमा उनीसँगै फर्किएका चितवनका सन्तोष अधिकारी भेटिए। तालिबानले काबुल कब्जा गरेसँगै त्यहाँका स्थानीय त्रसित भएको देख्दा आफूलाई पनि डर लागेको उनले सुनाए। तालिबानले आक्रमण गर्न सक्छ सुरक्षित हुनु भन्ने सन्देश नियोगले दिएको थियो। तालिबानले हमला गर्न सक्ने सर्कुलर प्राप्त भएसँगै सचेत र सावधान हुँदै बसेको उनी बताउँछन्। 

नियोगको त्यो सन्देश पाएपछि एक साता सञ्चार नै विच्छेद थियो। सन्तोषले भने, ‘घर परिवारसँग समेत कुराकानी भएको थिएन।’ नेपाल सरकारले आफूहरूलाई घर फर्काउने पहल गरेको कुनै खबर नआएपछि नेपाल फर्कने आश लगभग मरिसकेको उनले सुनाए। अफगानिस्तानबाट मंगलबार घर फिरेकाहरू त्रासबीच आफ्नो मुलुक टेक्न पाएकोमा औधी खुसी छन्। अफगानिस्तानमा अझै पनि धेरै नेपाली रहेकाले सरकारले तत्काल पहल गरी उनीहरूको उद्धार गर्नुपर्ने उनीहरू बताउँछन्।

अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १ सय २७ नेपाली कामदार मंगलबार बिहान स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार कुवेतबाट जजिरा एयरवेजको चार्टर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याइएको हो। अमेरिकाले उसकै खर्चमा उद्धार गरी नेपाली कामदारलाई स्वदेश पठाएको हो।

करिब १ हजार ५ सय नेपाली अफगानिस्तानस्थित विभिन्न देशका नियोगमा काम गर्दै आएका छन्। उनीहरूलाई सम्बन्धित देशकै नियोगले उद्धार गरेर नेपाल पठाउन थालेका छन्। अफगानिस्तान करिब १५ हजार नेपाली कार्यरत रहेका छन्। 

आयोगले भन्यो– नेपालीको तत्काल उद्धार गर्नू

राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ। त्यहाँ हालैका राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितिमा त्यहाँ रहेका नेपालीको जीवन जोखिममा पर्न सक्ने भन्दै उद्धार गर्न निर्देशन दिएको हो। 

आयोगले  मंगलबार परराष्ट्र सचिव भरतराज पौडेल र वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीसँग आयोगमा छलफल  गरी निर्देशन दिएको हो।

त्यहाँ रहेका नेपालीको एकिन तथ्यांक नभएकाले अझ समस्या पर्ने आयोगको भनाइ छ। विशेषगरी श्रम स्वीकृति नलिइ अन्य मुलुक हुँदै अफगानिस्तान पुगेका र भिसा अवधि समाप्त भएका नेपाली नागरिक जोखिममा परेका र बेरोजगार रहेकाले खान, बस्न समस्या भोगिरहेको जानकारी आयोगले पाएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए।  


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.