|

काठमाडाै‌ं :  वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगीका लागि मागेको आवेदनको म्याद सकिएको छ। १२ साउनमा खोलिएको आवेदनको म्याद सोमबार सकिएको हो। 

तोकिएको समयमा ९ हजार ६ सय ९९ आवेदन परेको वैदेशिक रोजगार विभागले जनाएको छ। रोजगारीका लागि इजरायल जान ५ हजार ६ सय ९९ पुरुष र ४ हजार २ सय महिलाको आवेदन परेको वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए।

इजरायलले पहिलो चरणमा १ हजार कामदार मागेको छ। उनका अनुसार मागेभन्दा ९ गुणा बढी आवेदन परेको छ। आकर्षक तलब सुविधा भएकाले धेरै आवेदन परेको विभागको भनाइ छ।   

विभागले पहिलो चरणमा इजरायल रोजगारीमा परेका आवेदनको भेरिफिकेसन गरिरहेको शाखा प्रमुख सुनुवारले बताए। उनले भने,‘शैक्षिक योग्यता, सिप तथा तालिम, तौल, उचाइलगायत कुरा पहिलो चरणमा हेरिन्छ।’ अनलाइन फारम भर्दा प्रमाणपत्र स्पष्ट नदेखिएकालाई मौका दिइने विभागले जनाएको छ। २४ घण्टा समय दिएर आवेदकलाई फोन वा इमेलबाट जानकारी गराइने उनले बताए। 

उनका अनुसार रोजगारीका लागि इजरायल जानेको मासिक तलब करिब १ लाख ९३ हजार रूपैयाँ हुन्छ। कामदारले खाने व्यवस्था आफैं गर्नु पर्छ भने आवासको व्यवस्था रोजगारदाताले नै मिलाउँछ।  

इजरायलमा ३ सय जना पुरुष (३० प्रतिशत) र ७ सय (७० प्रतिशत) महिला गरी हजार जनाले रोजगारी पाउने शाखा प्रमुख सुनुवारले जानकारी दिए। सम्झौतासँगै इजरायलले स्याहारसुसार, कृषि, होटल/रेस्टुरेन्ट, निर्माणलगायत विभिन्न क्षेत्रमा नेपालीलाई रोजगारी दिने छ।

कहिले हुन्छ परीक्षा ?

विश्वभर फैलिएको कोरोना भाइरसले परीक्षाको मिति तय गर्न कठिन भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए। कोरोना संक्रमण मध्यनजर गर्दै कक्षा १२ को परीक्षा स्थगित गरिएको छ। ‘परीक्षाको समय मिलाइदिन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई पत्राचार गरिएको छ,’ उनले भने, 'जहिले उपयुक्त समय मिल्छ त्यहीअनुसार परीक्षा लिइन्छ।'

इजरायलमा रोजगारीका लागि लिइने अंग्रेजी भाषा परीक्षामा ४० भन्दा बढी अंक ल्याउने उत्तीर्ण हुने छन् तर मेरिटका आधारमा छनोटमा परेकालाई अन्तरवार्ताका लागि बोलाइने छ।  

यस्तो छ इजरायल रोजगारीको मापदण्ड

सरकारले इजरायल जान चाहने कामदारका लागि मापदण्ड  बनाएको छ। कामदार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, डेढ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल भएको हुनुपर्ने छ। इजरायलको स्थानीय भाषा जान्नै पर्ने बाध्यता छैन। अंग्रेजी भाषाको ज्ञान भए पुग्ने छ।

कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी ३ महिनाको तालिम लिएको व्यक्तिले कामदारका लागि आवेदन दिन पाउने विभागले जनाएको छ।

विभागका अनुसार इजरायलमा काम गरी फर्केका र बुबाआमा, पतिपत्नी, छोरा वा छोरी इजरायलमा बसोबास वा काम गरेकाकाे परिवारका सदस्य भने रोजगारीका लागि इजरायल जान पाउने छैनन्।

करिब ११ वर्षपछि नेपाली श्रमिकका लागि इजरायलमा रोजगारी खुलेको हो। आकर्षक सेवासुविधा र मर्यादित कार्यस्थल मानिएको श्रमिकमाथि अत्यधिक आर्थिक भार परेको भन्दै सन् २००९ मा इजरायल जान रोक लगाइएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.