|

धनकुटा : जिल्लाको महालक्ष्मी नगरपालिका १ खाप्राङका धनबहादुर कटुवालको दैनिकी फेरिएको छ। उनी एकाबिहानै आफ्नो घरमा रहेको गाईफार्ममा व्यस्त हुन्छन्। घरनजिकै रहेको गाईफार्ममा बिहानदेखि बेलुकासम्म व्यस्त रहनु उनको दैनिकी हो। गाईफार्ममा रहेका गाईलाई घाँस दाना गर्नु उनको नयाँ दैनिकी हो।

२०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका कटुवालले पढाइपछि तत्कालीन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गरेका थिए। सामाजिक परिचालक भएर काम गर्न थालेको ३ वर्षपछि द्वन्द्वका कारण कार्यक्रम बन्द भएपछि उनले सामाजिक परिचालकको जागिर छोडेको बताए।

त्यसको केही समयपछि स्थानीय खाप्राङ माविमा साढे ५ वर्ष शिक्षकको रुपमा सेवा गरेका कटुवालले २०६९ सालदेखि व्यावसायिक रुपमा पशुपालन पेशा थालेको बताउँछन। ‘पेशागत रुपमा भन्ने हो भने शिक्षक समुदायको नमुना र साझा अविभावक हो हामीले केही न केही काममा नमुना बन्नुपर्छ भन्ने अठोट गर्दै शिक्षण पेशाबाट राजीनामा दिएर यो पेशामा लागे’ कटुवालले भने।

सरकारी जागिर छोडेर गाईपालन गर्ने मानिस कमै होलान् तर कटुवालले व्यावसयिक रुपमा गाईपालन गर्न जागिर छोड्ने निर्णय गरेर महालक्ष्मी नगरपालिका १ मा पशु तथा कृषि फर्म नामबाट एकल व्यवसायको रुपमा यो पेशा निरन्तरता गर्दै आएका छन्।

‘सरकारी जागिर खाँदा अरुको नियन्त्रणमा बस्नुपरेको थियो अहिले स्वतन्त्र भएर आत्मा सम्मानमा बसेको छु’ उनले भने ‘स्वतन्त्र नै भएर आम्दानी पनि मासिक एक लाख रुपैयाँको हाराहारीमा गर्दै आइरहेको छु।’

गाउँमा रहेको जग्गा पनि बाँझो हुन थालेको र त्यही जग्गाको उपयोग गरेर केही गर्नुपर्छ भनेर व्यवसायमा लागेको बताउँदै कटुवालले अहिले बाबु बाजेले जोडेका जग्गा उर्वर बनाएको बताए।

रोजगारी सिर्जना

हाम्रो देश नेपाल कृषि प्रधान देश हो। यहाँ हामीले कृषि तथा पशुपालनलाई व्यावसायिक रुपमा लिने हो भने यसले उद्यमी र स्वारोजगार बनाउँछ। कटुवालको विचारमा धेरै मानिसहरु पशुपालनलाई व्यावसायिक रुपमा नगरीकन आम्दानी भएन घाटा भयो भन्छन्। यसले यो पेशामा आउन चाहानेहरूका लागि नकारात्मक सन्देश जान्छ र उनीहरु निरुत्साहित हुन्छन्।

कुनै पनि पेशा आफैंमा नराम्रो हुदैन, तर निरन्तर लाग्नु पर्ने उनको तर्क छ। उनका अनुसार धेरै मान्छेहरुले व्यवसाय गरे पनि परम्परागत र निर्वाहमुखी मात्र गर्छन् व्यावसायिक रुपमा आय आर्जन गर्ने गरी गर्दैनन्।

२०६९ सालमा ८ लाख रुपैयाँको लगानीबाट गोरखाबाट गाई ल्याएर व्यवसाय सुरु गरेका कटुवालले हालसम्म ५० लाखको लगानी भइसकेको बताउँछन्। अहिले उनको फर्ममा १५ वटा गाई रहेका छन्। उनले ७२ रोपनी जमिनमा घाँस खेती गरेका छन्। ‘व्यवसाय सुरु गर्नेबित्तिकै नाफा नदेखिए पनि अहिले औसतमा नाफा नै छ’ उनले भने ‘दूधबाट मात्र होइन अब कोरली बाच्छाबाच्छी बेचेर पनि आम्दानी भइरहेको छ।’

‘मेरो लागि शिक्षण पेशा आफूले मात्र जागिर खाएर अरू परिवारलाई पाल्नुपर्ने कठिन पेशा बन्यो। मैले शिक्षण गर्दा परिवारको गुजारा चलाउन निक्कै समस्या पर्‍यो।’ कटुवालले भने ‘अहिले पशुपालन व्यवसायबाट हामी घरका दुई जना र अन्य दुई जनालाई पनि यो पेशाबाट रोजगारी दिन सफल भएका छौं।’

कटुवाललाई पत्नी यामकुमारी कटुवालले पनि साथ दिएकी छिन्। नजिकैको एक विद्यालयमा शिक्षकको रुपमा काम गरिरहेकी उनले बिहान बेलुकाको समयमा खोले कुँडो, घास तथा गोबर सोर्न साथ दिएको बताइन्। घरपरिवार मिलेर गरेको व्यवसाय बढाउने तयारी गरिरहेको बताउने यामकुमारीले जनशक्तिको अभाव भएको बताएकी छन्। पुरुषहरू रोजगारिको लागि विदेश पलायन हुनुभन्दा परिवारसँगै बसेर व्यवसाय गर्दा सुखदुख बाँड्न सहज भएको बताइन्।

लगानीअनुसार आम्दानी छैन

कटुवालले लगानीअनुसार आम्दानी भने गर्न नसकेको गुनासो गर्छन्। ‘दूधको बजार मूल्य स्थिर रहने तर, गाईलाई खुवाउने दानाको मूल्य दैनिक बढिरहनु आम्दानीको मुख्य समस्या हो।’

उनी भन्छन्, ‘भन्नैपर्दा दूधको मूल्य कम हुनु तर, उत्पादन लागत अत्याधिक वृद्धि हुनुले आम्दानी सोचेजस्तो भएको छैन।’ पछिल्लो समय स्थानीय तहले नीतिहरु सहज बनाएर सहयोग गर्ने हो भने यो भन्दा राम्रो आम्दानी लिन सक्ने र धेरैलाई रोजगारी दिनसक्ने उनको भनाइ छ।

‘हरेक पेशा व्यवसायको चुनौती त हुन्छ नै। गाईपालन व्यवसाय त झनै चुनौती छ तर चुनौंती छ भन्दैमा व्यवसाय नै नगरी बस्ने कुरो भएन।’ कटुवालले भने ‘गाईपालन व्यवसायका मुख्य गरेर दुई तीनवटा समस्या रहेको छ। मानिसहरुले व्यवसायलाई व्यावसायिक बनाउँन नसक्नु नै पहिलो चुनौती हो। व्यवसायलाई व्यावासायिक रुपमा लिने हो भने समस्या यहीँबाट समाधान हुन्छ।’

व्यावासयिक रुपमा गाईपालन गर्ने हो भने एउटा दुईवटा गाई पालन गरेर हुदैंन कम्तीमा पनि १० वटा सम्म गर्नुपर्ने उनको भनाइ छ। ‘गाई फर्म थालेपछि यसलाई दीर्घकालीन सञ्चालन गर्नका लागि घाँसको व्यवस्थापन गर्नु पर्छ भने दुधलाई सफा र व्यवस्थित ढंगले राख्नुपर्छ नत्र यसले ग्राहकको विश्वास जित्न सकिँदैन।’ कटुवालले भने, ‘सरसफाई गरिएन भने दूध विग्रिने सम्भावना हुन्छ। दूध बिक्री नहुने स्थिति आयो भने दुग्धजन्य वैकल्पिक वस्तु उत्पादन गर्ने सीप पनि सिक्नु पर्ने हुन्छ।’

आम्दानीसँगै आत्म सम्मान

गाईपालनबाट अहिले कटुवाललाई राम्रो आय आर्जन हुन थालेको छ। सुरुका दिनमा संघर्षपूर्ण तारिकाबाट व्यवसाय सञ्चालन भयो, विस्तारै व्यवसायमा सुधार हुँदै गयो, यो पेशा गर्न केही पूर्वानुभव पनि रहेको उनको भनाइ छ। पैसा कमाउन विदेश जानुपर्छ भन्ने लहर चलेको छ तर, देशमै केही गर्दा आम्दानी सहित आत्म सम्मान मिलेको उनको भनाई छ।

उनले फुर्सद भएको समयमा सामाजिक काम गर्ने गरेको बताउँछन। उनी अहिले आफूले अध्यापन गरेको विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिरहेका छन। गाईपालनलाई व्यवसायिक बनाउन कटुवालले फर्म वरिपरि घाँसका विरुवा, एभोकार्डोका विरुवा र आफूलाई पुग्ने तरकारीसमेत लगाएका छन्।

अनुदानमा सास्ती

सरकारले दिने अनुदानमा भने कटुवालले असन्तुष्टि जनाएका छन्। उनले सरकारले दिने अनुदानका कार्यक्रम कमजोर भएको बताउँदै धेरै ठाउँमा झोलामा फर्म बोकेर अनुदान लिने गरेको देख्दा दु:ख लागेको गुनासो गरे।

उनले हालसम्म कतैबाट अनुदान नपाएको बताए। अनुदानका लागि स्थानीय तहमा जाँदा तपाईहरु जस्ता ठूला व्यवसायी माथिल्लो निकायमा जानु भन्ने गरेको र दिँदा पनि २० देखि ५० हजार रुपैयाँ दिनलाई प्रक्रिया पुर्‍याउन निकै ठूलो झन्झट दिने गरेकोले त्यसमा फस्न नचाहेको बताए।

‘प्रदेश र केन्द्रको अनुदान लिन त जानै भ्याइन्न, अनुदानका लागि धाउँदा व्यवसाय चौपट हुन्छ।’, उनले भने, ‘नीतिगत प्रक्रियामा झमेला भएकाले अनुदानका लागि महिनौ दिनसम्म खर्चनुपर्ने भएकाले समस्या छ।’

यता, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले भने गाईपालक किसानका लागि गोठ सुधार कार्यक्रम र पकेट क्षेत्र घोषणा गरेर धेरै कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले किसानहरूका मागका आधारमा काम गरिरहेको र यस आर्थिक वर्षबाट गाईभैंसी गर्भधारणका लागि उन्नत जातको बिउको कार्यक्रम र गत वर्षबाट टाढादेखि खरिदका लागि ढुवानीको कार्यक्रम सञ्चालन गरिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.