|

काठमाडौं : कुनै बेला यस्तो थियो, परदेश गएका आफन्त र शहर पसेका सन्तानको खबर पाउने एक मात्र माध्यम चिठ्ठी थियो। खामभित्रको चिठ्ठीले ल्याएको खबर सिंगो गाउँको प्रसन्नताको आधार बन्थ्यो। चिठ्ठी बोकेर आउने हुलाकी प्रसन्नता ल्याउने व्यक्ति।

बिछोडिएकाले कैयौं दिनको प्रतीक्षापछि चिठ्ठीको माध्यमबाट आफ्ना सुख वा दुःखका खबर परिवार र आफन्तसम्म पठाउँथे। ​खबर बोकेर ल्याउने हलकाराको झोलामा आफ्ना मान्छेको चिठ्ठी छ कि छैन भनेर बुझ्न सबै आतुर हुन्थे। आफन्तका चिठ्ठी हुनेहरू दंग पर्थे भने नहुनेहरू खिस्रिक्क। कतिका त आँखाका परेला भिज्थे। त्यो जमानमा हलकारा र चिठ्ठी सबैको प्यारा हुन्थे। अहिले त यी सब इतिहास भए। नयाँ पुस्ताका लागि त यी सबै कुरा कथा जस्तै लाग्छ। 

चिठ्ठी बोकेर घरघर पुगेका हलकाराहरू ती पुराना क्षण सम्झँदा रमाइलो लाग्ने बताउँछन्। २८ वर्षअघि घरघर पुगेर चिठ्ठी बाँड्ने भक्तपुरको चाँगुनारायण घर भएका श्रीप्रसाद खनाल ती पुराना पल सम्झँदा आज पनि रमाइलो लाग्ने बताए। चिठ्ठीमा लेखिएको ठेगाना हेरेर घरसम्म पुर्‍याउन जान्थे। खुसी भएर कतिले त पैसा समेत दिने गरेको खनालले सुनाए। त्यसबेला मान्छेहरूले गर्ने इज्जत पैसा तिरेर किन्न नसकिने उनी बताउँछन्।​

'त्यो पैदल यात्रा, चिठ्ठीका ती खात र चिठ्ठी लिनेहरूको उज्यालोको अनुहार‚’ खनालले भने‚ ‘अब त बोल्नका लागि बोलिने शब्द जस्ता मात्र हुन्छन्। ती भोगाइ मेरा सम्पत्ति बने।' 

उनी अहिले पनि गोश्वारा हुलाक कार्यालयमा कार्यरत छन्। अहिले स्मार्ट फोन, इन्टरनेटलगायत प्रविधिको बढ्दो प्रचलनले ती पुराना अनुभव स्मृतिमा मात्र बाँकी रहेको उनले बताए।

सबैतिर सूचना प्रविधिको प्रयोग दिन दुई गुणा रात चार गुणा बढ्दै छ। जसका कारण घरायसी कामका लागि मात्र होइन‚ प्रेमी प्रेमिकाले मनको भावना व्यक्त गर्ने माध्यम चिठ्ठी पठाउने काम नै विस्थापित भएको छ। अहिले त कार्यालयको पत्र पठाउनका लागि मात्र हुलाकको काम भएको खनाल बताउँछन्।​ तर‚ उनलाई अहिले पनि फुर्सद छैन। कार्यालयका पत्रहरू पुर्‍याउन दिनभर काठमाडौं सहर घुमिरहन्छन्। ‘व्यक्तिगत चिठ्ठी हुँदैन, कार्यालयको चिठ्ठी लिनका लागि कुराए रै हैरान छ‚’ उनले थपे, ‘यो ठाउँमा आउँछु भनेर आउँदैनन्, फोन गर्दैको हैरान हुन्छ।’  

काठमाडौंको डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा बुधबार पुग्दा चिठ्ठी पोष्ट गर्न आएका ७६ वर्षका हरिशरण अधिकारी भेटिए। प्रविधिसँग अभ्यस्त नभएका उनले काग र चिठ्ठीको सम्बन्धबारे रमाइलो किस्सा सुनाए। 'घरमाथि काग कराए, बिछोडिएको मान्छेको समाचार लिएर चिठ्ठी केही दिनमा हातमा आइपुग्थ्यो‚' उनले अनुभव सुनाए, 'भलै ती समाचार अशुभ नै किन नहुन्।'

त्यो त अहिले सूचना प्रविधिको विकास भइसकेको अवस्थामा हुलाकको खासै काम नभएको तर्क पनि सुनिन्छ। यस्तो बेला हुलाकले कसरी काम गरिहेको भनी गोश्वारा हुलाक कार्यालय पुग्दा कार्यालय परिसरमा हातमा कागजात लिएर उभिरहेका थिए काठमाडौंका हरि लम्साल। सहकारीमा काम गर्ने हरिले उक्त कागज अर्थात् चिठ्ठी सर्लाही पठाउनु पर्ने भएकाले उनी त्यहाँ पुगेका थिए। ‘अफिसको अन्य कार्यालय वा व्यक्तिसँग सम्बन्धित कतिपय डकुमेन्ट मेल गर्दा पनि काम हुन्छ,’ उनले भने‚ ‘तर सक्कली प्रति पठाउनै पर्छ। त्यसका लागि हुलाक नै प्रयोग गर्दै आएका छौँ।’ 

तर‚ धादिङ घर भएका ६० वर्षीय रामबहादुर थापाले भने अहिले सूचना प्रविधिको विकासले सूचना आदानप्रदानमा धेरै सहज भएको बताउँछन्। ‘आजभन्दा २० वर्ष अगाडिसम्म सञ्चो बिसञ्चो थाहा पाउनका लागि घरमा चिठ्ठी पठाउँथ्यौं‚’ उनले भने‚ ‘अहिले सूचना प्रविधिले धेरै सहज भएको छ।’   

गोश्वारा हुलाक कार्यालय प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले भने फोन, इन्टरनेटका कारण हुलाकको प्रयोग कम भएको देखिए पनि हुलाकको महत्व यथावत रहेको बताउँछन्।

‘नेपालमा हुलाक भन्ने बित्तिकै चिठ्ठी पत्र मात्र वितरण गर्ने संस्था हो भन्ने गलत धारणा छ। त्यसो हो भने त विदेशमा रहेका सबै हुलाक बन्द हुनुपर्ने होइन र?’ उनले भने, ‘कुनै सक्कली कागजात औपचारिक रुपमा पठाउँदा हुलाकमार्फत नै पठाउने चलन  कायमै छ।’

यसरी हुन्छ हुलाक कार्यालयमा काम

हुलाक कार्यालयको काम तीन तहमा विभाजन गरिएको छ। सुरुमा कुनै पनि ठाउँ वा देश–विदेशबाट चिठ्ठी आउँछ। त्यसलाई हुलाकमा दर्ता गरिन्छ। दर्ता गरिसकेपछि सर्टिङ (श्रेणीवद्ध) गरिन्छ। चिठ्ठीको खाममा प्रापकको नाम, ठेगानालगायत विवरण हुन्छन्। त्यसलाई आधार मानेर कुन–कुन ठाउँमा पुर्‍याउनुपर्ने हो, त्यस नजिकको ठाउँमा रहेको हुलाक कार्यालयमा ढुवानी गरिन्छ। 

त्यहाँ पुगेपछि हुलाकी अर्थात् हलकाराले सम्बन्धित मानिसलाई वितरण गर्छ। अहिले पनि गोश्वारा हुलाक कार्यालयमा मात्र मासिक एक लाखको हाराहारीमा चिठ्ठी आउने गरेको उपाध्यायले बताए। उनका अनुसार अध्ययनका लागि विदेशमा बसेका विद्यार्थीले पत्र पठाउने गरेका छन्। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण फ्लाइट नहुँदा उक्त संख्यामा पछिल्लो समय कमी भने भएको छ।

कुरिअर तथा चिठ्ठीलाई छिटो–छरितो वितरण गर्न गाडीहरूको प्रयोग गरिन्छ भने डाँक सेवाका लागि यातायातको व्यवस्था गरेको छ। काठमाडौं उपत्यकाबाहिर पठाउन यातायात व्यवसायीसँग सम्झौता गरेर चिठ्ठी पठाएको उपाध्यायले बताए। यस्तै‚ उपत्यकाको हकमा सरकारी कार्यालयहरूको चिठ्ठी आदान–प्रदान गर्न तीनवटा घुम्ती सेवा र केही हलकारासँग मोटरसाइकल रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.