|

इलाम :  २४ अगष्ट १८१४। अर्थात आजभन्दा २ सय ७ वर्षअघि जुन घटना भयो त्यसको कल्पना संयुक्त राज्य अमेरिकाका चौथो राष्ट्रपति जेम्स म्याडिसनले शायदै गरेका थिए होला।

८ वर्षको अथक मेहनतबाट निर्मित अमेरिकाको सर्वोच्च प्रशासनिक भवन ह्वाइट हाउसमा आगो लाग्यो। त्यतिमात्र होइन त्यस दिन अमेरिकाको राजधानी वासिङ्टन डिसीका कैयौं ठाउँमा विदेशी सेनाले ठूलो नोक्सान गर्‍यो। यसको २ वर्षअघि सन् १८१२ मा अमेरिका र इङ्ग्ल्यान्डबीच युद्ध शुरू भएको थियो।

ब्लेडेन्सबर्गको युद्धको नामबाट प्रशिद्ध उक्त लडाइँमा अमेरिकाले क्यानडा ओन्टारियोको यार्क शहरमाथि हमला गर्‍यो। तर अमेरिकासँगको युद्धमा विजयी भएपछि बेलायती सेनाले २४ अगष्ट १८१४ मा अमेरिकाको राजधानी वासिङ्टन डिसी प्रवेश गरी ह्वाइट हाउसमा आगो लगाइदियो।

बेलायती सेना ह्वाइट हाउस पुग्नुअघि नै राष्ट्रपति म्याडिसन र प्रथम महिला डोली सुरक्षित तवरबाट मेरिल्यान्ड पुगिसकेका थिए। तोडफोड र आगो लगाउनुअघि बेलायती सैनिकले ह्वाइट हाउसका चाँदीका भाँडाकुँडामा राष्ट्रपति भवनको स्वादिष्ट भोजनको स्वाद लिएका थिए।

ह्वाइट हाउस हिस्टोरिकल सोसाइटी र डोलीको व्यक्तिगत पत्रका अनुसार, राष्ट्रपति म्याडिसन अगस्त २२ मा ह्वाइट हाउस छाडेर युद्धरत आफ्ना सेनापतिसँग भेट्न युद्धमैदानमा गएका थिए। बेलायती सेनाले राजधानी प्रवेश गर्ने धम्की दिएपछि ह्वाइट हाउस छाड्नुअघि उनले आफ्नी पत्नी डोलीलाई राज्यका महत्वपूर्ण कागजातहरू जम्मा गर्न र कुनै पनि क्षण ह्वाइट हाउस त्याग्न तम्तयार रहन अह्राएका थिए।

त्यसको भोलिपल्टै बेलायती सेना जम्मा भएपछि डोलीले आफ्नो परिवारका निजी सामान त्याग्ने निर्णय गरिन्। उनले त्यसको साटो अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको पूर्ण कदको तस्वीर आफूसँग लगिन् र त्यसलाई अपमानित हुनबाट जोगाइन्।

उनले अगष्ट २३ को रात जर्ज वासिङ्टनको तस्वीर जोगाउँदा सामना गर्नुपरेका कठिनाइहरूका बारेमा लेखेकी छिन्। उनले ह्वाइट हाउसको भित्तामा सजाइएको जर्ज वासिङ्टनको तस्वीरको फ्रेम फुटाउन लगाएर तस्वीर चाहीं  बेर्न लगाइन्।

प्रशिद्ध चित्रकार गिलबर्ट स्टुअर्टले बनाएको सो तस्वीर न्युयोर्कका २ जना अज्ञात व्यक्तिले सुरक्षित स्थानमा राख्न लिएर गए। यति काम गरेपछि डोलीले बहिनीलाई लेखेकी छन्– ‘प्रिय बहिनी मैले यो घर छाड्नुपर्छ नत्र बेलायती सैनिकले मलाई बन्दी बनाउनेछन्। मलाई पक्रन उनीहरूलाई निर्देशन दिइएको छ।’ उनले ह्वाइट हाउस छाडिन् र पति म्याडिसनलाई पूर्वनिर्धारित स्थानमा भेटिन्।

३ दिनपछि राष्ट्रपति म्याडिसन र उनकी पत्नी वासिङ्टन डिसी फर्कन सफल भए। त्यसबेलासम्म बेलायती सैनिक वासिङ्टनबाट फर्किसकेका थिए। हमलापछि तत्कालीन राष्ट्रपति म्याडिसन बाँकी कार्यकाल ह्वाइट हाउस गएनन्। उनले आफ्नो कार्यकालको बाँकी अवधि वासिङ्टनकै अक्टागन हाउसमा बसेर पूरा गरे।

उनले सन् १८१७ सम्म आफ्नो कार्यकाल त्यहींबाट पूरा गरे। त्यसपछि निर्वाचित अमेरिकाका पाँचौ राष्ट्रपति जेम्स मुनरोको कार्यकालमा ह्वाइट हाउस पुनर्निर्माण गरिएपछि मात्र राष्ट्रपतिका प्रशासनिक काम फेरि ह्वाइट हाउसबाट गर्न थालियो।

(विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सामग्रीका आधारमा तयार पारिएको)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.