|

काठमाडौं : नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा काठमाडाैं कलंकीको परिकार ब्याङक्वेटका सञ्चालक शंकर भट्टलाई यतिबेला भ्याइनभ्याइ हुन्थ्यो। तीजको दर खानका लागि भीड लाग्ने समयमा यो पार्टी प्यालेस यतिबेला सुनसान बनेको छ।

परिकार ब्याङक्वेटमा विभिन्न मीठा-मीठा परिकार नपाकेको डेढ वर्ष पुग्नै लागिसक्यो।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)लाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले ११ चैत २०७६ देखि लकडाउन गर्‍यो। कोरोना संक्रमणदर घट्दै गएसँगै अन्य क्षेत्र चलायमान बन्दै गएका छन्। तर, पार्टी प्यालेस, होटल, क्याटरिङ व्यवसाय भने बन्द नै रहेका छन्।   

यतिबेला कोरोनाले सबैभन्दा बढी संकटमा होटल व्यवसायी तथा  पार्टी प्यालेस सञ्चालक परेका छन्। विगत १७ महिनादेखि  पार्टी प्यालेस खुल्न सकेका छैनन्। 

परिकार ब्याङक्वेट भट्टले २८ वर्ष अगाडी खोलेका थिए। कोरोना संक्रमण सुरु नभएसम्म विवाह, ब्रतबन्ध, सभा-सम्मेलन यहाँ भइरहन्थ्यो। सञ्चालक भट्टले भने,‘कुनै दिन पनि खालि भएको थाहा नै थिएन,अहिले १७ महिनादेखि बन्दै जस्तो छ।’ 

वि.सं.२०५१ सालमा १४ करोड लगानीमा सुरु गरिएको यो पार्टी प्यालेसमा ३६ जनालाई रोजगारी दिइएको थियो। उनले भने,‘केही समय आधा तलब दिएर कर्मचारी राखेका थियौँ, लामो बन्दका कारण धान्न नसकेकाले निकाल्नु पर्‍यो।’

हाल ५ जना कर्मचारी मात्र राखिएको उनले बताए।  सामान्य सानो कार्यक्रम वा प्याकिङको अर्डरका लागि यी कर्मचारी राखिएको उनले बताए। उनले भने,‘भाडा तिर्न सक्ने अबस्था नै छैन।’ सरकारले कुनै ठोस निर्णय गर्न नसक्दा पार्टी प्यालेसहरु धमाधम  बन्द हुने अबस्थामा पुगेको भट्टले बताए।  

आक्रोशित मुद्रामा भट्टले प्रश्न गरे,‘सडकमा आन्दोलन गर्दा, पार्टीको झण्डा बोक्दा कोरोना सर्दैन? होटल, पार्टी प्यालेसबाट मात्र सर्ने हो ?'

सरकारले स्वास्थ्य मापदण्ड बनाएर होटल ब्याङक्वेट तथा पार्टी प्यालेस खोल्न दिनुपर्ने उनको भनाइ छ। उनले थपे,‘होटल तथा पार्टी प्यालेस कोरोना उत्पादन गर्ने कारखाना हो र ?’

यसरी लामो समय बन्द हुँदा ब्याङक्वेट तथा पार्टी प्यालेस सधैंका लागि बन्द हुन थालेका छन्। यस क्षेत्रमा आबद्ध  रहेका व्यवसायीहरु खुल्ने दिनको प्रतीक्षामा छन्। पहिलो चरणको लकडाउनले थला परेका व्यवसायी दोस्रो चरणको निषेधाज्ञाले बन्द हुने अवस्थामा पुगेका हुन्। 

सरकारले दोस्रो चरणको लकडाउन खुकुलो पार्दा पनि सिनेमा क्षेत्र र होटल व्यवसाय, पार्टी प्यालेस लाई सम्बोधन गर्न सकेको छैन। यस क्षेत्र बन्द हुँदा  धेरै युवाहरुको रोजगारी खोसिएको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रवक्ता कृष्ण प्रसाद पाण्डेले बताए। 

काठमाडौंको नयाँ बानेश्वरमा तीन वर्षअघि संचालनमा आएको आर्पण व्याङ्केटको अवस्था पनि उस्तै छ। विगतका वर्षहरुमा चहलपहल भइरहने यो ब्याङ्केट यतिबेला सुनसान देखिएको छ।

५ जनाको संयुक्त रुपमा साढे तीन करोड लगानीमा खोलिएको यो व्याङ्केट बन्द हुने अवस्थामा पुगेको संचालक रबेन्द्र हुमागाईँले बताए। कोरोना महामारी फैलनु अगाडिसम्म राम्रोसँग चलेको थियो।

उनले भने,‘१७ महिनासम्म थलियो, अब सहजै उठ्न सक्ने अवस्था छैन।’

३५ अर्ब लगानी जोखिममा

देशभर ७ हजार पार्टी प्यालेस र क्याटरिङ व्यवसाय सञ्चालनमा रहेका छन्। सबैको व्यथा उस्तै छ। नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अनुसार अहिले १० भन्दा बढी पार्टी प्यालेस सधैंका लागि बन्द भइसकेका छन्। अब पनि सरकारले पार्टी प्यालेस खोल्न अनुमति नदिने हो भने सारा लगानी डुब्ने महासंघका प्रवक्ता पाण्डेले बताए। 

एउटा पार्टी प्यालेसमा स्थान, स्तर र क्षमता अनुसार २ करोडदेखि १७ करोडसम्म लगानी भएको व्यवसायीहरु बताउँछन्। लगानीमध्ये ७० प्रतिशत भन्दाबढी बैंकहरुको ऋण हुने गरेको छ। बैंकको ऋण तिर्न नसक्दा घर जग्गा नै लिलाम हुने अवस्था आएको व्यवसायी बताउँछन्। 

सरकारले यो क्षेत्रबाट वार्षिक ३ अर्ब कर उठाउने गरेको छ । तर महामारीमा सरकारले उपेक्षा गरेको उनको तर्क छ। अधिकांश पार्टी प्यालेस भाडाको जग्गामा  छन्। प्रवक्ता पाण्डेले भने,‘कोरोनाले थला परेको व्यवसायलाई सरकारी बेवास्ताले उठ्नै दिएन।’

प्रवक्ता पाण्डे पार्टी प्यालेसहरू बन्द हुँदा बजारमा किराना सामान र दुग्ध पदार्थदेखि माछामासु, फलफूल र तरकारीसम्मको खपत घटेको बताउँछन्। उनका अनुसार, यस्ता वस्तुको ३० प्रतिशत हिस्सा पार्टी प्यालेसमा खपत हुने गरेको थियो। 

८० हजारले गुमाए रोजगारी 

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लगाएको निषेधाज्ञाका कारण पार्टी प्यालेस तथा क्याटरिङमा कार्यरत ८० हजार श्रमिकले रोजगारी गुमाएका छन्।

निषेधाज्ञाका कारण व्यवसाय बन्द हुन थालेसँगै यी कर्मचारी वेरोजगार बनेका हुन्। जसमा १५ प्रतिशत स्थायी कर्मचारी पनि छन् भने ८५ प्रतिशत ज्यालादारी कर्मचारी रहेको प्रवक्ता पाण्डेले जानकारी दिए।

उनका अनुसार प्रत्यक्ष अप्रत्यक्ष गरी करिब २ लाख मानिस पार्टी प्यालेस तथा क्याटरिङ क्षेत्रमा निर्भर रहेका छन्। 

स्वास्थ्य मापदण्ड पूरा गरी खोल्न पाउनुपर्ने माग

काठमाडौ उपत्यकामा एक सात निषेधाज्ञा थप गरिएको छ।  मंगलबार  काठमाडौ,भक्तपुर,ललितपुर जिल्ला प्रशासन कार्यालयले भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याएका हुन्। 

निषेधाज्ञा केही खुकुलो बनाइए पनि पार्टी प्यालेसमाथि प्रतिबन्ध कायमै छ। लामो समय  बन्द रहेको  व्यवसाय सञ्चालनका लागि सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर खोल्न दिनुपर्ने व्यवसायीहरुको माग छ।

महासंघले क्षमताको ३५ प्रतिशत मान्छे बस्न दिने गरी पाटी प्यालेस सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ। 

‘सामाजिक दूरी पालना गराउने, सरसफाई गर्ने, भीड हुन नदिने लगायतका मापदण्ड बनाएर व्यवसाय खुला गरिनुपर्छ,’ प्रवक्ता पाण्डे भन्छन्, ‘त्यसो हुन सकेन भने लगानी डुब्छ ।’ पटक-पटक सरकार समक्ष आग्रह गर्दा पनि सुनुवाई नभएको प्रवक्ता पाण्डेले बताए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.