दैनिक ४३ करोड लिटर पानीको माग तर १४ करोड लिटर मात्रै आपूर्ति, हिउँदमा नआए फेरि हाहाकार

|

काठमाडौं : नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलनमा भने, ‘हामीले जनवरी १ सम्ममा मेलम्ची खानेपानी काठमाडौंमा ल्याउने भनेका थियौं, यो सरकारले वैशाखमा पानी ल्याउने भनेको छ तर फर्केर हेरेको पनि छैन, गफले पानी आउनेवाला छैन, आउँदैन पनि।’

ओलीले भनेजस्तै बाढीले मेलम्ची खानेपानी आयोजनामा भत्काएको २ महिना बितिसक्दा पनि मर्मत गर्ने कुनै सुरसार छैन। गत असारमा मेलम्ची र इन्द्रावतीमा आएको ठूलो बाढीले आयोजनामा ठूलो क्षति पुगेको थियो।

यसपछि साउन १६ र १७ गते फेरि आएको बाढीले पुल नै बगाएपछि अहिले आयोजनाको सुरुङ जाने सडक अवरुद्ध भएको छ। यसबाट वैशाखसम्ममा पानी आउनेमा शंका छ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार असारको बाढीले खानेपानीको हेडबक्समा धेरै क्षति पुगेको छ। सुरुङको करिब २ सय मिटर डाइभर्सन माटोले पुरिएको छ। बाढीले १ अर्ब रूपैयाँभन्दा बढीको आयोजनामा ठूलो क्षति पुर्‍याएकाे उनको भनाइ छ। 

आयोजनाले अस्थायी बाटो खोल्न हेलम्बु गाउँपालिकाले सुरु गरिसकेको बताए पनि आयोजना क्षेत्रमा पर्ने हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अहिले बाटोको कुनै काम नभएको जानकारी दिए। 

उनले भने, ‘अहिले केही काम भएको छैन, अस्थायी बाटो बनाउने कुरा छ। बाटो बनेमा असोज, कात्तिकमा अस्थायी रूपले खानेपानी काठमाडौंमा पठाउन सकिन्छ।’ तर उनले स्थानीय तवरबाट कहिलेदेखि पानी काठमाडौंमा आउला एकिन केही भन्न नसक्ने बताए। 

माग दैनिक ४३ करोड लिटर, आपूर्ति १४ करोड मात्र

आयोजना सुरु भएको दुई दशकपछि काठमाडौं उपत्यकामा मेलम्ची आएको थियो। मेलम्चीबाट ल्याइएको पानी चैत १५ देखि उपत्यकामा वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर नै पानी वितरण गरिँदै आएको थियो। 

तर सुरुङ परीक्षण गर्न भन्दै आयोजनाले असार १ देखि उपत्यकामा पानी पठाएको थिएन। सोही दिन बाढीले पनि आयोजनामा क्षति पुर्‍यायाे। मेलम्चीको पानी नआएपछि उपत्यकामा पहिलाजस्तै पानीको हाहाकार मच्चिएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाशकुमार राईका अनुसार यतिखेर उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर छ। 
तर बोरिङ, कुवालगायत स्रोतबाट दैनिक १४ करोड लिटर पानी मात्र आपूर्ति हुने गरेको छ।

उनले हिउँदसम्ममा पनि मेलम्चीको पानी काठमाडौं नआए धेरै समस्या हुने बताए। उनले भने, ‘अहिले वर्षातको सिजन भएकाले ग्राहकलाई धेरै मात्रामा पानी दिन सकिएको छ, तर हिउँदमा १४ करोड लिटरबाट घटेर १० करोड लिटर मात्र पानी वितरण हुन्छ।’

१२ दिन बिराएर पानी वितरण

मेलम्चीको पानी नआएपछि उपत्यकामा १२ दिन बिराएर पानी वितरण गर्ने गरिएको छ। केयुकेएलका अनुसार ललितपुर​को सैंबूस्थित ट्यांकीको पानी १२ दिन बिराएर ललितपुर, सानेपा, मंगलबजार, कुपन्डोल क्षेत्रमा मात्र वितरण गरिन्छ।

बालाजुबाट ९ दिन बिराएर एराहिटी, वनस्थली, चःमति, स्वयम्भू, बाफल,ताहाचल, नयाँबजार, सोह्रखुट्टे, पकनाजोल क्षेत्रमा पानी वितरण गरिन्छ। महांकाल चौरको ट्यांकीबाट ७ दिन बिराएर पुरानो बानेश्वर, सिनामंगल, मैतीदेवी, सिफल, कालोपुल, चाबहिल, विशालबजार, मित्रपार्क, हाँडीगाउँ, मालीगाउँ क्षेत्रमा वितरण हुँदै आएको छ।

मीनभवनबाट ७ दिन बिराएर नयाँ बानेश्वर, बुद्धनगर, शंखमूल, थापागाउँ, कुरियागाउँलगायत क्षेत्रमा वितरण हुने गरेको छ। त्यस्तै, अनामनगरको ट्यांकीबाट ७ दिन बिराएर अनामनगर, न्युरोड, मरु, लगन टोललगायत क्षेत्रमा पानी वितरण गरिन्छ।

बाँसबारीबाट ५ दिन बिराएर महाराजगन्ज, बसुन्धरा, बालुवाटार,पानीपोखरीलगायत क्षेत्रमा वितरण गरिएको छ। पानीपोखरीस्थित ट्यांकीबाट पनि ५ दिन बिराएर रानीबारी, लाजिम्पाट, नर्सरी चोक,गैरीधारालगायत क्षेत्रमा वितरण गरिन्छ।

त्यस्तै, कीर्तिपुरको ट्यांकीबाट २ दिन बिराएर भाजाङगाल,पाँगा,चिलन्चो,उमामहेश्वर,देवढोका, ट्याङलाफाँट क्षेत्रमा पानी वितरण गरिएको छ। ठिमी बोडेबाट ७ दिन बिराएर ठिमी र भक्तपुरमा पानी वितरण गरिएको छ।

भक्तपुरको ट्यांकीबाट ४ दिन बिराएर भक्तपुर, सल्लाघारी, सूर्यविनायक क्षेत्रमा पानी वितरण गरिएको केयुकेएलले जनाएको छ। 

मेलम्चीको पानी कहिले आउँछ ? यसो भन्छ आयोजना

आयोजनाका प्रवक्ता पन्तले अस्थायी बाटो गाउँपालिकाले खोल्न सुरु गरिसकेको र कम क्षति भएको रहेछ भने अस्थायी तवरबाट वैशाखसम्ममा मेलम्चीको पानी उपत्यकामा ल्याइने बताए। 

‘अस्थायी रूपमा बाटो खोल्ने काम सुरु भएको छ, बाटो बनिसकेपछि उपकरणसहित आयोजनामा जान्छौं। हेडबक्स र सुरुङमा क्षति कम रहेछ भने अस्थायी रूपले पानीको हेडबक्स बनाएर आगामी वैशाखसम्ममा पानी ल्याउने योजना छ,’ उनले भने।

उनले वर्षातको याम भएकाले समयमै काम गर्न नसकिएको बताए। ‘बाढीले क्षति पुर्‍याएको धेरै समय बिते पनि अझै पानी परिरहेको छ। त्यहाँ जान सकिन्न, त्यसैले मर्मतमा ढिलाइ भयो,’ प्रवक्ता पन्तले भने। आयोजनामा बाढीले धेरै क्षति पुर्‍याएकाे भए त्यहाँको पानी उपत्यकामा अझै पछि धकेलिने उनको भनाइ छ।

(यो पनि)

 


 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.