साढे ६ लाख जरिवाना र सोही बराबर क्षतिपूर्ति तिर्नुपर्ने फैसला

|

जनकपुरधाम : धनुषाकी आरती साहलाई एसिड छ्याप्ने उनका पति सञ्जीव साहलाई जिल्ला अदालत धनुषाले कैद सजायसहित जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ।

सञ्जीवलाई १० वर्ष ६ महिना कैद, ६ लाख ५० हजार रुपैयाँ जरिवाना र ६ लाख ५० हजार क्षतिपूर्ति तिराउने फैसला सुनाएको जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए।

गत साउन २५ गते जिल्ला अदालत धनुषाको इजलास नम्बर–३ का न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले आरतीका पति सञ्जीवलाई दोषी ठहर गरेको थियो। सोही घटनामा संलग्न रहेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिइएको थियो।

गत कात्तिक २९ गते दिपावली कै दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले २६ वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए।

श्रीमान‍्ले एसिड प्रहारबाट गम्भीर घाइते भएपछि आरतीको जनकपुरमा उपचार हुन नसकि काठमाडौंमा उपचार गरिएको थियो। आरतीको शरीरको २५ प्रतिशत भाग जलेको थियो।

एसिडले आरतीको अनुहारको दायाँ भाग, आँखा, छाती र हात जलेको थियो। छोरी रियाको भने जनकपुरको जानकी हेल्थ केयरमा उपचारपछि डिस्चार्ज गरिएको थियो। आरतीमाथि एसिड प्रहार गरेकै दिन सञ्जीव पक्राउ परेका थिए भने सञ्जीवको बयानको आधारमा एसिड बेच्ने व्यापारीलाई एक हप्तापछि पक्राउ गरिएको थियो।

घटना पश्चात सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जीव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो।

दुबै जनाबिरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ वटा कसुरको सजायका लागि मागदावी गरिएको थियो। अंगभंगमा ५ वर्ष, कुरुप बनाएकोमा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना सजाय माग गरिएको थियो। यो मुद्दा यसअघि ६ पटक पेशी चढे पनि विभिन्न कारणले स्थगित भएको थियो।

४ वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी सञ्जीवसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो।

एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती लगायतका शरीरको आधि अंग जलेको छ। एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको छ।

घरायसी विवादका कारण माइतमा बस्दै आएकी आरतीमाथि सञ्जीवले एसिड प्रहार गरेको आरतीकी आमा सुनिता देवीले बताइन्।

तरकारी बेचेर गुजारा चलाउँदै आएकी आरती र सञ्जीवबीच पाँच वर्षअघि विवाह भएको थियो। बिहेको दुई वर्षपछि उनीहरू छुट्टाछुट्टै डेरा लिएर बस्दै आएका थिए।

सम्पत्ति लेनदेनका विषयमा दुईजनाबीच झगडा हुँदै आएको थियो। धनुषा जिल्ला अदालतमा उनीहरूबीचको सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा छ। सञ्जीव सुनचाँदी बनाउने कालीगढ हुन् भने श्रीमानसँग छुट्टिएर बस्दै आएकी आरती बुवासँगै मिलेर बजारमा तरकारी व्यापार गर्दै आएकी थिइन्।

केही वर्षअघि पनि सञ्जीवले मट्टीतेल खन्याएर आगो लगाई आरतीलाई मार्ने प्रयास गरेका थिए।

सञ्जीवलाई जिल्ला अदालतले एसिड प्रहार गर्दै ज्यान मार्ने अभिप्राय लिएको भन्दै दोषी ठहर गरेको हो। सम्पत्तिको कुरा नमिलाएको भन्दै उनले अलग बसेकी श्रीमतीलाई डेरामा पुगेर एसिड प्रहार गर्नु अक्षम्य अपराध भएको जिल्ला अदालतले ठहर गरेको छ। 

आरतीलाई प्रदेश सरकारको ५ लाख सहयोग

यसैबीच,एसिड पीडित आरती साहलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतले एसिड पीडित साहलाई बिहीबार सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

यस घटनाका पीडित आरतीलाई प्रदेश सरकारले केहि सहयोग नगरेको भन्दै आलोचना हुँदै आएको थियो। घटनाको करिब ९ महिनापछि आरतीलाई चेक हस्तान्तरण गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.