|

काठमाडौं : नेपालमा पहिलोपटक कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल हुँदै छ। चिनियाँ कम्पनी वालभ्याक्सको एमआरएनए खोपको क्लिनिकल ट्रायल हुन लागेको हो। यसअघि अन्य खोपहरूको ट्रायल भए पनि कोरोनाविरुद्धको खोपको ट्रायल भने पहिलो पटक हो। नेपालमै हुन लागेको खोपको ट्रायलबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीसँग गरिएको कुराकानी :-

नेपालमा पहिलो पटक कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल हुँदै छ। ट्रायल कसरी हुँदै छ?

हो, हाम्रोमा पहिलो पटक कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल हुँदै छ। यो हाम्रा लागि अवसर पनि हो। हाल चीनमा उत्पादन भएको वालभ्याक्स कम्पनीको एमआरएनए खोपको ट्रायल यहाँ हुन लागेको हो। यो खोपको ट्रायल विश्वभरि विभिन्न देशमा २८ हजार मानिसमा गरिँदै छ । हाम्रोमा भने १८ वर्ष माथिका ३ हजार जनामा गरिँदै छ।

कुनै पनि खोपको क्लिनिकल ट्रायल विदेशी कम्पनीले मात्र एक्लै गर्न पाउँदैन। त्यसमा नेपाली साझेदार हुनैपर्छ। त्यसैले यो खोपको ट्रायलका लागि पनि नेपाली औषधि कम्पनी देउराली जनता फर्मास्युटिकल्सले चाहना देखाएर पार्टनरसिप गरेको छ। यसमा क्लिनिकल ट्रायल वालभ्याक्स कम्पनीले गर्छ यदि यो ट्रायल सफल भए नेपालमा खोप उत्पादन देउराली जनताले गर्नेछ। त्यहीअनुसार सम्झौता भएको छ।

हामीले त अनुसन्धानका लागि चाहिने शर्त पूरा भए नभएको हेर्ने, अनुगमन गर्ने हो। ट्रायल गर्ने काम उनीहरू कै हो। सुरक्षाका उपाय अपनाएर भ्याक्सिनको ट्रायल गर्नुपर्छ। अर्को कुरा तेस्रो चरणको ट्रायलमा संलग्न गराउन कुनै पनि व्यक्तिलाई दबाब वा प्रलोभन दिन पाइँदैन। यदि यस्तो गरेको पाइए पूरै प्रक्रिया नै रद्द हुन्छ।

कुन कुन अस्पतालमा हुन्छ खोपको ट्रायल?

हाम्रोमा यो खोप धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ट्रायल हुँदै छ। यसको नेतृत्व सो अस्पतालका चिकित्सक डा सन्जीव शर्माले गर्ने छन्। एउटा समूह १८ वर्ष माथिका र अर्को समूह ६० वर्ष माथिका गरी दुई समूहमा यो ट्रायल हुने छ।

वालभ्याक्सले परिषदबाट निर्धारित सबै मापदण्ड पालना पूरा भएपछि हामीले अप्रुभल दिएका हौं। क्याबिनेटले पनि स्वीकृति दिइसकेकाले अब उसलाई ट्रायलका लागि बाटो खुलेको छ।

 कति समय लाग्छ खोपको ट्रायल सकिन ?

यो खोपको ३ देखि ६ महिनाभित्रै ट्रायल हुनेछ, लामो समय राखिएको छैन। यो चरणमा खोपको प्रभावकारिताबारे अध्ययन हुन्छ। सफल भए खोप उत्पादनका लागि देउराली जनताले काम अघि बढाउँछ, ट्रायल फेल भए काम बन्द हुन्छ।

खोपको ट्रायलमा सहभागी व्यक्तिमा कुनै स्वास्थ्य समस्या देखिए त्यसको जिम्मेवार को हुन्छ ?

यो ट्रायलमा ३ हजार व्यक्ति सहभागी हुने छन्। सहभागीहरूलाई तपाईंहरु खोपको ट्रायलमा सहभागी हुँदै हुनुहुन्छ भनेर जानकारी गराइन्छ।

यसरी जानकारी गराउँदा कसैलाई मन नलागे सहभागी नहुन सक्नु हुन्छ। तर सहभागी हुने चाहना देखाउनेलाई पहिले नै फारम भरेर सबै कुराको जानकारी गराइन्छ। उहाँहरूलाई केही भएमा उहाँहरूको वीमादेखि उपचारसम्म खर्च बेहोर्ने जिम्मा कम्पनीकै हुन्छ।

१८ देखि ६० वर्ष उमेरको एउटा समूह र ६० वर्ष माथिको अर्को गरी दुई समूहमा खोपको असर हेरिने छ। यसले गर्दा उमेर अनुसारको पनि रिजल्ट हेर्न सकिने छ। क्लिनिकल ट्रायलको सम्पूर्ण जोखिमको पाटो भने वालभ्याक्सको नै हुने छ।

यसबाट नेपाललाई के फाइदा हुन्छ त ?

अहिले हाम्रोमा क्लिनिकल ट्रायल हुन लागेको कोरोनाविरुद्धको खोपको तेस्रो चरण हो। तेस्रो चरणको यो ट्रायल सफल भएमा नेपालमै यो खोप उत्पादन हुन्छ। हामीले ट्रायल सफल भए यहीँ खोप उत्पादन गर्ने शर्तसहित क्याबिनेटले ट्रायल गर्न अनुमति दिएको हो। ट्रायल सफल भए वालभ्याक्सले नेपाललाई ५ लाख डोज खोप नि: शुल्क दिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.